दाङ- दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा शव भेटिएका रोशनी महतरा र शरद आचार्यको शवको पोष्टमार्टम मंगलबारमात्रै हुने भएको छ।
तुलसीपुरमा शव पोष्टमार्टम गर्ने फोरेन्सिक विज्ञ नभएको हुँदा मंगलबार घोराहीबाट विज्ञसहितको टिम पोष्टमार्टमका लागि जाने भएको छ। उक्त टोली गइसकेपछि मंगलबारमात्रै उनीहरुको पोस्टमार्टम हुने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
उनका अनुसार दमारगाउँबाट आइतबार बेलुका अबेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि भनेर उनीहरुका शवहरु ल्याएर राखिएको छ। तर, यहाँ फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाउनु परेको डीएसपी मल्लले बताए।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय जंगलको एकै चिरोमा हत्या गरी फालेको अवस्थामा दुईजनाको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पनि मल्लले जानकारी दिए।