मंगलबार, वैशाख २९, २०८३

गुल्मी–१ मा भण्डारी र ज्ञवालीको लुकामारी, यसपालि कसले मार्ला बाजी?

२३ वर्षदेखि चुनावी प्रतिस्पर्धामा होमिँदै आएका दुई नेतामध्ये भण्डारीलाई गठबन्धनको भरोसा छ भने ज्ञवालीले स्थानीय तह निर्वाचनमा पाएको मताधारलाई गणना गरेर आफ्नो जित हुने आकलन गरेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– गुल्मी–१ मा यस पटकको निर्वाचनमा पनि पुरानै प्रतिस्पर्धी मैदानमा छन्। २०६४ देखिका प्रतिस्पर्धी कांग्रेस नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिस्पर्धामा उत्रिएका छन्। 

National life

दुई नेताबीच निर्वाचित हुने लुकामारी पनि रोचक छ । २०६४ पछिका हरेक निर्वाचनमा कहिले भण्डारी त कहिले ज्ञवालीले पालैपालो बाजी मार्दै आएका छन्। गठबन्धनको जगमा यस पटक भण्डारी निर्वाचित भए लुकामारीले निरन्तरता पाउने निश्चित छ। २०६४ मा ज्ञवालीले बाजी मारेका थिए। तर २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने भण्डारीले जिते ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ज्ञवाली निर्वाचित भए। २३ वर्षदेखि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ। २०५६  देखि उनीहरू प्रतिस्पर्धामा छन्। त्यसयताका चार निर्वाचनमा ज्ञवाली तीन पटक निर्वाचित भएका छन्। २०५६, २०६४ र २०७४ मा ज्ञवालीले बाजी मार्दा २०७० मा भने भण्डारीले जितेका थिए।

भण्डारीलाई यस पटक सत्ता गठबन्धनको साथ छ। त्यस कारण दुई नेताबीच हारजितको लुकामारी पुनः एक पटक देखिने सम्भावना धेरै  छ। 

२०७४ को निर्वाचनमा ज्ञवाली ७ हजार बढी मतले विजयी भएका थिए। त्यो निर्वाचनमा तत्कालीन वाम गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले ज्ञवालीलाई सघाएको थियो। ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाएका थिए।  

pradeep_gyawali
प्रदीप ज्ञवाली।
तर यस पटक अवस्था फेरिएको छ। अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेत सामेल छन्। ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित ज्ञवालीका लागि अनुकूल देखिँदैन। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमाले बलियो देखिन्छ। एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो। माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६०० र नेकपा एसले ४९७ मत प्राप्त गरेका थिए। सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६६० बढी हो। यो गणित भण्डारीका लागि अनुकूल देखिन्छ।

गत स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिमा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ। यस्तै, प्रभाव क्षेत्र मानिने चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ । २०७४ को निर्वाचनमा प्रतिनिधिसभाका सबै सिट जितेको एमाले–माओवादी गठबन्धन अहिले छिन्नभिन्न छ। यसको असर स्थानीय तह निर्वाचनमै देखिएको थियो। गत स्थानीय तह निर्वाचनमा एमाले १२ पालिकामध्ये ३ वटामा खुम्चिएको छ। 

यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेस नेता घनेन्द्र कार्की र एमाले नेता चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता सदस्य फर्शुराम पाण्डेयले प्रतिस्पर्धा गर्दै छन्। 

उम्मेदवारी दर्तापछि यसो भने भण्डारी र ज्ञवालीले
उम्मेदवारी दर्तापछि भण्डारीले भनेका छन्, ‘गुल्मीलाई विकासको नमुना जिल्ला बनाउनेछौं।’ जिल्लाको समग्र विकास तथा भ्रष्टाचार उन्मूलनसँगै राष्ट्रिय स्वाधीनतालाई प्रमुख चुनावी एजेन्डा बनाउने उनको भनाइ छ। मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउन प्रतिनिधिसभामा आफूलाई खरो रूपमा प्रस्तुत गर्ने बताएका उनले गुल्मीका जनताले गठबन्धनलाई रोज्ने दाबी गरेका छन्। ‘नयाँ पुस्तामा मुलुक परिवर्तनको तीव्र आकांक्षा रहेकाले अब भाषण गरेर मात्र पुग्दैन, नयाँ पुस्ताको भावनाअनुसारको काम गर्नेछु,’ उनले भने।

