काठमाडौं- स्याङ्जा क्षेत्र नम्बर २ मा मुलुकका दुई ठूला पार्टीका पदाधिकारी चुनावी मैदानमा छन्। कांग्रेसले उपसभापति धनराज गुरुङलाई अघि सार्दा एमालेले सचिव पद्मा अर्याललाई दोस्रो पटक मैदानमा पठाएको छ।
फरक पार्टीका दुई पदाधिकारीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान छ। धनराज पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। तर उनीसँग दुई पटक संविधानसभा सदस्य भएर काम गरेको अनुभव भने छ। उनी ०६४ र ०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए। पहिलो पटक जनताबाट प्रत्यक्ष निर्वाचित भएर संसद् भवन छिर्ने योजनामा रहेका गुरुङलाई यसअघि नै प्रत्यक्ष निर्वाचित भएर मन्त्री भइसकेकी अर्यालले टक्कर दिँदैछिन्।
त्यसो त अर्यालले कांग्रेसका हेभिवेटसँग प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो। ०७४ सालको निर्वाचनमा उनले तत्कालिन उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। तत्कालिन बाम गठबन्धनको समेत समर्थन पाएर अर्याल ३५ हजार १४२ मतका साथ विजयी हुँदा श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए। पद्मा दोस्रो जितको खोजीमा छिन् भने गुरुङ पहिलै प्रयासमा सफलताको स्वाद चाख्ने दाउमा छन्।
अघिल्लो निर्वाचनमा जित निकालेकी पद्माका लागि यसपटक प्रतिस्पर्धी र अवस्था दुवै फरक छ। गोपालमानलाई पारजित गरेकी उनले यसपटक धनराजसँग प्रतिस्पर्धा गर्दैछिन्। त्यसो त अघिल्लो निर्वाचनमा उनलाई नेकपा माओवादी केन्द्रको समेत साथ थियो। यसपटक माओवादीको साथ पद्मालाई रहने छैन। पाँच दलीय सत्तारुढ गठबन्धनको साथ धनराजले पाउनेछन्, जुन दोस्रो जित निकाल्ने पद्माको अभिलाषामा बाधक बन्न सक्नेछ।
यो निर्वाचन क्षेत्रका मुख्य दल कांग्रेस र एमाले नै हुन्। गत स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको परिणामले त्यसैको पुष्टि गर्छ। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ३६ हजार ८०६ मत पाउँदा एमालेले ३४ हजार ८०९ मत प्राप्त गरेको थियो। माओवादीले १ हजार २४३ मत प्राप्त गर्दा राप्रपाले ५११ र नेकपा एसले २३३ मत पाएको थियो। यो गणितलाई आधार मान्ने हो भने स्याङ्जा २ मा गठबन्धनको मत ३८ हजार २८२ हो।
कसका एजेण्डा के ?
उपसभापति गुरुङले भ्रष्टाचारविरुद्धको एजेन्डालाई जनतामाझ लैजाने भएका छन्। भ्रष्टाचारविरुद्ध निरन्तर बोल्दै र लेख्दै आएका गुरुङले चुनावमा पनि यही एजेण्डालाई मुखरित गरिरहेका छन्। उनले भ्रष्टाचार अन्त्य नभएसम्म दिगो विकास सम्भव नभएको दाबी गर्दै आएका छन्। 'म निर्वाचित भएपछि मेरो पहिलो काम नै भ्रष्टाचार अन्त्यको पहलकदमी लिनु हो,' उनले भने।
उनले विगतमा भोट हालेर पठाएको जनप्रतिनिधिको काम जनताले समीक्षा गर्नुपर्ने बेला आएको बताए। समग्र स्याङ्जाको विकास गर्न एकपटक कांग्रेसलाई मत दिनुपर्ने उनको तर्क छ। 'जनताको रगत र पसिना चुसेर हिँड्ने जनप्रतिनिधिलाई बहिस्कार गर्नुपर्ने बेला आएको छ। विगतमा भोट हालेर पठाएका जनप्रतिनिधिको समीक्षा जनताले गर्नुपर्छ,' उनले भने, 'मुलुकमा भष्ट्राचार रोक्न सके विदेश पलायनदेखि झुपडीमा बसेका जनताले सामान्य औषधि सिटामोल खानलाई समस्या हुँदैन। म जनताको घरदैलोमा पहिलो पटक भोट माग्न जाँदैछु। समग्र स्याङ्जाको विकास गर्न एकपटक नेपाली कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गर्दैछु।'
