सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

बेनी- मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूले म्याग्दीलाई विकास र समृद्धि दिलाउने ‘एजेन्डा’ अघि सारेका छन्। हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ।

जिल्लाबाट अहिलेसम्म निर्वाचित सांसदले नियमित बजेटबाहेक पहुँच बढाएर विकास योजना र बजेट भित्र्याउन नसकेको आमगुनासो भइरहँदा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेताले विकास र समृद्धिलाई नै प्रमुख एजेन्डा बनाएका छन्।

सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा नेकपा (एमाले)ले पटक-पटक म्याग्दीको नेतृत्व गर्दासमेत जिल्लाको विकासमा कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यसपटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउँछन्। “म्याग्दीमा दिगो विकास चाहिएको छ, त्यसको खाका हामीले कोरेका छौँ, जनताको विकासप्रतिको चाहनालाई पूरा गर्ने एजेन्डा लिएर आएका छौँ”, उनले भने।

जिल्लाभरका सडकको अवस्था जीर्ण रहेको, शिक्षा र स्वास्थ्यको अवस्थासमेत सुधार गर्नुपर्ने भएकाले आफूले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुधारका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ। सत्ता गठबन्धनको मुख्य प्रतिस्पर्धी एमालेबाट उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण र कृषिलाई आत्मनिर्भर र व्यावसायीकरण गर्ने एजेन्डा लिएर उम्मेदवार बनेको बताए।  

सदरमुकामदेखि पालिका जोड्ने सडक कालोपत्र गर्ने, जिल्लामा सुस्तगतिमा रहेका गौरवका योजनालाई पूर्णता दिने र जिल्लाभित्र रहेको पर्यटन सम्भावनालाई उजागर गर्नतर्फ आफूले प्राथमिकता दिने श्रेष्ठले बताए। प्रदेशसभा सदस्यका मुख्य प्रतिस्पर्धीले समेत नीति निर्माणदेखि विकास निर्माणलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन्।

प्रदेशसभा  (क)मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी र (ख) का रेशम जुग्जाली (सुविन)ले समेत विकास निर्माण योजना भित्र्याउन गण्डकी प्रदेश सरकारसँग बलियो पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारद्वय भण्डारी र जुग्जालीले जिल्लाका आम नागरिकले विकास र समृद्धिको क्षेत्रमा जिल्लाको पहुँच नपुगेको अनुभूति गर्ने गरेको भन्दै त्यसलाई क्षतिपूर्ति हुने गरी नागरिकका आधारभूत विकासका चाहना पूरा गर्नेतर्फ आफूहरूको प्राथमिकता रहने बताउँछन्।

यता एमालेबाट प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख)का उम्मेदवार यामबहादुर गर्वुजाले नीति निर्माण तहमा सशक्त र प्रभावकारी भूमिकासँगै जिल्लाको विकासका एजेन्डालाई अघि सारेका छन्।

सडक, भवनलगायत पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार र खानेपानीको पहुँच विस्तार योजनालाई आफूले प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार केसीको भनाइ छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हरिबहादुर खत्रीले अहिलेसम्म चुनाव जितेका नेताले सडक, बाटो, विद्यालय बनाउँछौँ भनेर जनतालाई धोका दिएको बताउँदै युवापुस्ताको आवश्यकतानुसारको विकासलाई अघि बढाउने योजनासहिच आफू चुनावमा होमिएको बताए। 

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क)मा पाँच र (ख)मा छ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। रासस

प्रकाशित: Oct 15, 2022| 22:50 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।