ज्ञवालीले भने गुल्मीका जनताले पुनः आफूलाई विश्वास गर्ने आशा व्यक्त गरेका छन्। उनले सहयोगका लागि अपिलसमेत गरेका छन्। उनले भनेका छन्, ’यहाँहरूबाट विगतमा जस्तै माया, सद्भाव र सहयोगका लागि विनम्र आग्रह गर्दछु।’ 

पार्टी नेतृत्वको आलोचक र सहयोगीको प्रतिस्पर्धा
पार्टी राजनीतिमा दुई नेताको स्वभाव र गतिविधि हेर्ने हो भने ठ्याक्कै विपरीत देखिन्छ। मुलुकका दुई ठूला राजनीतिक दलमा क्रियाशील दुई नेतामध्ये एक जना पार्टी नेतृत्वको कटु आलोचकका रूपमा परिचित छन् भने अर्का सहयोगीको भूमिकामा।  

चन्द्र भण्डारी।
कांग्रेसमा भण्डारी सभापति शेरबहादुर देउवाका खरो आलोचक हुन्। उनले देउवाको कार्यशैलीलाई लिएर कयौं पटक सार्वजनिक रूपमै आलोचना गरेका छन्। गत वर्ष सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा भण्डारी देउवाको प्रतिस्पर्धी समूहबाट उपसभापतिको उम्मेदवार बनेका थिए। डा. शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बनेका उनी पूर्णबहादुर खड्कासँग पराजित हुन पुगे। सभापति देउवाले पदाधिकारीमा पराजित भएकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरे। तर भण्डारीलाई भने देउवाले केन्द्रीय समितिमा मनोनीत गरेनन्। 

ज्ञवाली भने एमाले अध्यक्ष केपी ओलीको सहयोगीका रूपमा परिचित छन्। ओली प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका ज्ञवाली सरकार सञ्चालनमा सहयोगी थिए। अहिले पार्टी सञ्चालनमा पनि ओलीका खास सहयोगीमध्येका एक हुन्, उनी। गत वर्ष मंसिरमा भएको एमालेको १०औं महाधिवेशनमा ज्ञवाली उपमहासचिव बनेका थिए। ओलीका हरेक गतिविधिमा ज्ञवालीले निकट रहेर साथ दिँदै आएका छन्।

हार्दिकतापूर्ण सम्बन्ध 
२३ वर्षदेखिका प्रतिस्पर्धी भण्डारी र ज्ञवालीले एकअर्काको आलोचना भने गरेको सुनिएको छैन। एकअर्काप्रति कुट आलोचना नगर्ने उनीहरूबीच हार्दिकतापूर्ण सम्बन्ध छ। एकले चुनाव जित्दा अर्काले खादा ओढाएर सम्मान गर्ने थिति दुई नेताले बसाएका छन्। २०७० मा भण्डारी निर्वाचित हुँदा ज्ञवालीले खादा लगाएर सम्मान गरेका थिए भने २०७४ मा भण्डारीले ज्ञवालीलाई त्यसै गरेका थिए। 

भण्डारी जिल्ला र क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्। जिल्ला र क्षेत्रमा घुमिरहने भण्डारी क्रियाशीलताको प्रशंसासमेत हुँदै आएको छ। बुटवलबाट प्रदेश राजधानी सार्न नहुने र लुम्बिनी टुत्र्mयाउन नहुने मागसहितको आन्दोलनमा भण्डारीले नेतृत्व गरेका थिए। यसको जस भण्डारीले लिँदै आएका छन्। तर विपक्षीले भने भण्डारी प्रचारमुखी नेता भएको आरोप लगाउने गरेका छन्। 

ज्ञवाली जिल्ला र क्षेत्रमा बेलाबखत मात्रै जान्छन्। सोही कारण केन्द्रीय राजनीतिमा समय दिएको र जिल्लालाई वास्ता नगरेको आरोप ज्ञवालीमाथि लाग्दै आएको छ। स्वयं एमाले नेता–कार्यकर्ताले समेत ज्ञवालीमाथि यस्तै आरोप लगाउने गरेका छन्। तर उनी शालिन र बौद्धिक नेताका रूपमा परिचित छन्। ज्ञवालीले निरन्तर काम गर्ने र प्रचार नगर्ने आफ्नो स्वभाव रहेको तर्क गर्दै आएका छन्। हार्दिकतापूर्ण सम्बन्ध रहेका दुई नेतामध्ये गुल्मीका जनताले कसलाई चुन्लान्? प्रतीक्षा ४ मंसिरको।

प्रकाशित: Oct 16, 2022| 15:55 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...