आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अछाम-१ : संसद्को 'सिन्डिकेट'मा विराम, बोहरालाई छैन एमालभित्रै साथ

अछाम- १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले पूर्वमाओवादी झपट बोहरालाई टिकट दिएपछि एमालेभित्रैबाट असहयोगको सम्भावना बढेकाले बोहरालाई चुनाव जित्न सहज देखिँदैन।
 |  बुधबार, कात्तिक २, २०७९
nespernesper

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, कात्तिक २, २०७९

काठमाडौं- सुदूरपश्चिममा तीन दशकभन्दा लामो समयदेखि राजनीतिको केन्द्रमा रहेका दुई पात्र हुन्, भीम रावल र शेरबहादुर कुँवर। भर्खरै दलीय सम्बन्धविच्छेद भएका यी दुवै नेताको सहकार्य पनि त्यति नै पुरानो हो। अछाम क्षेत्र–१ बाट राजनीति गर्ने यी दुई नेताले अछामी जनताका लागि कति त्याग गरेका छन्? यस टिप्पणीको विषय त्यो होइन। बरु नेपाली राजनीतिमा एकअर्काप्रति रावल र कुँवरको त्याग कति छ? यथार्थचाहिँ नेकपा एमालेको राजनीतिमा अछाममा यी दुई नेताको सधैं संसद्को सिन्डिकेट कायम रह्यो। उक्त सिन्डिकेटमा दुवैले एकअर्कालाई बलियोसँग साथ दिए।

triton college

रावलसँग कुँवरको सम्बन्ध एमाले छिर्नुपूर्वदेखिको हो। २०३८ मा महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नेकपा मालेको राजनीतिमा होमिएका कुँवर काठमाडौंस्थित शंकरदेव क्याम्पसमा आएपछि विद्यार्थी राजनीतिमा सक्रिय भए। २०४७ पछि काठमाडौं छाडेर जिल्ला केन्द्रीत राजनीति गरेका उनी २०४९ पछि मात्रै एमाले छिरेका थिए।

२०४७ मा काठमाडौं छाडेर अछाम लागेपछि कुँवरले निरन्तर जिल्ला केन्द्रित राजनीति गरे। त्यसको दुई वर्षअगाडि काठमाडौंमा रावल–कुँवर भेटघाट झाँगिएको थियो, जुन घनिष्टता गत वर्ष एमालेबाट विद्रोह गरी माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दासम्म गहिरोसँग रह्यो। यतिसम्म कि रावल काठमाडौं केन्द्रित राजनीति गरिरहँदा कुँवर जिल्लामा सक्रिय भए। 

तर केन्द्रीय राजनीतिमा कुँवर सत्ता गठबन्धनको संयुक्त सरकार बनेपछि मात्रै चर्चामा आए, रावल। त्यसअगाडि नै पटक–पटक विभिन्न मन्त्रालय सम्हालेर मूलधारमै देखिइरहे। तर पर्दापछाडि रावल एक्ला थिएनन्। रावललाई त्यो स्तरसम्म पुर्याउन सबैभन्दा अगाडि थिए, कुँवर। कुँवर रावलका विश्वासपात्र थिए, यता कुँवरले पनि राजनीतिमा आफ्नो आदर्शको रूपमा रावललाई मानेका थिए। जिल्लामा राम्रो पकड बनाउँदै गएका कुँवरकै सक्रियताले अछामी जनताले पटक–पटक रावललाई संसद्मा अनुमोदन गरेर पठाएका थिए। २०४८, २०५१ र २०५६ मा अछामबाट उम्मेदवार बनेका रावलले २०५१ बाहेकका निर्वाचनमा पराजय भोगे।

देशैभरि एमाले ओरालो लागेका कारण रावललले २०६४ को निर्वाचन लड्न उपयुक्त ठानेनन्, कुँवरलाई अघि सारे र आफू समानुपातिकमा बसे। देशैभर एमालेका दिग्गज नेताहरूले पराजय भोग्दा त्यस वर्ष कुँवरले अछाम–१ बाट निर्वाचन जितेर पार्टीको साख जोगाए। त्यस निर्वाचनमा सुदूरपश्चिमबाट एमालेले तीन सिट मात्र जितेको थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ रावललाई छाडेर कुँवर समानुपातिकमा बसे। २०७४ मा पनि कुँवरले रावलकै लागि प्रतिनिधिसभा त्याग गरेर आफू राष्ट्रियसभामा बसे। 

