काठमाडौं- कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई सोमबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी दिए।
स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो। उक्त मुद्दामा अनुसन्धान गरी सोमबार सरकारी वकिल कार्यालयमा अभियोग पत्र बुझाएको एसएसपी बोहराले बताए।
भदौ १२ गते पक्राउ परेका उनलाई कोरोना संक्रमण भएपछि भदौ २३ गते तारेखमा छाडिएको थियो। उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।