काठमाडौं– आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटका लागि देशभरबाट २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ। यीमध्ये महिला उम्मेदवारको संख्या २२५ मात्रै छ। कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ प्रतिशत मात्र छ। थोरै संख्यामा चुनावी मैदानमा रहेका महिला प्रतिस्पर्धीले विभिन्न क्षेत्रमा हेभिवेट पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्।
इलाम क्षेत्र–२ मा कुल १४ जनाको उम्मेदवारी परेको छ। सो क्षेत्रबाट एमाले नेता सुवास नेम्बाङले उम्मेदवारी दिएका छन् भने स्वतन्त्र उम्मेदवार जुनु माखिमले प्रतिस्पर्धा गर्दै छन् । एक जना महिलाको उम्मेदवारी परेको सो क्षेत्रमा कांग्रेसबाट डम्बरबहादुर खड्का पनि लड्दै छन्।
झापाको क्षेत्र–१ मा १५ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्निप्रसाद खरेलको उम्मेदवारी रहेको सो क्षेत्रमा ३ जना महिलाले उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टी नेपालबाट राधा थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पदममाया लिम्बू र स्वतन्त्रबाट केन्द्रकुमारी दाहालले उम्मेदवारी दिएका हुन्।
झापा क्षेत्र–५ मा कुल २४ जनाले उम्मेदवारी दिएकामा ३ जना महिला रहेका छन्। झापा–५ मा एमाले अध्यक्ष केपी ओली चुनावी मैदानमा छन्। सो क्षेत्रमा जसपाबाट ओममाया आङदेम्बेको उम्मेदवारी परेको छ भने स्वतन्त्रबाट शान्ता अधिकारी र कल्पना लावतीले उम्मेदवारी दिएका छन्।
मोरङ–२ मा कांग्रेस नेतृ सुजाता कोइरालाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा १३ जनाको उम्मेदवारी दिएका छन्। मोरङ–२ मा एमालेका ऋषिकेष पोखरेल चुनावी मैदानमा छन्।
मोरङ–३ मा ३१ जना चुनावी मैदानमा रहेकामा ४ जना महिलाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा एमाले नेता तथा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज सञ्चालक कांग्रेस नेता सुनीलकुमार शर्मासँग राप्रपाकी रेखा थापाले प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रिकादेवी लिम्बू र स्वतन्त्रबाट इन्दिरा थापाले उम्मेदवारी दिएका छन्।
ओखलढुंगा–१ मा ८ जनाको उम्मेदवारी परेकामा २ महिला र ६ पुरुष रहेका छन्। सो क्षेत्रमा एमालेका यज्ञराज सुनुवार, कांग्रेसका रामहरि खतिवडासँग लड्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्कीले उम्मेदवारी दिएकी छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डिमा लमु शेर्पा चुनावी मैदानमा छन्।
त्यस्तै, सप्तरीको निर्वाचन क्षेत्र–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवसँग ३ जना महिलाले प्रतिस्पर्धा गर्दैछन् । पिछडा वर्ग निषाद दलित जनजाति पार्टीबाट सुमित्रा डंगोलले उम्मेदवारी दिएकी छन् भने नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिलादेवी मण्डल र नेपाली जनता दलकी चन्द्रकुमारी देवले उम्मेदवारी दिएकी छन्।
सिराहा–२ मा २ जना महिलाले उम्मेदवारी दिएका छन्। यीमध्ये चित्रलेखा यादवले कांग्रेसबाट उम्मेदवारी दिएकी छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट शिलादेवी रामको उम्मेदवारी परेको छ। सो क्षेत्रमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिएका छन्।
महोत्तरी क्षेत्र–१ मा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, राप्रपाबाट पूजा घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेमकुमारी भूर्तेलले उम्मेदवारी दिएका छन्।
महोत्तरीको क्षेत्र–३ मा ३ जना महिलाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुर चुनावी मैदानमा छन् भने जसपाबाट हरिनारायण यादवको उम्मेदवारी छ। उनीहरूसँग लड्न राप्रपाकी गुलाबकुमारीदेवी मण्डलले उम्मेदवारी दिएकी छन्। जीवछि देवी नेस्नलिस्ट पार्टी नेपालबाट र एकीकृत शक्ति नेपालबाट एल्सा झाको उम्मेदवारी परेको छ।
रौतहट–१ बाट नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग २ जना महिलाले प्रतिस्पर्धा गर्दै छन्। राप्रपा नेपालकी सरोजकुमारी र स्वतन्त्रबाट कोशिला देवीले उम्मेदवारी दिएका हुन्।
नुवाकोट–२ बाट कांग्रेस नेता अर्जुननरसिंह केसीसँग दुई महिलाले चुनावी प्रतिस्पर्धा गर्दै छन्। कुल १० जनाको उम्मेदवारी परेको सो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी धनकुमारी सुनार र मंगोल नेसनल अर्गनाइजेसनकी प्रेममाया तामाङको प्रतिस्पर्धा हुँदै छ।
काठमाडौं–१ मा ३२ जनाको उम्मेदवारी परेकामा १० जना महिला चुनावी मैदानमा छन्। यस क्षेत्रमा कांग्रेस नेता प्रकाशमान सिंह, राप्रपाबाट रवीन्द्र मिश्रको उम्मेदवारी परेको छ। ७ महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ३ जनाले दलबाट चुनाव लड्दै छन्। दलबाट उम्मेदवारी दिनेहरूमा जसपाबाट मनिता श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मञ्जु राना मगर र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी शान्तिदेवी केसी रहेका छन्।
