मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय कांग्रेसको नेतृत्व छान्न मतदान सम्पन्न, ९६ प्रतिशत मत खस्यो

भारतीय कांग्रेसको नेतृत्व छान्न मतदान सम्पन्न, ९६ प्रतिशत मत खस्यो

भारतीय कांग्रेसको अध्यक्ष चयनका लागि भएको मतदान प्रक्रिया समापन भएको छ। सोमबार भएको मतदान प्रक्रिया सम्पन्न भएको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

नयाँदिल्ली- भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष चयनका लागि भएको मतदान प्रक्रिया समापन भएको छ। सोमबार भएको मतदान प्रक्रिया सम्पन्न भएको हो। पार्टीको चुनावी प्यानल प्रमुख मधुसुदन मिस्त्रीका अनुसार ९६ प्रतिशत मतदाताले मतदान प्रक्रियामा भाग लिएका छन्। चुनावमा ९ हजार ५ सय प्रतिनिधिले मतदान गरेको उनले जानकारी दिए।   

नयाँ अध्यक्ष चयनका लागि अन्तरिम अध्यक्ष सोनिया गान्धीले अखिल भारतीय कांग्रेस कमिटीको मुख्यालयमा पुगेर मतदान गरेकी थिइन्। मतदान गरेपछि उनले आफूले लामो समय नेतृत्व चयनका लागि मतदानको प्रतीक्षा गरेको प्रतिक्रिया दिएकी थिइन्। महासचिव प्रियंका गान्धीले पनि सोनियासँगै मतदान गरिन्। मतदानको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुनेछ।

कांग्रेस अध्यक्षका लागि मल्लिकार्जुन खड्गे र शशि थरुर चुनावी मैदानमा छन्। ८० वर्षीय खड्गे भारतका सांसद र पूर्व रेलमन्त्री हुन्। उनी गान्धी परिवारप्रति झुकाव राख्‍ने नेता हुन्। उनलाई राजस्थानका मुख्यमन्त्री अशोक गेहलोत, पार्टीका वरिष्ठ नेता एक एन्टोनी, अम्बिका सोनी, अजय माकेन, मुकुल वासनिकलगायतले समर्थन गरेका छन्। खड्गे पार्टी अध्यक्षमा निर्वाचित भए कर्नाटकबाट पार्टी नेतृत्वमा पुग्‍ने दोस्रो व्यक्ति हुनेछन्। यसअघि एस निजालिंगप्पा कांग्रेसको अध्यक्ष भएका थिए। 

त्यसैगरी अर्का उम्मेदवार शशी थरुरले प्रतिनिधिहरुलाई पार्टीको 'हाइकमान्ड कल्चर'लाई अन्त्य गर्न आफूलाई मतदान गर्न अपिल गरेका थिए। सन् २००९ मा भारतीय कांग्रेसको सदस्य हुनअघि उनले करिब ३० वर्ष संयुक्त राष्ट्रसंघमा रहेर काम गरेका थिए। सन् २००९ मा पनि केरलमा तिरुवनंतपुरमका लोकसभा सदस्य बनेका थिए। कमवेल्थ राइटर्स पुरस्कारसहितका साहित्यिक पुरस्कार जितेका थरूर आलोचनात्मक दृष्टिकोण राख्‍ने स्तम्भकार हुन्।

भारतीय कांग्रेसको नेतृत्वका लागि २४ वर्षपछि गान्धी परिवारबाहेकका सदस्य मात्र अध्यक्षका लागि उम्मेदवार छन्। गान्धी परिवारका सोनिया र राहुलले पार्टी नेतृत्वका लागि नयाँ अनुहारलाई मौका दिएका हुन्। पार्टी नेतृत्वमा नै नयाँ अनुहारलाई ल्याएर कांग्रेस परिवारवाद मात्र नभएर रुपान्तरणका लागि पनि तयार रहेको सन्देश दिन खोजिएको बताइएको छ। 

kumari

कसरी हुन्छ कांग्रेस अध्यक्ष पदका चुनाव?
कांग्रेसको विधान अनुसार अध्यक्ष पदका लागि पार्टीको कुनै पनि सदस्यले प्रतिस्पर्धा गर्न पाउँछ। कांग्रेसको उम्मेदवार बन्नका लागि पार्टीको प्रदेश कमिटीका १० सदस्यको समर्थन हुनुपर्ने हुन्छ। कांग्रेसको विधान अनुसार पार्टीको केन्द्रीय चुनाव समितिको अध्यक्षको नेतृत्वमा नै निर्वाचन अधिकृत तोकेर चुनाव गराउने प्रावधान छ। 

भारतभर ३० प्रदेश कांग्रेस कमिटी र केन्द्र शासित ५ कमिटी छन्। जसमा करिब १० हजार प्रतिनिधि आउने व्यवस्था छ।

सन् १९४७ देखि हालसम्म १६ जनाले पार्टीको नेतृत्व गरिसकेका छन्। जसमा गान्धी परिवारबाट पाँच जना अध्यक्ष भएका छन्। सन् २००० मा भएको पार्टीको चुनावमा सोनिया गान्धीविरुद्ध उत्तर प्रदेशका कांग्रेस नेता जितेन्द्र प्रसादले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: Oct 17, 2022| 21:13 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।