काठमाडौं- यस साता (भदौ १५ देखि २१ सम्म) नेप्से कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढेको छ। शुरु भएदेखि लगातार चार दिन नेप्से परिसूचक बढ्दा कारोबार पनि ह्वात्तै बढेको हो।
नेप्से कारोबार भएको यस हप्ताको अन्तिम दिन मात्रै ४.३६ अंक घटेर एक हजार २२९.७७ विन्दुमा पुगेको थियो। यस साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीहरुको कारोबार भएको छ। जसअनुसार ३२ हजार २८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ५५ हजार सात सय ८० कित्ता सेयर खरिद बिक्री भएका छन्।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)कोअनुसार गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो। जसअनुसार ११ हजार ७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरको २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु मात्रै खरिद बिक्री भएका थियो।
त्यस्तै साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.४९ अंकले बढेर अन्तिम दिन एक हजार २२९.७७ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ८.५५ अंकले बढेर २६०.३५ अंकमा आईपुगेको छ।
कारोबार र शेयर संख्याको आधारमा एनएमबि अग्रस्थानमा
यस साता कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ। कारोबार भएको सेयर संख्या (छ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड नै अग्रस्थानमा छ।
यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु
यस साता सर्वाधिक कारोबार भएका पाँच कम्पनीमध्ये पहिलो स्थानमा एनएमबि बैंक लिमिटेडले लिएको छ।
त्यसपछि एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक रहेको छ। जसमध्यै सबैभन्दा बढी एनएमबि बैंकले २२ करोड रुपैयाँ र सबैभन्दा कम नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापकले १२ करोड २३ लाख रुपैयाँ कारोबार गरेको छ।
तीन कम्पनीको हकप्रद तथा बोनस शेयर सूचीकृत
यस साता तीन कम्पनीहरुको वोनस तथा हकप्रद शेयर सूचिकृत भएको छ। जसमा ग्रीन डेभलपमेन्ट बैंकको ४० कित्ता हकप्रद, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ लाख ८३ हजार ३५५.९४ कित्ता वोनश शेयर र प्रभु बैंक लिमिटेडको २३ लाख २६ हजार २८७ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४