 
                                                                                 
                                                                
                                                                                        
                                                        काठमाडौं– मुलुकभर आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको रौनक छाएको छ। राजनीति दलका नेता तथा उम्मेदवारले यतिबेला आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलोमा भोट माग्न थालिसकेका छन्। चुनावका कारण सहरका गल्ली र चिया पसल तथा नेताका घरमा भेटिने अधिकांश दलका नेता, कार्यकर्ता अहिले आफ्नै निर्वाचन क्षेत्रमा खटिन थालेका छन्।
नेता र उम्मेदवार पनि भेटघाट छलफल बैठक र जनताका घरदैलोमा पुग्न भ्याइनभ्याइ छ। देशभरजस्तै कर्णाली प्रदेशको राजनीति सुर्खेतमा पनि चुनावी रौनक ह्वात्तै तातेको छ। अझ सुर्खेत क्षेत्र–१ सबैको चासोको केन्द्र बनेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको यो क्षेत्रको चुनावी परिणाम के हुने भन्ने देशैभर चासोका साथ हेरिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी उन्मुख खड्कालाई चुनाव जित्नैपर्ने दबाब छ। यसपल्ट प्रतिनिधिसभामा आउन सकेनन् भने देउवापछि उक्त समूहबाट कांग्रेसकै ‘कमान्ड’ गर्ने उनको यात्रा जोखिमपूर्ण बन्न सक्छ। २०७४ को निर्वाचनमा पार्टी महामन्त्री रहेका उनी एमालेका ध्रुवकुमार शाहीसँग पराजित भएका थिए। शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएका थिए भने खड्काले ३३ हजार ३ सय ७७ मत मात्रै पाए। खड्का अहिले उपसभापति भएका बखत पनि शाहीसँग प्रतिस्पर्धामा छन्।
पूर्णबहादुरका ४ चुनौती 
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का २०४८ यता सुुर्खेत–१ बाट निर्वाचित हुँदै आएका छन्। खड्का २०६४ मा समानुपातिक उम्मेदवार बने भने २०७४ मा वाम गठबन्धनका उम्मेदवार ध्रुव शाहीसँग पराजित भए। त्योभन्दा बाँकी सधैं खड्का यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्। खड्कालाई यो पटक पहिलो चुनौती पनि यही हुने कांग्रेस नेताहरूको भनाइ छ। खड्का २०४८ यता सधैं पार्टी र सत्ताको केन्द्रमा रहँदै आए। तर जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप खड्कालाई लाग्ने गरेको छ।
स्थानीय विकासभन्दा पनि केन्द्रमा सत्ता र शक्तिको आडमा खड्काले कांग्रेसकै अर्को पक्षलाई पेल्ने गरेको आरोप छ। खड्काले जिल्लाको विकासका काममा सधैं सत्ता नजिक हुँदा पनि ध्यान नदिएको गुनासो आममतदाताको छ।
खड्कालाई लाग्ने गरेको अर्को आरोप राज्य पुनर्संरचनाको समय उनी कर्णाली प्रदेशको पक्षमा नभएको छ, जुन विषय यो पटक खड्काका लागि चुनौती हुने कांग्रेसकै नेता, कार्यकर्ताले बताउने गरेका छन्। खड्का कर्णाली प्रदेशको पक्षमा नभएका कारण सो समय सुर्खेतमा समेत उनको पुत्ला जलाइएको थियो। यो मुद्दा अहिले विपक्षीले उचाल्न थालेको कांग्रेसका एक नेताले बताए। कर्णाली प्रदेशको पक्षमा नभएका कारण खड्काको अहिले पनि प्रदेशमा प्रभाव कम भएको धेरैको बुझाइ छ।
