सर्लाही- सर्लाही जिल्ला हरिवन नगरपालिका मिलनचोकस्थित सगुन बचत तथा सहकारी संस्थामा लुट्न आएको समूहको गोली प्रहारबाट कर्मचारी घाइते भएका छन्। लुटेराको गोली प्रहारबाट शाखा प्रमुख ३४ वर्षीय साजन कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।
उनकाअनुसार कार्यालय खुलेलगत्तै बिहान साढे १० बजे तीन जना लुटेरा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका थिए। सहकारी लुट्न खोजेपछि प्रतिकार गर्दा एक जना लुटेराले गोली प्रहार गर्दा शाखा प्रमुख कार्की गम्भीर घाइते भएको डीएसपी यादवले बताए। कार्यालयभित्रै ४ राउन्ड गोली प्रहार भएको थियो।
कार्कीको पिठ्युँ, पाखुरा, तिघ्रा र पेटमा गोली लागेको छ। गम्भीर घाइते कार्कीको सर्लाहीमै सामान्य उपचारपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
कार्कीको प्रतिकारका कारण लुटेराले रकम लुट्न भने पाएनन्। गोली प्रहारपछि भागेका उनीहरुको खोजी भइरहेको डीएसपी यादवले बताए।