काठमाडौं- नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुई स्वर्ण जितेका छन्। पहिलो दिन ५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा एक स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ।
५५ केजी तौलतर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते। बागमती प्रदेशका दिनेश गोसाईंले रजत र सेनाका रमेश फोम्बोले कांस्य पदक पाए।
६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते। एपीएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पाए।
६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङले आफ्नो टिमका लागि दोस्रो स्वर्ण जिते। लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे। यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कांस्य पदक हात पारे।
७० केजी तौलमा सेनाका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमशः : रजत र कांस्य जिते।
७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए। मधेस प्रदेशका शनि आज्माले रजत र बागमतीका योगेश राज शाहीले कांस्य पदक प्राप्त गर्न सफल भए।