खड्कालाई तेस्रो चुनौती भनेको पार्टीभित्रको असहयोग हुनेछ। कांग्रेसबाट कर्णालीमा प्रभाव जमाउने दुई नेता छन्। संस्थापनबाट खड्काका साथै संस्थापन इतरबाट हृदयराम थानी। उनीहरू दुवै सुर्खेतबासी हुन्। फरक निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने उनीहरूको आन्तरिक प्रतिस्पर्धा भने चर्को छ।
स्थानीय तह निर्वाचनमा हार बेहोर्नुको एउटा कारण दुई नेताबीचको सम्बन्ध ‘सुमधुर’ नहुनु पनि एक रहेको बताइन्छ। स्थानीय तहको उम्मेदवारीमा ४० प्रतिशत भाग थानी समूहले मागेको थियो। तर उक्त समूहको माग सम्बोधन हुन सकेन। थानी समूह असन्तुष्ट रह्यो। त्यही असन्तुष्टि मतपेटिकामा झरेको कांग्रेसको खड्का समूहले आरोप लगाएको थियो। खड्कालाई पार्टीभित्रको असहयोग सधैंको चुनौती हो। सुर्खेतमा खड्का र थानी दुवै नेता मिलेको अवस्थामा दुवैले जित निकाल्ने गरेका छन्। तर दुवै नेतामा एकअर्कोलाई असहयोगको त्रास सधैं देखिन्छ।

त्यस्तै, खड्काका लागि अर्को चुनौती भनेको स्थानीय तह चुनावको टिकट वितरण पनि हुने देखिन्छ। खड्काले गत स्थानीय तह चुनावमा चुनावी कमान्ड सम्हाले। केन्द्रीय चुनाव परिचालन समिति संयोजक खड्काको कमान्ड सफल रह्यो। कांग्रेस पहिलो पार्टी बन्यो तर उनकै गृहजिल्ला सुर्खेतको समाचार भने सुखद रहेन। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेस यसपल्ट दुई गुमाएर एमालेसँग ४ बराबर गर्न पुग्यो। स्थानीय तह निर्वाचनमा खड्काको गृहनगर सुर्खेत वीरेन्द्र नगरपालिकामा माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले हार बेहोर्नुपर्यो।
वीरेन्द्रनगर नगरपालिका २०७४ को स्थानीय तह चुनावमा कांग्रेसले जीतेको थियो। यो पटक नगरमा प्रमुख र उपप्रमुख मात्रै होइन, १६ मध्ये ११ वडा एमालेले जितेको छ। गृहजिल्ला सुर्खेतकै नतिजा पनि खड्काका लागि निराशाजनक रह्यो। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेसले यसपल्ट दुईटा गुमायो। गुमेका दुईटै भेरीगंगा र चिंगाड गाउँपालिका उपसभापति खड्काकै निर्वाचन क्षेत्रभित्र पर्छन्।
संघीय निर्वाचनका लागि कांग्रेसको भोट बैंकका रूपमा चिनिने यी पालिकामा पराजय भोग्नुले खड्कालाई झस्किनुपर्ने अवस्था सिर्जना भएको छ। खड्काको निर्वाचन क्षेत्रमा सिम्ता र चिंगाड गाउँपालिका, भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाका सबै वडा पर्छन्। वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडा पर्छन्। यी ५ पालिकामध्ये ३ मा एमालेले जितेको छ। कांग्रेसले जितेका दुई पालिकामध्ये लेकबेंसीमा कडा प्रतिस्पर्धा अर्थात् ३ सय भोटले मात्रै कांग्रेसले जितेको छ।
खड्का र थानीको सम्बन्ध 
खड्का र थानीको आन्तरिक प्रतिस्पर्धा बहुदलपछि नै सुरु भयो। खड्काले राजनीतिमा फड्को मार्दै  गए। साथै, थानीलाई पछि पार्न पनि भूमिका खेलेको थानी पक्षको सदावहार आरोप छ। त्यसको सुरुआत २०४९ को स्थानीय तह निर्वाचनबाट भएको थियो भने कांग्रेसको १४औं महाधिवेशनसम्म कायम रह्यो। खड्का उपसभापति बन्दै गर्दा थानी भने केन्द्रीय समिति सदस्यसमेत बन्न सकेनन्। खड्का पक्षको पेलाइका कारण केन्द्रीय सदस्यमा एक भोटले हार्नुपरेको गुनासो थानीको रहँदै आएको छ।
