शुक्रबार, वैशाख ७, २०८१

महागठबन्धन गरेर ओलीलाई हराउने रणनीतिमा अधिकारी

गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयर गठबन्धनको भागमा परे पनि राप्रपाका राम थापालाई विजयी गराएकाले यस पटकको निर्वाचनमा आफूलाई सहयोग हुनेमा अधिकारी आशावादी छन्।
 |  सोमबार, असोज ३१, २०७९

किशोर दाहाल

किशोर दाहाल

सोमबार, असोज ३१, २०७९

काठमाडौं– यतिबेला झापा क्षेत्र–५ बाट आगामी ४ मंसिरको निर्वाचनमा जित सुनिश्चित गर्ने विश्वासका साथ डा. खगेन्द्र पाण्डव अधिकारी एमाले अध्यक्ष केपी ओलीविरुद्ध चुनावी मैदानमा  छन्। ओलीलाई निर्वाचनमा पराजित गर्न फलामको चिउरा चपाउनुसरह भए पनि दरिलो आत्मविश्वास, विकासे योजना र चुनावी रणनीतिसहित उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

triton college

२३ असार २०३१ मा गौरादह–३ मा जन्मिएका डा. अधिकारी प्राज्ञिक तथा राजनीतिक व्यक्तित्व हुन्। २०४७ मा एसएलसी उत्तीर्ण अधिकारी २०४९ मा हात्तीसार क्याम्पसको नेविसंघ सभापति भएका थिए। कांग्रेसको विगतका ३ महाधिवेशनमा अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधि भइसकेका अधिकारी कांग्रेसको केन्द्रीय अनुसन्धान तथा अभिलेख विभाग सदस्य, केन्द्रीय राज्य प्रशासन विभाग सदस्य र अघिल्लो पटक प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी हुन्।

उनीसँग साढे १७ वर्ष त्रि–चन्द्र क्याम्पसमा अध्यापन गराएको अनुभव छ। उनले भारतको सौराष्ट्र विश्वविद्यालयबाट वाइल्डलाइफ विषयमा विद्यावारिधि(पीएचडी)गरेका छन्। 

अघिल्लो पटकको निर्वाचनमा एमाले अध्यक्ष ओलीले उनलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए। तर यस पटक पार्टीले दिएको अवसरलाई खेर जान नदिने पक्षमा अधिकारी छन्। गत निर्वाचनमा कांग्रेसको तर्फबाट एक्लै निर्वाचन लड्दासमेत सम्मानजनक मत प्राप्त बताउने अधिकारी यस पटक गठबन्धनको साथ भएकाले उत्साहित देखिन्छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को समेत आफूलाई साथ रहनेमा उनी ढुक्क छन्। यस क्षेत्रमा राप्रपाले एमालेसँग गठबन्धन गर्ने औपचारिक घोषणा गर्दै ओलीलाई सघाउने बताइसकेको छ। तर यसलाई मान्न अधिकारी तयार छैनन्। 

corrent noodles
Metro Mart

यस क्षेत्रमा गठबन्धन दलहरू र राप्रपाबीच महागठबन्धन हुनेमा उनी ढुक्क छन्। ‘दमक नगरपालिकामा केही कमजोर भए पनि यस पटक हामीलाई यस क्षेत्रको साथ रहनेछ। यस क्षेत्रमा हामीले गठबन्धन मात्रै होइन, राप्रपासहितको महागठबन्धन गर्ने तयारीमा छौं’, अधिकारीले भने।

गत स्थानीय तह निर्वाचनमा गठबन्धनको साथ पाएरै दमक नगरपालिकाको मेयरमा राम थापा विजयी भएको उनी बताउँछन्। दमक नगरपालिकाको मेयर गठबन्धनको भागमा परे पनि राप्रपाका राम थापालाई मिहिनेत गरेर मेयर विजयी गराएकाले यस पटकको निर्वाचनमा आफूलाई सहयोग हुनेमा उनी आशावादी छन्। थापाले गठबन्धनलाई लगाएको गुन तिर्ने समय आएको उनले बताए।

