दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार किशोर-किशोरीको शव फेला पर्यो।
स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। मृत फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले दुबैको टाउकोमा गहिरो चोट पटक देखिएको बताएका छन्।
‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट लागेको छ। त्यसले उनीहरूको हत्या गरिएर शव गाडिएको अनुमान गरिएको छ,' उनले भने।
महतरा र आचार्यको शव आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पुर्याइएको छ।