काठमाडौं– नेपालको सहरी क्षेत्रको जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको सहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दंगालले जानकारी दिए ।
२०६८ मा सहरी क्षेत्रको जनसंख्या ६३.१९ प्रतिशत थियो । त्यसबेला ग्रामीण भेगको जनसंख्या ३६.८१ प्रतिशत थियो।
संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन ह्याबिट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व सहरी प्रतिवेदन २०२२ मा उल्लेख भएअनुसार सहरीकरण प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस सहरी क्षेत्रमा बस्दछन्।
यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म सहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको छ।
सन् २०३० देखि २०३५ भित्र विकसित देशमा सहरी क्षेत्रको जनसंख्या ०.४० प्रतिशत पुग्ने जनाइएको छ।
अक्टोबरको पहिलो सोमबार मनाइने विश्व बसोबास दिवस अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो। संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन ह्याबिट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो।
राष्ट्रसंघले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो।
नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ। अक्टोबर महिनाको पहिलो सोमबार बडादसैंको महाअष्टमी परेकाले सोमबार सोमबार ‘समावेशी सहर बस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता’ नाराका साथ नेपालमा विश्व बसोबास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको मन्त्रालयले जनाएको छ।
दिगो विकास लक्ष्यको लक्ष्य १.१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ। दिवसका अवसर आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए।
कार्यक्रममा व्यवस्थित सहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ।
कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जिनियरिङ अध्ययन संस्थान, काठमााडौँ र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
आवास कम्पनी, यूएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको सहरी विकास तथा भवन निर्माणि विभागले जनाएको छ।
दिगो र वतावरण मैत्री सहरी विकासमा जोड दिँँदै विश्व बसोबास दिवसका कार्यक्रम गरिने भएको छ।