Metro Mart
vianet
अछाम- १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले पूर्वमाओवादी झपट बोहरालाई टिकट दिएपछि एमालेभित्रैबाट असहयोगको सम्भावना बढेकाले बोहरालाई चुनाव जित्न सहज देखिँदैन।

२०७४ को निर्वाचनमा माओवादी र एमालेबीच भएको वाम गठबन्धनले निर्वाचनपछि एकीकरणको रूप धारण गर्यो तर ओलीले गुटबन्दी गरेको भन्दै छोटो समयमै फुटको अवस्था आयो। यति मात्रै होइन, त्यसपछि एमालेभित्रै पनि शीर्ष नेताहरूबीच सुमधुर सम्बन्ध रहेन। अन्ततः किशोरावस्थादेखि नै लागेर  एमालेबाट माधव नेपालले जीवनको उत्तराद्र्धमा ‘विद्रोह’ गरे। नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भयो। तर सुरुदेखि नेपाललाई साथ दिइरहेका रावलसहितका दस भाइले भने उनलाई साथ दिएनन् बरु एमालेमै रहेर विद्रोह गर्ने निर्णय गरे। उक्त फुटसँगै रावल र कुँवरको २०४९ देखिको सहकार्य सकियो।

आगामी निर्वाचनमा समाजवादीले कुँवरलाई टिकट दिने निश्चित हुँदा रावल पनि आफूले टिकट पाउनेमा ढुक्क थिए। दलीय सम्बन्ध सकिए पनि रावल र कुँवरबीचको सम्बन्धमा तिक्तता आइसकेको थिएन। रावल चुनाव लड्ने भएपछि अन्तिमसम्म पनि कुँवरले निकटलाई चुनाव लड्न आफू इच्छुक नरहेको बताउँदै आएका थिए। ‘पार्टी विभाजनपछि भेट पातलिनु सामान्य नै हो तर उहाँहरूको सम्बन्धमा त्यस्तो कुनै दरार सिर्जना भएको थिएन,’ कुँवर निकट एक नेताले भने, ‘पार्टीले जिम्मेवारी दिएपछि चुनाव नलड्ने भन्ने हुँदैन तर उहाँले टिकटका लागि दौडधुप गर्नुभएन।’

तर समाजवादीले उक्त क्षेत्रमा कुँवरको विकल्प नदेखेका कारण रावल–कुँवरको सम्बन्ध प्रतिस्पर्धामा बदलिने पक्का थियो। सोही कारण अछामको चुनावी माहोल ‘कडक’ बन्ने निश्चित थियो। अछाम–१ बाट सर्वसम्मत सिफारिस भएपछि रावल गृहजिल्ला पुगेर चुनावी अभियानमा जुटिसकेका थिए। तर १० बुँदे पक्षधरले माफी नमागेसम्म टिकट नदिने पार्टी अध्यक्ष केपी ओलीको अडानका कारण दुई दशकदेखि अछामबाट उम्मेदवार बन्दै आएका एक्ला नेता रावल यस पटक चुनावी दौडबाट बाहिरिए।

ओलीका कडा आलोचक तथा एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिई सर्वसम्मत अध्यक्ष बन्ने योजनामा प्रमुख तगारो बनेका रावललाई सोही कारण टिकट नदिइएको टिप्पणी एमालेभित्रै छ।  एकल सिफारिस भएका रावललाई पन्छाएर ओलीले नेकपा विभाजनपछि एमालेमा बसेका पूर्वमाओवादी झपट बोहरालाई टिकट दिए। २०४८ देखि एमालेबाट सधैं संसद् उम्मेदवार बनेका रावलको एकाधिकार तोडिए  पनि एमालेभित्रैबाट असहयोगको सम्भावना बढेकाले बोहरालाई त्यति सहज भने देखिँदैन।

आगामी निर्वाचनमा समाजवादीले कुँवरलाई टिकट दिने निश्चित हुँदा रावल पनि आफूले टिकट पाउनेमा ढुक्क थिए। दलीय सम्बन्ध सकिए पनि रावल र कुँवरबीचको सम्बन्धमा तिक्तता आइसकेको थिएन। रावल चुनाव लड्ने भएपछि अन्तिमसम्म पनि कुँवरले निकटलाई चुनाव लड्न आफू इच्छुक नरहेको बताउँदै आएका थिए।

रावललाई मुख्य प्रतिस्पर्धी ठानेका समाजवादीका नेताहरू उनको ‘एक्जिट’पछि जित सहज भएको टिप्पणी गर्छन्। रावलले टिकट नपाएकै कारण एमालेको ठूलो मत कुँवरलाई आउने दाबी उनीहरूको छ।

