काठमाडौं- सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर इमाडोलका मणि कुमार थापाले ऋण मिलाइदिन्छु भनी ललितपुरकै कुसुन्ती बस्ने नरेन्द्र कुमार भुललाई ठगी गरेका थिए।
भुलले थापाले ऋण मिलाइदिन्छु भनी ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि प्रहरीले थापालाई गत असोज ३१ गते पक्राउ गरी बुधबार जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।
भुल अछाम चौरपाटी गाउँपालिका–४ का हुन्। थापाले भुललाई बाँसवारीस्थित चण्डोल बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण मिलाइदिन्छु भनेर तीन लाख बाह्र हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
थापाले सो सहकारीको सञ्चालक आफू भएको र सहकारीबाट तीस लाख रुपैयाँ ऋण मिलाइ दिन्छु भनी सहकारी संस्थाको खाता खोल्ले फारम, सदस्य पहिचान फारम, सेयर दरखास्त फारम समेत भर्न लगाई विश्वास दिलाइ उक्त ऋण रकमको १० प्रतिशतको दरले हुन आउँने तीन लाख र सेवा शुल्क बापत १२ हजार गरी तीन लाख बाह्र हजार रकम लिई ठगी गरेको भुलले निवेदनमा उल्लेख गरेका छन्।
अनुसन्धानका क्रममा भुलले उजुरीमा उल्लेख गरेको सहकारी नै दर्ता नभएको पाइएको प्रहरीले जनाएको छ।