काठमाडौं– मानिसको स्वभाव हुने गर्छ, सकभर १०० वर्षसम्म पनि बाँच्न पाइयोस्। तोकिएको उमेर अगाडि नमर्नु परोस्। तर समाज र घरपरिवार सबै एकनासे हुँदैन।
पारिवारिक तनाव, धनसम्पत्तिको जोहो नहुनु, दीर्घ रोगी हुनु, निरन्तर असफलताका कारण कोही मान्छे बीचमै मर्न चाहन्छ, विभिन्न विधि प्रयोग गरेर। तर कालगति नआई मर्छु भनेर पनि मान्छेले सुख पाउँदैन।
यस्तै भएको छ, रौतहटमा आत्महत्या गर्न रूखमा झुन्डिएका युवालाई। उनको मृत्युलाई प्रहरीले जोगाएको छ। बुधबार फतुवा विजयपुर नगरपालिका–५ वसन्तपुरका शेख राजा हुसेन मर्नकै लागि रुखमा पासो लगाए झुन्डिए।
निमको रुखमा नाइलनको डोरी लगाएर मृत्यु कुरेका २६ वर्षीय हुसेनलाई उद्धार गरेर प्रहरीले अस्पताल पुर्याएको छ। हुसेन घरायसी विवादका कारण घर नजिकै रहेको रुखमा झुन्डिएर मर्न खोजेका थिए। तर उनको मृत्युलाई प्रहरीले छेकबार लगाइदिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा प्रमुखसमेतको टोली जिल्लाको शान्ति–सुरक्षा अनुगमनका क्रममा हुसेनले झुन्डिएर मर्न चाहेको स्थल पुगेको थियो।
हुसेनले झुन्डिएर मृत्यु रोज्न लागेको रुख नजिकै खेलिरहेका नानीबाबुहरूले प्रहरीलाई खबर गरेपछि काल नआई कोही पनि मर्न सक्दैन भन्ने उखान चरितार्थ भएको छ।