सोमबार, साउन ११, २०८३

पुर्ख्यौली पेशामा छैन खासै चमक

विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

विराटनगर- विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आएका छन्। 

उनले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ। तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ। कुनै बेला भान्साको शान भनेर चिनिने लोहोरो सिलौटो र जाँतोमा मसला र खाद्य सामग्री पिस्ने चलन विस्तारै छुट्दै गएको छ। 

परम्परागत लोहोरो सिलौटो र जाँतोको स्थान अब मिक्स्चर ग्राइन्डरले ओगटेको छ। श्रमको प्रयोग नगरी विद्युत्बाट सजिलै पिँधिने भएकोले सर्वसाधारण मिक्स्चर ग्राइन्डरमा आकर्षित भएका छन्। तर सजिलो र सुविधाका लागि सर्वसाधारणले आधुनिक उपकरणको प्रयोग गरिदिँदा परम्परागत र पुख्र्यौली पेशाको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ। 

दस वर्ष अघिसम्म जाँतोवालालाई लोहोरो सिलौटो र जाँतोको माग धान्न भ्याइनभ्याइ हुने गरेको थियो। तर मिक्स्चर ग्राइन्डर र यस्तै अन्य आधुनिक उपकरणको बजारमा प्रवेशपछि उनी विस्तारै फुर्सदिलो बन्दै गए। 

कुनै बेला दिनको १० वटासम्म लोहोरो सिलौटो र चार वटा जाँतो बनाउने जाँतोवालाको उत्पादन तीन लोहोरो सिलौटो र एक जाँतोमा खुम्चिएको छ। तर थोरै सङ्ख्यामा बनाइएका लोहोरो र जाँतो पनि दुई–तीन दिनसम्म बिक्री हुँदैन। गधाको पिठिउँमा लादेर घर–घर डुलाउँदा समेत परम्परागत सामग्री बिक्री हुन गार्‍हो छ। 

आफूले उत्पादन गरेको लोहोरो सिलौटो र जाँतो बिक्री हुन छाडेपछि जाँतोवाला र वहाँको परिवारको जीवन गुजारा कठिन बन्दै गएको छ। उनी भन्छन्, 'अब लोहोरो सिलौटो र जाँतो बनाउने पुर्ख्यौली पेशामा खासै चमक छैन।’ बिजुलीबाट चल्ने आधुनिक उपकरणले परम्परागत एवं पुख्र्यौली पेशालाई ओझेलमा पारेको जाँतोवालाको ठम्याइ छ। कामले फुर्सद नभएको बेला उहाँलाई सघाउने जाँतोवालाकी श्रीमती हाल नातिनातिना खेलाउँदै व्यस्त छन्। 

जाँतोवालाका दुई छोरा सोहित र सोहेलले पनि लोहोरो जाँतो बनाउने पुर्ख्यौली पेशा आफूहरूले नगर्ने बताए। सोहित जागिरको खोजीमा छन् भने सोहेलको मोह विदेश जानेमा छ। 

यस्तै विराटनगर–८ हाटखोला पुल छेउमा लोहोरो सिलौटो र जाँतोको पसल थाप्नुभएकी तुलसी जाँतोवालालाई के कमाउने के खाने भन्ने चिन्ता छ। अर्को काम नजानेकाले बाध्य भएर पुर्ख्यौली पेशामा नै झुण्डिनुपरेको गुनासो तुलसीले गरे। तुलसीका श्रीमान् अजय जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाए पनि बिक्रीमा भने कठिनाइ उत्पन्न हुँदै गएको बताए। उनले यो पेशा समय कटाउने मेलो मात्र भएको बताए। 

प्रकाशित: Oct 19, 2022| 22:00 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।