काठमाडौं- विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ। डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौँ विश्वविद्यालयले आज यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
कार्यक्रमको शुभारम्भ गर्दै मुख्यसचिव शङ्करदास बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका निम्ति डब्ल्यूटीओे चेयर कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय व्यापार साझेदारीका लागि महत्वपूर्ण रहने उक्त कार्यक्रमको सफल कार्यान्वयनका लागि समन्वय र सहकार्य प्रभावकारी बनाइने बताए।
विश्व व्यापार सङ्गठनले कम विकसित मुलुकहरूमा संगठनको काम र आवश्यक अनुसन्धान कार्यमा समन्वय गर्न डब्ल्यूटीओ चेयर कार्यक्रम विगत १० वर्षदेखि सञ्चालन गरिरहेको छ। उक्त कार्यक्रमको ‘थर्ड ब्याच’ मा नेपालको विश्वविद्यालय छनौट भएको हो। नेपालसहित ५४ देशका एक सय २६ वटा आवेदन परेकामध्ये नेपालको काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ पनि छनौट भएको थियो। यो कार्यक्रममा हालसम्म नेपालसहित विश्वका ३४ विश्वविद्यालय परिसकेका छन्।
मुख्यसचिव बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका लागि नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए। उनले भने, 'नेपालले अझै पनि डब्ल्यूटीओको माध्यमबाट अपेक्षित लाभ लिन सकिरहेको छैन। उत्पादन वृद्धि र निर्यात प्रबर्द्धन प्राथमिकतामा रहेको छ। दिगो विकास लक्ष्य हासिल गर्न केही चुनौतीको सामना गरेर योजनाबद्धरूपमा अघि बढ्नुपर्ने आवश्यकता छ।'
काठमाडौं विश्वद्यिालयका उपकुलपति डा भोला थापाले व्यापार प्रवद्र्धनका विषयमा अभिमुखीकरण र अनुसन्धानका लागि कार्यक्रमको भरपुर उपयोग गरिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्ल्यूटीओसँग जोडिएको १८ वर्ष लामो अवधिमा अपेक्षित लाभ लिन नसकेको, निर्यात घटेर आयात बढिरहेको भन्दै मुलुकको व्यापार प्रबर्द्धनका निम्ति सरकार र निजी क्षेत्रको साझेदारीलाई बलियो बनाइनुपर्नेमा जोड दिए।
डब्ल्यूटीओेका उपमहानिर्देशक डा सियाङचेन झाङले व्यापार प्रवद्र्धनमा साझेदारी अभिवृद्धिका साथै मुलुकको दिगो आर्थिक विकासका लागि कार्यक्रमले सहयोग पुग्ने बताए।
नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपाल डब्ल्यूटीओको सक्रिय सदस्य रहेकाले व्यापार प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी हुने भन्दै प्रभावकारी समन्वय र साझेदारीका साथ अघि बढ्ने विश्वास व्यक्त गरे।
विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा अच्यूत वाग्लेले नेपाल डब्ल्यूटीओे चेयर कार्यक्रम छनोट भएकोमा गौरव अनुभूति रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताए।
नेपालसहित १७ देश डब्ल्यूटीओ चेयर कार्यक्रममा छनोट भएका छन्। चार वर्षको चेयर कार्यक्रममा करिब दुई लाख स्वीसफ्राङ्क सहयोग रहेको छ। अस्ट्रेलिया, अस्ट्रिया, फ्रान्स र कोरियाले यो कार्यक्रमलाई ‘फन्डिङ’ गरेका छन्। उक्त रकम तीन आधारभूत क्षेत्र नयाँ पाठ्यक्रम विकास र शिक्षा, अनुसन्धान र क्षमता अभिवृद्धिमा खर्च गरिने विश्वविद्यालयका सहायक प्रोफेसर दीपेश कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार व्यापारसँग सम्बन्धित नयाँ पाठ्यक्रम विकास गरिने छ। जुन ‘मास्टर इन विजनेस अफ इकोनोमी’ मा ‘इन्टिग्रेट’ गर्ने योजना रहेको छ।
विश्वविद्यालयभित्र विद्यावारिधि र विदेशी विद्यार्थीका लागि अनुदान दिइने जनाइएको छ। क्षमता अभिवृद्धिका कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका उद्यमी र शिक्षकलाई नेपालको व्यापार घाटालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे अभिमुखीकरण गरिने छ। कार्यक्रमको नेतृत्व विश्वविद्यालयका रजिस्ट्रार डा वाग्ले र विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ का डिन डा देवीप्रसाद बिडारीले गर्नेछन्।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको शुभकामना सन्देश पढेर सुनाएका थिए। सन्देशमा प्रधानमन्त्री देउवाले डब्ल्यूटीओे चेयर प्रोग्रामका लागि नेपालको विश्वविद्यालयलाई छनोट गरेकामा सङ्गठनप्रति आभार व्यक्त गर्दै कार्यक्रमले असल अन्तर्राष्ट्रिय साझेदारी बढाएर लगानीको वातावरण सिर्जना गर्न र सरकार र निजी क्षेत्रको समन्वयलाई प्रभावकारी बनाएर मुलुकको व्यापार प्रबर्द्धनका निम्ति फलदायी हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै उद्योगमन्त्री बडूले डब्ल्यूटीओे चेयर कार्यक्रममार्फत नेपालको उद्योग वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन्।