शनिबार, भदौ २७, २०८३

ठूला पार्टीका उम्मेदवारलाई पराजयको पाठ सिकाउन कस्सिएका 'सीते बा'

काठमाडौं क्षेत्र–५ बाट आधा दर्जनजतिले स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमाले नेता ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलसमेतको निर्वाचन क्षेत्र रहेको यस ठाउँमा पुराना पार्टीलाई सबक सिकाउन चुनावी मैदानमा उत्रिएका छन् स्वतन्त्रहरू।
 |  मंगलबार, कात्तिक १, २०७९

राज सरगम

राज सरगम

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं– असली नाम मधुसूदन पाठक भए पनि ‘सीते बा’का नामले चर्चित छन्, उनी । हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ मा सीते बाको चरित्र गर्दागर्दै स्थापित भएका कलाकार हुन् मधुसूदन। 

‘ए त्यसो पो, ठीकै छ’, भन्दै सिक्नेचर हाँसो दिने सीते बालाई आममानिसले मधुसूदन पाठक भनेर चिन्न थालेको ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनले हो। उनले काठमाडौं क्षेत्र–५ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराइसकेका छन्। 

उमेरको साढे ३ दशक हिँडेका सीते बा बिन्दास चरित्रले दर्शकको मन जितेजस्तै राजनीतिबाट पनि जनताको मन जित्ने कोसिस गर्न खोजेको सुनाउँछन्। 

सकारात्मक पात्रलाई भन्दा नकारात्मक पात्रलाई दर्शकले छिटो चिन्छन् तर कलाकारितामा सकारात्मक पात्रले दर्शकको माया पाउँछन्। उनका अनुसार राजनीतिमा नकारात्मक पात्र हाबी हुन्छन्। समाज रुपान्तरणका लागिभन्दा आफ्नै भलो सोचेर राजनीति गर्नेहरू प्रशस्तै छन्। तर सीते बालाई राजनीतिमा पनि कलाकारिताबाट सकारात्मक पात्रको भूमिका निर्वाह गर्न मन छ। समाजप्रति वफादार भएर देश बनाउने सोच छ। 

‘पोलिसीलाई सही कार्यान्वयन नगरेकै कारण परिवर्तित राजनीति खोजेको हुँ, त्यो आफैंबाट सुरु गर्दै छु’, उनले भने। आफ्नै देशको श्रमशक्ति अर्काको मुलुक बनाउन पठाउने, श्रमको उचित मूल्य नहुँदा उत्पादन घट्ने। यस्तो अवस्थमा जाबो चुनाव मात्रै जित्न के राजनीति गर्ने, बरु युवा नेतृत्वलाई देशको जिम्मेवारी दिनुपर्छ भन्छन्, उनी। 


सीते बा कलाकार मात्रै होइनन्, कृषक पनि हुन्। सहकारीकर्मी हुन्। काठमाडौंस्थित ज्येष्ठ सहकारीसँग उनी प्रत्यक्ष जोडिएका छन् भने अन्य सहकारीमा पनि राम्रै सेयर छ। 

काभ्रेबाट बसाइँ सरेर पाँच वर्षअघि टोखाका स्थानीयबासी भए। टोखा नगरपालिका वडा–२ मा उनले कृषि फार्म खोले, जसको नाम राखे– सीते बा अर्गानिक कृषि पेसा फार्म’। कुखुरा, बाख्रा, खरायो, गाईलगायतका घरेलु जनावर पालेका छन्। दर्जन युवालाई रोजगार दिएका छन्। 

पुर्ख्यौली घर काभ्रेमा बाउबाजेले गर्दै आएको कृषि पेसालाई उनले अझै विस्तार गरे। बुबा शिक्षक भए पनि बाल्यकालदेखि नै कृषि पेसामा लागेका सीते बाले स्नातक अध्ययनपछि यसलाई फराकिलो बनाए। ट्राभल कम्पनी, केही स्कुल चलाउँदै आएका छन्।

उनलाई १७ वर्ष अगाडिदेखि राजनीतिमा चासो लागेको थियो रे। विद्यार्थी राजनीति गर्न चाहेर पनि सकेनन् तर राजनीतिले उनलाई छाडेन । राजनीतिक पार्टीप्रति विश्वास नलागेपछि उनले स्वतन्त्र बाटो रोजे। 