अर्यालले भने वर्तमान सरकारको विरोध र एमालेको राष्ट्रवादी लाइनलाई मुख्य एजेन्डा बनाएकी छन्। लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा प्रकाशन एमाले सरकारका पालामा भएकाले जमिन फिर्ता ल्याउन एमालेको जित अपरिहार्य रहेको जिकिर गरिरहेकी छन्। उनी सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहँदा चुच्चे नक्सा सार्वजनिक भएको थियो। तालुकदार मन्त्रालयको मन्त्रीको हैसियतमा उनले त्यसको जस लिनु स्वाभाविक पनि हो।
'यो गठबनधन्ले के गर्यो? यो गठबन्धनले केही गरेको छ? न हिजो गर्यो कांग्रेसले। १४ पटक यो मुलुकको नेतृत्व कांग्रेले गर्यो। कांग्रेसले राष्ट्रका निम्ति जनताले नबिर्सने एउटा काम के गरेको छ? खोज्यो भने भेटिँदैन। हामीले ल्याएको चुच्चे नक्सा बुच्चे बनाउने अभियानमा छ,' उनले भनिन्, 'चुच्चे नक्सा अनुसारको जमिन फिर्ता ल्याउनका लागि एमाले चाहिन्छ। समृद्धि र विकासको सपना साकार पार्न र जनताको कष्टकर जीवनबाट मुक्ति दिलाउन एमाले आवश्यक छ।'
आफूले स्याङ्जालीले गौरव गर्न सक्ने काम गरेकाले यसपटक पनि आफ्नो विजय सुनिश्चित रहेको दाबी उनको छ। 'स्याङ्जालीले गौरव गर्ने संरचना बनाएको छु। सयौं राजमार्ग र बाटाघाटा बनेका छन्। विकास निर्माणका काम भएका छन्। समृद्ध स्याङ्जा बनाउन हरदम प्रयासरत छु। मेरो जितका आधार यिनै हुन्,' उनले भनिन्।
हारजितको निर्धारण गर्ने फ्याक्टर
दुवै उम्मेदवारको हार र जितको निर्धारण केही फ्याक्टरले गर्न सक्ने स्याङ्जा-२ को राजनीतिलाई नजिकबाट नियालिरहेका जानकारहरु बताउँछन्। स्याङ्जा-२ मै घर हुनु र महिलासमेत भएकाले सेन्टिमेन्टको भोट पाउने आशा पद्माले राखेकी छन्। तर उनले सत्ता गठबन्धनको चुनौती चिर्न सक्नु पर्नेछ। त्यसका लागि गठबन्धनको मत आफ्नो पक्षमा पार्नुपर्ने चुनौती उनका सामु छ। मन्त्री हुँदा क्षेत्रको विकासमा केही काम गरेकाले त्यसको जस लिने र त्यसबाट केही मत थप्ने रणनीतिमा पद्मा देखिन्छिन्।
यद्यपि उनको पाँच वर्षे कार्यकाल विवाद रहित बने रहन सकेन। ती विवादको असर मत परिणाममा देखिन सक्नेछ। उनीमाथि मन्त्री हुँदा आफू निकट व्यक्तिले सञ्चालन गरेको सहकारीलाई पैसा बाँडेको आरोप छ। र यसैमा सहकारी सञ्चालकहरुले अन्य व्यक्तिसँग पैसा उठाएको आरोप पनि जोडिने गरेको छ। यो आरोप चिर्न नसके पद्माले चुनावमा मूल्य चुकाउनु पर्ने विश्लेषण भइरहेका छन्। उनले एमालेका पुराना नेताहरुलाई पाखा लगाएको आरोप पनि लाग्ने गरेको छ। एमालेका पुराना नेता नारायण मरासिनीलाई पाखा लगाएर नेकपा माओवादी केन्द्रबाट आएका पारस गैरेलाई एमाले स्याङ्जाको अध्यक्ष बनाएको र गल्याङ नगरपालिकाको मेयरको टिकट नदिएर भूपराज अधिकारी माथि अन्याय गरेको आरोप पार्टीभित्रै लाग्दै आएको छ। पार्टीभित्रको आरोप चिर्नुपर्ने चुनौती पनि उनीसामु छ।