२०४९ मा जिल्ला विकास समिति सुर्खेतको सभापति बन्ने थानीको चाहनाका बाधक पनि खड्का नै रहेको उक्त पक्षको आरोप छ। थानीले २०४९ मा जिविस सभापति बन्न वीरेन्द्रनगर नगरपालिका वडा–१ को वडाध्यक्षको चुनाव लडे। जित पनि हासिल गरे। तर थानी जिविस सभापति बन्नबाट रोकिए। खड्का निकटकै गोविन्दबहादुर मल्ल सभापति भए। २०५१ को मध्यावधि निर्वाचनले उनीहरूको फाटेको मनमा झन् ठूला धाँजा ल्यायो। ३ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र–१ मा खड्का, २ मा थानी र ३ मा शिवराज जोशीले टिकट पाए।
तर थानीको क्षेत्रमा टेकदत्त रेग्मी कांग्रेसबाट विद्रोही उम्मेदवार बने। खड्का निकटकाले उनलाई समर्थन गरेको हल्ला चल्यो र थानीलाई पराजित गरी एमालेका यमलाल कँडेल विजयी भए। स्थानीय तह निर्वाचनसम्म नमेटिएको खड्का–थानी तुष आगामी निर्वाचनबाट मेटिएला? मेटिएमा खड्कालाई समस्या छैन। तर मेटिएन भने जितका लागि खड्काले थप मिहिनेत गर्नुपर्ने हुन सक्छ ।
शाहीलाई पनि आफ्नैबाट सकस
कांग्रेस उपसभापति खड्काका प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाही मैदानमा छन्। तर शाहीलाई पनि सहज अवस्था भने देखिँदैन। उम्मेदवारको नाम सिफारिसका क्रममै एमालेभित्र मनमुटाव देखिएको थियो। एमालेले क्षेत्र–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ ध्रुवकुमार शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम सिफारिस ग¥यो। तर प्रतिनिधिसभा सदस्यका लागि दाबेदार रहेका डन्डीप्रसाद शर्माको नामै सिफारिसमा परेन। सोही कारण शाही र शर्मा पक्षबीचमा मनमुटाव देखिएको छ। डन्डी अघिल्लो पटक पनि टिकटका दाबेदार थिए। उनको नामसमेत सिफारिस भएको थियो। तर जिल्ला पार्टी अध्यक्षसमेत रहेका शाहीले टिकट पाए र वाम गठबन्धनका तर्फबाट निर्वाचित भए। 
यसपल्ट डन्डी किन पनि टिकटका बलिया दाबेदार हुन् भने उनी लामो समय एमालेको शिक्षक संगठनको नेतृत्वमा थिए। उनका दाइ ऋषि शर्मा (दिवंगत) को सुर्खेतमा एमाले निर्माणमा ठूलो योगदान छ। पारिवारिक विरासत तथा आफ्नो सांगठनिक अनुभवलाई देखाउँदै डन्डीले टिकटमा दाबी गरेका थिए। उनका दाइ ऋषि जनतामा निकै लोकप्रिय थिए। उनी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार थिए। तर शर्मालाई २६ चैत २०६४ मा भेरीगंगा नगरपालिकाको लोदेमा गाडीभित्रै गोली हानेर हत्या गरिएको थियो।
त्यसपछि सुर्खेत–१ मा २८ चैतमा तोकिएको निर्वाचन हुन सकेन। पछि वैशाखमा भएको निर्वाचनमा ऋषिपत्नी कमला निर्वाचित भइन्। त्यतिबेला खड्का समानुपातिकबाट सांसद छानिए। २०७० को संविधानसभा दोस्रो निर्वाचनमा भने खड्का सजिलै निर्वाचित भएका थिए। डन्डीको नामै सिफारिसमा नपरेपछिको तुष एमालेभित्र पनि देखिन्छ, जुन शाहीका लागि चुनौतीका रूपमा देखिएको छ।
स्थानीय तह निर्वाचनको परिणाम
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम केलाउँदा खड्का डराउनुपर्ने देखिँदैन। वडाध्यक्षहरूले ल्याएको मत केलाउँदा कांग्रेससँग ३६ हजार ९ सय २८ मत छ। त्यसैमाथि सत्ता गठबन्धन भएकाले माओवादीले ल्याएको ५ हजार ७७ मतसमेत जोड्दा एमालेसँग ८ हजार बढीको मतान्तर हुन्छ। एमालेबाटै चोइटिएको एकीकृत समाजवादीको ६ सय ७९ मत पनि खड्काकै खातामा जोडिने हो। स्थानीय तह निर्वाचनमा एमालेले ३४ हजार ८ सय ४३ मत पाएको छ। एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सघाउँदा मतान्तर २ हजार ५ सय ७० ले घटाउँछ।