काठमाडौं क्षेत्र–५ बाट आधा दर्जनजतिले स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमाले नेता ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेलसमेतको निर्वाचन क्षेत्र रहेको यस ठाउँमा पुराना पार्टीलाई सबक सिकाउन चुनावी मैदानमा उत्रिएका छन् स्वतन्त्रहरू। 

राष्ट्रिय झन्डा ओढेर निर्वाचन कार्यालय पुगेर मनोनय दर्ता गराएका सीते बाले चुनाव चिन्ह लौरो पाएका छन्। लौरो चुनाव चिन्ह पाएरै बालेन साहले काठमाडौं महानगरको मेयर जितेजस्तो सजिलो छैन, संघको चुनाव जित्न। भन्छन्, ‘सजिलो काम कुनै पनि छैन तर सजिलो बनाएर अगाडि बढ्ने हो। सुशासन र समृद्धिको नारा लगाइयो तर प्रभावकारी कार्यन्वयन पद्धतीको विकास हुन सकेन।’ 

कलाकार भएर दर्शकमाझ लोकप्रिय हुनुजस्तो भने होइन, राजनीति। राजनीतिमा घुमौरा बाटाहरू हुन्छन् र एक्लो निर्णय चल्दैन। अभिनयमा निर्देशकको एक्सन–कट चलेजस्तो राजनीतिमा पार्टीगत अथवा संस्थागत चल्छ। 

पार्टी कार्यकर्ता तथा नेताहरू केन्द्रबाट चल्नुपर्ने भएकाले उनले स्वतन्त्र उम्मेदवार रोजे। क्षेत्र–५ बाट आधा दर्जन बढी प्रतिनिधिसभा सदस्य उठेका छन्। त्यही भीडमा उनी उभिएका छन्। उनी अन्य स्वतन्त्र उम्मेदवारसँग सामान्य चिनजान भए पनि नजिक हुन सकेका छैनन्। भन्छन्, ‘सबैसँग सामान्य चिनजान भए पनि क्लोज हुन सकिएको छैन।’ 

आफ्नो वास्तविक उमेरभन्दा ठीक दोब्बर उमेरको बूढ्यौली मान्छेको चरित्र हो, सीते बा। दर्शकले प्रत्यक्ष देखे भने युवा सीते बालाई  चिन्दैनन्। उनको राजनीति यात्रा देखेर कतिलाई पत्यार पनि लाग्दैन किनकि विभिन्न पार्टीमा युवा भनिने नेता पनि ४० पारिका छन्। उनी भन्छन्, ‘जनताका लागि काम गर्ने युवाले हो। अब राजनीतिमा युवा आउन जरुरी छ।’

सीताराम कट्टेल धुर्मुसबाट प्रभावित सीते बा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। सामाजिक अभियन्ता हुन्। उनले गिरानचौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए। 

राजनीतिक सक्रियता बढाउन थालेका सीते बाको राजनीति कता जाला भन्ने कुरा आगामी चुनावको नतिजापछि थाहा होला। स्वास्थ्य, शिक्षा, पार्टीको आडमा गरिने भ्रष्टाचार र राजनीतिमा हुने बार्गेनिङविरुद्ध आफ्नो उम्मेदवारी स्वयंलाई प्रेरणादायी रहेको बताउँछन्, सीते बा। 

आफ्नो कुरा राख्न मात्रै नभएर जनताको कुरा सुनाउन उम्मेदवारी दिएको मान्छन्, उनी। राजनीतिमा जनसमुदायको भावनाअनुरुप काम गर्ने सोचसहित आएको उनको भनाइ छ। भन्छन्, ‘संकल्प लिएर आएको छु। जनाधारको विचार र चाहनाअनुसार काम गर्ने आँट लिएर आएको छु।’

उसो त, उनलाई नेताहरूले आफ्नो पार्टीमा बोलाएकै थिए। उनी गएनन्। भोलिको दिन आवश्यक परे त्यो विषयमा सोच्न सकिने उनी सुनाउँछन्। चुनावमा अहिले कलाकारले सहयोग गरेको बताउँछन्। ‘सबै कलाकार मलाई जिताउन प्रतिबद्ध नभए पनि साथ र सहयोग भने पाइरहेको छु’, उनले भने। 

