शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चीनको लगानीमा काठमाडौं-हेटौडा सुरुङमार्ग बनाउने सम्झौता

चीनको लगानीमा काठमाडौं-हेटौडा सुरुङमार्ग बनाउने सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग परियोजना विकासको लागि सम्झौता भइसकेको छ। 

परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनको निम्ति साउन दोस्रो साता संयुक्त विकास सम्झौता सम्पन्न भएको हो।
 
सम्झौताअनुसार पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिसतसम्म लगानी गर्ने सहमती गरेको छ। साथै पावर चाइनाले ७५:२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको कम्पनी सचिव प्रतापसिंह ठकुराठीले जानकारी दिए।

उनकाअनुसार नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक– पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव पेश गरिसकेको थियो।

सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ

पुनरावलोकन पश्चात परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४ प्रतिशत सुरुङ्ग तथा पुलले ओगट्ने भनिएको कम्पनीले जनाएको छ। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले उक्त प्रविधि मुलुकको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माण क्षेत्रमा नयाँ युगको थालनी हुने दावी गरेको छ।  

सन् २०१५ डिसेम्वरदेखि  लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङ्मा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई) सम्मेलनको अवसरमा ‘ईपीसी कन्ट्याक्ट’मा हस्ताक्षर भएको कम्पनीको भनाइ छ। 

उक्त हस्ताक्षर समारोहको अवसरमा तत्कालिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको थियो। कम्पनीकोअनुसार विश्व प्रसिद्ध पावर चाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन्। पावरचाइना सिनो हाइड्रोमार्फत नेपालमा विगत ३० वर्षदेखि जल विद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ। 

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौता पत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरिसकेको जानकारी कम्पनीले दिएको छ। 

निजि क्षेत्रद्वारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी (पीपीए) मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको भदौ १९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा भवन भट्टलाई कम्पनीको अध्यक्ष चयन गरेको जानकारी दिएको छ।

भट्ट गैर आवासीय नेपाली संघका अध्यक्ष समेत हुन। साथै बैठकले यहि पुष महिनामा उक्त कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको समेत जानकारी गराइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्