'अनटेस्टेड' भएको सेन्टिमेन्ट क्यास गर्ने रणनीतिमा धनराज छन्। सोही कारण उनले विगतमा चुनेर पठाएका जनप्रतिनिधिको समीक्षा गर्न मतदातालाई आग्रह गरिरहेका छन्। पार्टीभित्र र बाहिर उनको सेलिब्रेटी छवि छ। आफ्नो छविको लाभ उठाउने प्रयास पनि उनले गर्नेछन्। भ्रष्टाचारविरुद्ध लगातार अभिव्यक्ति दिनु र निष्ठाको राजनीतिको वकालत गरिरहनु पनि उनको सवल पक्ष हो। तर निर्वाचनका बेला निष्ठाको राजनीतिको वकालत गरिरहँदा उनले 'धनवाद' र 'डनवाद'को विरोध गर्छन्।
त्यसकारण कार्यकर्ता परिचालनमा उनले कस्तो रणनीति लिनेछन्, त्यसले पनि धेरै हदसम्म उनको जित/हारमा भूमिका खेल्ने देखिन्छ। त्यसो त पार्टीभित्रैबाट हुन सक्ने सम्भावित अन्तरघातको जोखिमको चुनौति पनि धनराजमा देखिन्छ। 'नयाँ र सेलिब्रेटी उम्मेदवारसँग भ्रष्टाचार विरुद्धको एजेन्डा पनि उठाएकाले उहाँलाई सहज देखिन्छ। तर कार्यकर्ता परिचालनमा कस्तो रणनीति लिनुहुन्छ। त्यसले पनि अर्थ राख्छ,' स्याङ्जा कांग्रेसका एक नेता भन्छन्, 'पार्टीभित्रबाट हुन सक्ने अन्तरघातको डर त हुने नै भयो। तर अहिलेसम्म अन्तरघातका संकेत देखा परेका छैनन्।'
धनराजको राजनीतिक विगत
२०३६ सालमा पहिलो पटक विद्यार्थी आन्दोलनमा जोडिएका धनराज २०३८ सालमा स्याङ्जाको धवथुम माविको नेविसंघ स्कुल इकाइ सभापति बनेका थिए। २०४० सालमा नेविसंघ स्याङ्जाको जिल्ला सचिव बनेका उनी २०४३ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू उपसभापतिको उम्मेदवार बनेका थिए। २०४४ सालमा स्ववियू सभापतिका उम्मेदवार बनेका उनी झलक सुवेदीसँग पराजित भएका थिए। उनी २०४८ सालदेखि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिरहे। २०४८ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका बनेका उनी २०५३ सालमा अध्यक्ष बने। २०५४ सालमा तरुण दलको महामन्त्री बनेका धनराज महामन्त्री रहँदै २०६४ सालमा संविधानसभाको सदस्य बनेका थिए। २०७० मा संविधानसभा सदस्यमा दोहोरिएका धनराज सार्वजनिक लेखा समितिमा सदस्य थिए। त्यो बेला उनी भ्रष्टाचारविरुद्ध निर्मम सुनिन्थे।
कांग्रेसको १२औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका उनी १३औं महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। तर ०७४ सालको निर्वाचनमा भने उनले उम्मेदवार बन्ने अवसर प्राप्त गरेनन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनी डा. शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बने। विजयकुमार गच्छदारलाई २ मतले हराउँदै धनराज कांग्रेसको उपसभापतिमा निर्वाचित भए।
पद्माको राजनीतिक विगत
पद्मा एमाले राजनीतिमा उदाएकी महिला नेतृ हुन्। उनी गत वर्षको मंसिरमा भएको एमालेको १०औं महाधिवेशनबाट सचिव बनेकी थिइन्। पद्मा एमालेको केन्द्रीय सदस्यबाट एकै पटक सचिव हुने भाग्यमानी नेतृ हुन्।
उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी थिइन्। त्यो बेला तालुकदार मन्त्रालयको मन्त्रीको हैसियतमा नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको जस उनले पाउँदै आएकी छिन्। एमालेमा उनी सचिवसँगै गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारीमा पनि छन्। कतिपयले उनलाई एमालेको भावी अध्यक्षका रुपमा समेत हेर्ने गरेका छन्।