राजनीतिमा पुराना पार्टीका नेतालाई विस्थापित गर्ने दर अरूलाई कमजोरभन्दा पनि आफूलाई नै बलियो बनाएर राजनीति गर्ने सोच उनको छ। भन्छन्, ‘पार्टी नेताहरूले जनतालाई ‘फ्रस्टेसन’ गरा । निराशाबाहेक केही दिएनन्। म आफैं दिक्क भएँ। अब जनता निराश बनाउनुहुन्न भन्ने लाग्यो।’ सीते बा पुरानाको ठाउँमा नयाँ पुस्ता राजनीतिमा लाग्नुपर्ने बताउँछन्। 

काठमाडौं–५ बाट नयाँ–पुराना 
सीते बाजस्तै काठमाडौं क्षेत्र–५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार मनोनय दर्ता गराएकी छन्, रञ्जु दर्शनाले। सेलरोटी चुनाव चिन्ह पाएकी दर्शनाको क्षेत्र–५ मा राम्रै छ। रञ्जु केही समय पहिले विवेकशील साझा पार्टीबाट अलगिएकी हुन्।

रञ्जु २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा उठेकी थिइन्। त्यतिबेला उनी २३ हजार ४३९ मत ल्याउँदै एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भएकी थिइन्। संघमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए। थापाले ६ हजार ८५३ मत ल्याई पराजित हुनुपरेको थियो। 

अर्का स्वतन्त्र उम्मेदवार हुन्, विजय कँडेल। चप्पल चुनाव चिन्ह पाएका कँडेल पनि युवा व्यवसायी तथा सामाजिक अभियन्ता हुन्। काठमाडौं क्षेत्र–५ मा आधा दर्जनजति स्वतन्त्र उम्मेदवारमध्ये कँडेललाई बलियो ठानिएको छ। तर सीते बा आफूलाई कमजोर ठान्दैनन्। 

काठमाडौं–५ बाट एमाले वरिष्ठ नेता तथा पूर्वमन्त्री ईश्वर पोखरेल र कांग्रेसका युवा नेता प्रदीप पौडेल बलिया उम्मेदवार हुन्। सीते बाका लागि यी दुवै नेता बलियो भए पनि जनताले काम गर्ने प्रतिनिधि छान्ने बेला आएको बताउँछन्। भन्छन्, ‘जनताले जति धेरै उम्मेदवार भयो, त्यति राम्रो प्रतिनिधि छान्न पाउँछन्। धेरै उम्मेदवार उठ्नु भनेको ठूला भनिएका पार्टीका उम्मेदवारलाई डर पनि हो।’

२०७४ मा यो क्षेत्रबाट एमाले उम्मेदवार ईश्वर पोखरेल विजयी भएका थिए। एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दा २३ हजार २९ मत ल्याएका थिए भने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत ल्याएका थिए।  २०६४ र २०७० मा पोखरेल कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग यही क्षेत्रमा पराजित भएका थिए। २०७४ मा आचार्यले चुनावी प्रतिस्पर्धा गरेनन्। त्यसको लाभ पोखरेललाई पुगेको थियो।

अहिले पोखरेल र प्रदीपसँग आधा दर्जन स्वतन्त्र उम्मेदवार भिड्दै छन्। यो घानमा स्वतन्त्र उम्मेदवारको बाक्लै लाइन छ। त्यही लाइनमा छन्, सीते बा। 

२०७४ मा निर्वाचित पोखरेलले गतिलो काम नगरेकै कारण आफू फ्रस्टेसनसम्म पुगेको बताउँछन्, सीते बा। भन्छन्, ‘उहाँले काम गर्न सक्नुभएन । लकडाउनमा उहाँले धेरै जनतालाई रुवाउनुभयो।’

काठमाडौं क्षेत्र–५ मा ७५ हजार बढी मतदाता रहेको र अत्यधिक बहुमत ल्याएर विजय हुने दाबी गर्छन् उनी। भन्छन्, ‘जितहार आफ्नो ठाउँमा छ, तर अब पुराना नेतालाई पाठ र युवालाई प्रेरणा मिलोस् भन्ने सोचले स्वतन्त्र उम्मेदवारी दिएको हुँ।’

प्रकाशित: Oct 18, 2022| 14:19 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...