काठमाडौं क्षेत्र–२ मा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले उम्मेदवारी दिएकी छन्। सो क्षेत्रमा ३० जनाको उम्मेदवारी परेकामा ५ जना महिला छन्।
काठमाडौं क्षेत्र–५ मा एमाले नेता ईश्वर पोखरेल र कांग्रेस नेता प्रदीप पौडेल उम्मेदवार छन्। २९ जनाको उम्मेदवारी परेको सो क्षेत्रमा ४ जना महिला रहेका छन्। यीमध्ये २ जना स्वतन्त्र, नेस्नलिस्ट पिपुल्स पार्टीकी लब्ली थापा र नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादीकी टीकामाया गुरुङको उम्मेदवारी छ।
त्यस्तै, क्षेत्र–६ मा एमालेका सर्वेन्द्र खनालको उम्मेदवारी परेको छ। यो क्षेत्रमा राष्ट्रिय पार्टीकी तारा रसाइलीको मात्र उम्मेदवारी परेको छ।
क्षेत्र–७ मा नेकपा माओवादी केन्द्रबाट मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छन्। उनको प्रतिस्पर्धामा एमालेका श्यामकुमार घिमिरे छन् भने एमालेकै पूर्वसांसद रामवीर मानन्धरले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा जम्मा २८ जनाको उम्मेदवारी परेकामा अस्मिता सिंह (मानुषी) लगायत ५ जना महिला रहेका छन्।
नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले उम्मेदवारी दिएको क्षेत्र–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठसँगै २२ जनाको उम्मेदवारी परेको छ। २२ मध्ये ५ जना महिला उम्मेदवार छन्।
भक्तपुर क्षेत्र–२ मा एमालेका महेश बस्नेत र कांग्रेसका दुर्लभ थापा क्षेत्री चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा २६ जनाको उम्मेदवारी परेकामा ६ जना महिला रहेका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट अनुराधा थापा मगर र अन्य ५ महिलाले स्वतन्त्रबाट प्रतिस्पर्धा गर्दै छन् ।
सिन्धुपाल्चोक क्षेत्र–२ मा एमालेका शेरबहादुर तामाङसहित १३ जनाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा १ जना महिलाको मात्र उम्मेदवारी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट माया गुरुङले उम्मेदवारी दिएकी हुन्।
मकवानपुर–१ मा एमालेको समर्थन र चुनाव चिह्नमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिएका छन्। सो क्षेत्रमा गठबन्धनबाट कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)को उम्मेदवारी परेको छ। कुल १३ उम्मेदवार रहेको यस क्षेत्रमा डिना १ जना मात्र महिला उम्मेदवार हुन्।
तनहुँ क्षेत्र–१ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीसहित १५ जनाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा जसपाकी पासाङ थापा मगरको मात्र उम्मेदवारी परेको छ।
नवलपरासी (बर्दाघाट सुस्तापूर्व) क्षेत्र–१ मा बीपीपुत्र शशांक कोइरालासहित १५ जनाको परेको छ। यो क्षेत्रमा महिला उम्मेदवारका रूपमा स्वतन्त्रबाट बिन्दु भट्टराई चुनावी प्रतिस्पर्धामा छन्।
बागलुङ क्षेत्र–२ मा नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेलसहित ६ जनाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा एमालेबाट मञ्जु शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्रीको उम्मेदवारी छ।
गुल्मी–२ मा कुल १३ जनाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा गठबन्धनबाट नेकपा एसकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदै छ।
अर्घाखाँची–१ मा कुल ११ जनाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा कांग्रेसबाट पुष्पा भुसाल गौतमको उम्मेदवारी परेको छ। उनीसँग एमाले नेता टोपबहादुर रायमाझी चुनावी मैदानमा छन्।
रोल्पा–१ मा नेकपा माओवादी केन्द्रका वर्षमान पुनसहित ६ जनाको उम्मेदवारी परेको छ। सो क्षेत्रमा राप्रपाकी लीला रावत मात्र महिला उम्मेदवार छन्।
दाङ–१ मा पाँच जना महिलाको उम्मेदवारी परेको छ। एमालेकी शान्ता चौधरी, राप्रपाकी लिली बुढाथोकी, लोसपा नेपालकी प्रतिभा बुढा मगर, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रुक्मिणी चौधरीको उम्मेदवारी परेको हो।
सो क्षेत्रमा नेकपा एसका मेटमणि चौधरी पनि चुनावी प्रतिस्पर्धामा छन्। दाङ–२ मा १५ जनाको उम्मेदवारी परेकामा २ जना महिला उम्मेदवार छन्। एमाले नेता शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र नेपाल आमा पार्टीकी गीता रावत चुनावी मैदानमा छन्।
नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) क्षेत्र–१ मा १८ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट खर्बपति विनोदकुमार चौधरी, जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीलगायतको उम्मेदवारी छ। यो क्षेत्रमा देवी विक र सीतादेवी पौडेल गरी २ महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
डोटी–१ मा ६ जना चुनावी प्रतिस्पर्धामा रहेकामा एमालेबाट गौरीकुमारी ओली १ जनाको मात्र उम्मेदवारी परेको छ। सो क्षेत्रमा नेकपा एसका प्रेमबहादुर आले चुनावी मैदानमा छन्।
कञ्चनपुर–३ मा ११ जनाको उम्मेदवारी परेकामा ४ जना महिला रहेका छन्। एमालेबाट निरुदेवी पाल, नेमकिपाबाट जानकीदेवी गिरी, जनमत पार्टीबाट सुशीला विष्ट, स्वतन्त्रबाट शारदादेवी चन्दको उम्मेदवारी परेको हो। सो क्षेत्रमा कांग्रेस नेता रमेश लेखक चुनावी मैदानमा छन्।