हुन पनि अछाममा रावलले टिकट नपाएपछि एमालेका धेरै नेताहरूले खुलेरै नेतृत्वको विरोध गरिरहेका छन्। रावलले टिकट नपाएपछि क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले राजीनामा दिएका थिए। जसमा पालिका कमिटी र जिल्ला कमिटी सदस्य रहेका थिए। अछाम एमालेभित्रैकै खटपट र अन्तरविरोधलाई आफ्नो पक्षमा पार्ने योजना समाजवादीको छ। समाजवादीका एक नेताले भने, ‘एमालेका धेरै नेताहरूले साथ दिइरहनुभएको छ, रावलले एमालेमै रहने बताउनुभएको छ तर उहाँबाट पनि सहयोग पाउनेमा विश्वस्त छौं।’ 

कुँवरका स्वकीय सचिव विनोद धामी पनि रावलले टिकट नपाउँदा आफ्नो पक्षमा माहोल बनेको दाबी गर्छन्। ‘जिल्लामा उहाँ (कुँवर)को पकड राम्रो थियो। त्यसमाथि लामो समय पार्टी राजनीतिमा योगदान गरेको व्यक्तिलाई पन्छ्याएर नेकपा विभाजनपछि पार्टीमै रहेका बोहरालाई टिकट दिएपछि त्यसले हामीलाई केही सहज बनाएको छ,’ उनले भने। एमालेकै कतिपय नेताहरूले सहयोग गर्ने आश्वासन दिएको दाबी उनले गरे।

रावलले टिकट नपाए पनि आफू एमालेमै रहने घोषणा गरिसकेका छन्। बोहरा भने रावलले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताउँछन्। ‘पार्टी छाड्ने र पार्टीमा भित्रिने क्रम चलिरहन्छ। अछाममा एमालेबाटै असहयोग हुने अवस्था देखेको छैन,’ उनले भने, ’रावल हाम्रो अभिभावक हुनुहुन्छ। उहाँले जस्तोसुकै अवस्थामा सहयोग गर्नुहुन्छ, पार्टीलाई धोका दिनुहुन्छ भन्ने विश्वास मलाई छैन।’

यता, टिकट नपाएपछि गत बिहीबार पत्रकार सम्मेलन गर्दै उनले एमालेमा रहने घोषणा गरेका हुन्। तर टिकट नपाएपछि असन्तुष्ट बनेका रावलले उक्त पत्रकार सम्मेलनमा ओलीको चर्को आलोचना गरेका थिए। पत्रकार सम्मेलनमा अछाममा कसलाई सहयोग हुन्छ भनी सोधिएको प्रश्नमा बोहरालाई सहयोग गर्ने-नगर्नेबारे केही बताएनन्। ‘त्यहाँका जनता र कार्यकर्ताले मलाई सर्वसम्मत सिफारिस गर्नुभयो। अब त्यहाँका जनता र कार्यकर्ताका भावना र उनीहरूको भनाइ के हुन्छ, त्यसलाई गम्भीर रूपमा हेर्छु,’ उनले भनेका थिए।

नेकपा समाजवादीका नेताहरूको दाबीजस्तो सहज कुँवरलाई देखिँदैन। बोहराको पकड पनि अछाममा राम्रो छ। २०७४ मा माओवाादीबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका उनले कांग्रेसका टेकबहादुर साउदलाई सुदूर मतान्तरले पराजित गरेका थिए। बैंकिङ पृष्ठभूमि भएकाले बोहराले १३ हजार ९३७ मत ल्याउँदा साउदले ८ हजार ३५० मत ल्याएका थिए।

स्थानीय तह निर्वाचनको अंकगणित
अछाम–१ मा साँफेबगर नगरपालिका तथा रामारोशन, बान्नीगढी, चौरपाटी र मेल्लेख गाउँपालिका पर्छन्। स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा यी पालिकामा एमाले र नेकपा समाजवादी दुवैको जित शून्य छ। समाजवादीसँग गठबन्धन गरेको दल कांग्रेसले ४ र माओवादीले १ पालिका जितेको छ।

वडागत हिसाब हेर्दा यस क्षेत्रका ४२ वडामध्ये १९ वडा कांग्रेसले जित्दा दोस्रोमा रहेको एमालेले १३ वडा जितेको छ। तेस्रोमा माओवादीले ५ वडा जित्दा एकीकृत समाजवादीले २ वडामा मात्रै जित निकालेको थियो।

प्रकाशित: Oct 19, 2022| 07:07 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...