‘हामी सबै राजनीतिक दलले ठुलो मिहिनेतका साथ गठबन्धन गरेर थापालाई मेयरमा जितायौं। यस पटक राप्रपाले पनि हामीलाई सहयोग गर्नेमा गठबन्धन दलहरूले पूर्ण भरोसा गरेका छौं। औपचारिक रूपमा एमालेसँग गठबन्धन गर्ने निर्णय भयो तर राप्रपाले गुन तिर्छ भन्ने विश्वास लिएका छौं’, उनले भने। स्थानीय तह निर्वाचनमा राप्रपा र राम थापासँग तनमन मिलेर नै चुनावी तालमेल भएको र एकअर्कालाई सहयोग गरेको अधिकारीको दाबी छ। 

एमालेले साढे तीन वर्षसम्म आफूलाई यस क्षेत्रमा निषेध गरे पनि गलत कामविरुद्ध खुलेरै आवाज उठाएको उनी बताउँछन्। प्रतिनिधिसभा निर्वाचन हारेपछि आफू भूमिकाविहीन भएको र एमालेले निषेधको राजनीति गरेको उनी सुनाउँछन्। सार्वजनिक कार्यक्रममा प्रवेश गर्न नदिए पनि ओलीका गलत कामविरुद्ध आवाज बुलन्द बनाएको उनले सुनाए। जनताको सुखदुःखमा सधैं साथ दिएको अधिकारी बताउँछन्। उनले भ्यूटावरजस्तो अनुत्पादनशील क्षेत्रमा राज्यको ढुकुटी दुरुपयोग भएकामा विरोध गरेको बताए। भ्यूटावरले जनताको जीवनस्तर र जनजीविका सुधारमा कुनै पनि महत्त्वपूर्ण योगदान नगर्ने भएकाले यसको सट्टामा मेडिकल कलेज स्थापना गर्न ओलीलाई सुझाए पनि ठाडै अस्वीकार गरेको उनको भनाइ छ। 

‘म यस क्षेत्रबाट हारेको सांसद भएरै होला। साढे ३ वर्षसम्म मलाई एमालेले निषेधको राजनीति गर्‍यो। कुनै पनि सार्वजनिक कार्यक्रममा मलाई प्रवेश दिइएन। तर यस ठाउँमा भएका गलत कामबारे खुलेर विरोध गरेको छु। भ्यूटावरजस्तो अनुत्पादनशील क्षेत्रमा सरकारी ढुकुटीको दुरुपयोग भएको विषयमा मैले खबरदारी गरेको थिएँ’, अधिकारीले भने। 

भ्यूटावरको सट्टा ५ शय्याको मेडिकल कलेज बनाउन आग्रह गरेको बताउँदै उनले भने, ‘मैले भ्यूटावर निर्माण तुरुन्त बन्द गरौं भनें। यसलाई बन्द गरेर विकास निर्माण रोक्नुपर्छ भन्ने होइन। टावर निर्माणका लागि विनियोजित बजेटमै यस क्षेत्रका प्रबुद्ध व्यक्तिको समूह बनाएर ५ शय्याको मेडिकल कलेज खोल्न भने पनि सुनवाइ भएन’, उनले भने। 

दमक औद्योगिक पार्कमा गरिब जनताको जग्गा अधिग्रहण गरेको विषयमा समेत अधिकारीले आवाज उठाएका थिए। उनीहरूको जग्गा कौडीको भाउमा लिने सौदाबाजीविरुद्ध पनि सार्वजनिक रूपमा विरोध गरेको अधिकारीले बताए। 

उनले भने, ‘यस क्षेत्रमा औद्योगिक पार्क बन्नु राम्रो कुरा हो। तर औद्योगिक पार्कमा नाममा गरिब जनताको जग्गा कौडीको भाउमा सौदाबाजी गर्ने काम गलत हो भनेर मैले बारम्बार भन्दै आएको छु।’

डा. अधिकारी अघिल्लो निर्वाचनमा पराजित भएकाले नीतिगत रूपमा उनले काम गर्न सक्ने अवस्था पनि रहेन। तर उनले यस क्षेत्रको विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्दै रहे। यस क्षेत्रमा भएका गलत कामको विरोध र सही कामको समर्थन गर्दै आएको उनी बताउँछन्। ‘जनताको रखबारी गर्ने काम निरन्तर रूपमा गर्दै आएको छु। मैले कुनै पनि गलत कामको  विरोध गर्न छाडेको छैन। राम्रो कामको समर्थन गर्नु स्वाभाविक भइहाल्यो। त्यसैले मैले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो इमानदारीसाथ वहन गरेको छु। खबरदारी गर्ने, जनताको सुखदुःखमा साथ रहने र पार्टी संगठनको काममा सहयोग गर्ने काम विगत ५ वर्षदेखि निरन्तर गर्दै आएको छु’, डा. अधिकारीले थपे। 

आगामी निर्वाचनमा जनताले अवसर दिए  पर्याप्त काम गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरे। 

‘यस क्षेत्रका जनताले मलाई जिताए भने अब पर्याप्त काम गर्ने हो। हारेको सांसदको वडाध्यक्षजत्तिको पनि अधिकार हुँदैन। कसरी काम गरेन भन्न मिल्छ? अधिकार प्राप्त गरेपछि ओलीले भन्दा बढी र जनताका आवश्यकतामा आधारित काम गर्ने हो’, डा. अधिकारी भन्छन्।

केपी शर्मा ओली

उनले ओलीप्रति कटाक्ष गर्दै नेकपा अध्यक्ष, साढे तीन वर्षसम्म मुलुकको प्रधानमन्त्री भए पनि यस क्षेत्रको विकासमा कुनै महत्त्वपूर्ण योगदान गर्न नसकेको दाबी गरे। स्थानीयको जीवनस्तर सुधार्र्ने, रोजगारी सिर्जना तथा आर्थिक, सामाजिक परिवर्तनमा कुनै पनि भूमिका निर्वाह गर्न नसकेका ओली निर्वाचन क्षेत्रमा समेत कमै उपस्थित भएको उनको दाबी छ।

दुई पटकसम्म संसद् विघट्न गरेर मुलुकलाई दुर्घटनामा फसाउने काममा उद्धत भएकाले राष्ट्रिय राजनीतिमा समेत ओलीको योगदान सम्झनयोग्य नभएको उनले बताए। 

मुलुकलाई ऋणको गलपासोमा फसाएको, अर्थतन्त्र विकासका लागि उल्लेख भूमिका खेल्न नसकेको, उखानटुक्का र उडन्ते गफ गरेर जनतालाई झुक्याउने काम गरेको, कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र भ्यूटावरजस्ता अनुत्पादनशील क्षेत्रमा बजेट दुरुपयोग गर्नेजस्ता काममा ओलीको ध्यान बढी गएको आरोप अधिकारीले लगाए। 

‘केपी ओलीजी टेस्ट भइसक्नुभयो। राष्ट्रिय राजनीतिको व्यस्ततामा उहाँले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुभएन। तर राष्ट्रिय राजनीतिमा पनि कुनै उल्लेख योगदान गर्न सक्नुभएन। दुई पटकसम्म संसद् विघटन गरेर मुलुक र संविधान असफल बनाउनेतिर लाग्नुभयो। आर्थिक विकास गर्ने नाममा भ्यूटावरजस्ता अनुत्पादनशील क्षेत्रमा रकम खर्च गरेर मुलुकलाई खर्बौं ऋण बोकाएर जानुभयो’, उनले भने। 

मेडिकल कलेजदेखि औद्योगिकीकरणसहित अधिकारीको यस्तो छ चुनावी एजेन्डा
आगामी निर्वाचन जितेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर पाए यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडक निर्माणमा हुने उनले बताए। नेपालमा हुने विकासको गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ। एक वर्ष सडक बनाउने, अर्को आर्थिक वर्ष सुरु नहुँदै भत्किएर जाने समस्या छ। डा.अधिकारी यस्तो गलत विकासको प्रवृत्ति सुधार्न चाहन्छन्। 

‘नेपालमा एक वर्ष बनाएको सडक अर्को वर्षसम्म टिक्दैन। जस्तै, टिपरले ब्रेक लगाउँदा सडकको कालोपत्रे सबै उप्किने समस्या यस क्षेत्रमा छ। यस्तो विकासको प्रवृत्तिलाई परिवर्तन गरेर दिगो विकास गर्न आवश्यक छ’, अधिकारी भन्छन्।

यसैगरी भ्यूटावरको सट्टा दमक र पाडाजुँगीको बीचमा रहेको सरकारी जग्गामा एउटा मेडिकल कलेज स्थापना गर्ने सपना रहेको डा.अधिकारी सुनाउँछन्।

‘दमक र पाडाजुँगी आसपास प्रशस्त रहेको सरकारी जग्गामा एउटा व्यवस्थित र उत्कृष्ट मेडिकल कलेज स्थापना गर्ने सपना मैले देखेको छु। यो मेरो जीवनको सपना हो। यस क्षेत्रमा मेडिकल कलेज खोल्ने मेरो संकल्प छ’, उनले सुनाए। 

यस क्षेत्रमा रहेका खोलानालाले बर्सेनि निमत्याउने भू–क्षय, कटान र डुबान समस्या दिगो समाधानका लागि राष्ट्रिय स्तरबाटै परियोजना ल्याउने योजना उनले सुनाए। खोलाका दुवै किनारामा रहेका जनताका आवासलाई उचित मुआब्जा दिएर तिनलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने उनको योजना  छ। निर्वाचत जिते नदीका दुवैतिर ५० देखि ६० मिटरको किनारामा वृक्षारोपणको काम अगाडि बढाउने उनी बताउँछन्। नदी किनारामा बाँस लगाइने र भविष्यमा यसलाई कटान रोक्न प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। वृक्षारोपणसहितको कटान रोक्ने काम अगाडि बढाउँदा यस क्षेत्रमा बढ्दो तापक्रम समस्या निराकरण गर्न सहयोग पुग्ने अधिकारीको बुझाइ छ। 

यस क्षेत्रमा बढीभन्दा बढी प्राविधिक विद्यालय स्थापना गर्ने, विद्यालयको स्तरोन्नति, कलेजको स्तरोन्नति, सिँचाइको उचित प्रबन्ध र जनताले उत्पादन गरेका वस्तुलाई बजारसम्मको पहुँच तथा उचित मुल्य उपलव्ध गराउन सक्रिय भूमिका खेल्ने योजनामा डा. अधिकारी छन्। 

यस क्षेत्रमा भूमिसम्बन्धी समस्या लामो समयदेखि समाधान हुन सकेको छैन। भूमिसम्बन्धी समस्या समाधानका लागि विगतमा पनि काम गरेको र जनप्रतिनिधिमा निर्वाचित गरे यस विषयमा अझै धेरै काम गर्ने योजना उनी सुनाउँछन्। 

गौरीगञ्ज र गौरादहको तल्लो भागमा उद्योग स्थापनाका लागि उपयुक्त हुने उनी ठान्छन्। यस क्षेत्रमा जमिन अहिले पनि सस्तो मूल्यमा उपलब्ध हुने भएकाले औद्योगिकीकरण सहज हुने बुर्झा अधिकारीको छ। यस क्षेत्रमा उद्योगधन्दा, कलकारखाना स्थापना गर्न आवश्यक पहल गरिने उनले बताए। 

यसका लागि गौरीगञ्ज भन्सारलाई सुचारु गर्ने योजना उनी सुनाउँछन्। उक्त औद्योगिक क्षेत्रमा आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन यो भन्सार उपयोगी हुने उनको ठम्याइ छ। ‘गौरादहको तल्लो र गौरीगञ्ज बीचको क्षेत्रमा उद्योग स्थापना र गौरीगञ्ज भन्सार सञ्चालन ल्याउन सके रोजगारी सिर्जना गर्न र जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु’, अधिकारीले भने।

राष्ट्रिय स्तरमा समेत सक्रिय भूमिका निर्वाह गर्ने सोचमा अधिकारी छन्। नेपालको वैदेशिक तथा परराष्ट्र नीतिमा उपयुक्त सुधार गरी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध स्थापनामा पहल गर्ने भूमिका खेल्ने उनी बताउँछन्। विशेषगरी भारतसँगको सम्बन्धमा सुधार गरी नेपालमा प्रचुर सम्भावना रहेको जलविद्युत्को बजार विकासका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न जोड दिइने उनको भनाइ छ। 

डा. खगेन्द्र पाण्डव अधिकारी 

‘परराष्ट्र नीति र कूटनीतिमा उपयुक्त सुधार गरी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध स्थापनाका लागि नीति निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने योजना छ। यहाँका जनताले प्रतिनिधिसभामा मलाई विजयी गराए नेपालको प्रचुर सम्भावना रहेको जलस्रोतको बजार विकासका लागि दक्षिणतर्फको छिमेकीसँग सम्बन्ध सुधार गरी मुलुकको विकासको ढोका खोल्न आवाज उठाउनेछु’, उनले भने। 

यसैगरी दिगो पर्यटनमा विकासमा समेत प्रतिनिधिसभामा भूमिका खेल्ने उनले सुनाए।  काम गर्ने अवसर पाए वनजंगलको वैज्ञानिकीकरण गरी आगामी १० वर्षभित्र प्रत्येक गाउँलाई भिलेज रिसोर्टको रूपमा परिणत गर्न  आवश्यक काम गर्ने योजना अधिकारीले सुनाए।

‘मैले एउटा परिकल्पनामा काम गर्न सकियो भने आगामी १० वर्षमा गाउँलाई पनि भिलेज रिसोर्टमा परिणत गर्न सकिन्छ। प्रशस्त बोटबिरुवासहितको हरियाली गाउँ बनाउन सक्छौं। यसका लागि निर्वाचित भए मेरो महत्त्वपूर्ण योगदान हुन्छ भन्ने लाग्छ’, उनले भने। 

नेपालको हावापानी विविधतापूर्ण रहेकाले त्यस क्षेत्रमा गुणस्तरीय विद्यालय तथा विश्वविद्यालय स्थापना गर्न सकिने र शिक्षाको नाममा विदेशी रकमलाई रोक्न सकिने योजना उनले सुनाए। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाल शिक्षाको महत्त्व स्थापित हुने, नेपालबाट  शिक्षाको नाममा बाहिरिने पैसा रोकिने र विदेशी विद्यार्थीलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोतको रूपमा विकास गर्न निर्वाचित भए नीति निर्माण तहमा आवश्यक पहल गर्ने डा.अधिकारी बताउँछन्। 

आगामी १०० वर्षका लागि नेपालमा नीति निर्माण जोड दिँदै उनले नेपालको सहरी विकास भार भएको बताए। ‘नेपालले अबको १०० वर्षको नीति बनाउनुपर्छ। नेपालमा भएको अव्यवस्थित सहरी विकासले मुख्य सहर भार बन्दै गएका छन्। त्यसैले नेपालले आगामी १० देखि १०० वर्षसम्ममा कस्तो सहरी पूर्वाधार विकास गर्ने भन्नेबारे आजै योजना बनाउनुपर्छ’, डा.अधिकारीले भने।

यस्तो छ अंकगणित?
यस निर्वाचन क्षेत्रमा दमक र गौरादह दुई नगरपालिका तथा कमल र गौरीगञ्ज दुई गाउँपालिका रहेका छन्। गत स्थानीय तह निर्वाचनमा गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ। गौरादह नगरपालिका प्रमुख एमाले र दमक नगरपालिका राप्रपाले जितेको छ। उक्त निर्वाचनको कुल मतमा एमालेले कांग्रेसले भन्दा झन्डै दोब्बर पाएको छ। एमालेले ४१ हजार ६१९ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार २२ मत प्राप्त गरेको छ। माओवादीले १० हजार ७८८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ३ सय ५३ मत प्राप्त गरेको थियो। नेकपा एसले १९ सय ८८ मत प्राप्त गरेको छ। 

यस क्षेत्रमा गठबन्धन दलको राप्रपासँग महागठबन्धन भए एमाले अध्यक्ष ओली र डा. अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। एमालेसँग भएको गठबन्धननुसार राप्रपाले ओलीलाई मतदान गरे डा. अधिकारी अप्ठेरोमा पर्न सक्छन्। स्थानीय तह निर्वाचननुसार राप्रपासँग गठबन्धन भए अधिकारीले ४३ हजार १५१ मत प्राप्त गर्ने देखिन्छ, जुन एमालेको भन्दा १५ सय ३२ ले बढी हो।

राप्रपाका मतदाताले ओलीलाई मतदान गरे गठबन्धनका उम्मेदवार डा. अधिकारीलाई १५ हजार १७४ मतले पराजित गर्ने देखिन्छ। 

अघिल्लो संघीय निर्वाचनमा ओलीले यस क्षेत्रबाट ५७ हजार १३९ मत प्राप्त गर्दा डा.अधिकारीले २८ हजार २९७ मत पाएका  थिए। उक्त निर्वाचनमा कांग्रेस एक्लै लडेको थियो भने एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको थियो। डा. अधिकारीलाई तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सहयोग गर्ने आश्वासन दिए पनि अन्तिममा पछि हटेको थियो। फोरमले यस निर्वाचन क्षेत्रमा सत्यदेव यादवलाई उम्मेदवार बनाएको थियो। यादवले १९ सय १५ मत प्राप्त गरेका थिए।

प्रकाशित: Oct 17, 2022| 07:18 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...