आइतबार, पुस २१, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिन्धुली–१ : 'टेस्टेड' प्रदीपलाई सहज छैन घिमिरेसँगको प्रतिस्पर्धा

विगत निर्वाचनमा एमालेबाट विजयी उम्मेदवारले जिल्ला नहेरेको र अहिले सत्ता गठबन्धन कायम रहेकाले कांग्रेस आफूले जित निकाल्ने दाबी गरिरहेको छ भने कांग्रेसभित्रको घरझगडाको कारण हुन सक्ने सम्भावित अन्तरघातले आफूलाई सहज हुने एमालेको आकलन छ।
 |  शुक्रबार, असोज २८, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, असोज २८, २०७९

ntc landingntc landing

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे सिन्धुली–१ मा चुनावी प्रतिस्पर्धामा छन्। उनीसँग प्रतिस्पर्धामा छन्, यसअघिका प्रदेशसभा सदस्य एमाले नेता प्रदीप कटुवाल। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि चुनावी मैदानमा छन्। यद्यपि, सो क्षेत्रमा उनीहरूको माहोल त्यति उत्साहजनक देखिँदैन। 

himalayan bank box

सिन्धुली-१ मा मुख्य प्रतिस्पर्धी घिमिरे र कटुवाल नै हुन्। तर रोचक के भने यी दुवै उम्मेदवार २०७४ को चुनावमा प्रदेशसभामा भिडिसकेका प्रतिद्वन्द्वी हुन्। त्यसबेला यही निर्वाचन क्षेत्रको प्रदेशसभा (ख)मा एमालेका कटुवालले १६,६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका घिमिरेलाई ११,९५५ मत प्राप्त भएको थियो। यिनै प्रतिद्वन्द्वी एक तह बढेर अब प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन्।

अघिल्लो चुनावमा वाम गठबन्धनको सहयोगमा कटुवाल निर्वाचित भए पनि यस पटक उनलाई त्यति सहज देखिँदैन। पहिलाको तुलनामा अवस्था फेरिएको छ। अहिले सत्तारुढ गठबन्धनका कारण कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मत घिमिरेले पाउने देखिन्छ। जसमा अन्य दलको कम मत रहे पनि माओवादी मत निर्णायक हुन सक्ने स्थानीय राजनीतिका जानकारहरू बताउँछन्। 

विगत निर्वाचनमा एमालेबाट विजयी उम्मेदवारले जिल्ला नहेरेको र अहिले सत्ता गठबन्धन कायम रहेकाले कांग्रेस आफूले जित निकाल्ने दाबी गरिरहेको छ भने कांग्रेसभित्रको घरझगडाको कारण हुन सक्ने सम्भावित अन्तरघातले आफूलाई सहज हुने एमालेको आकलन छ।

सिन्धुली–१ को वडागत मतलाई आधार मान्दा एमाले सबैभन्दा अगाडि देखिन्छ। यो क्षेत्रमा  जम्मा ४१ वटा वडा पर्छन्। दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ नम्बर वडा यसमा पर्छन्। गत स्थानीय तह चुनावमा आएको वडा तहको नतिजा हेर्दा कांग्रेस २१ वटा वडा जितेर अगाडि देखिन्छ। यद्यपि मत संख्या हेर्दा भने एमाले ३ हजारले अगाडि छ। तर सत्ता गठबन्धनका कारण एमालेलाई सो मत मात्र जितका लागि पर्याप्त हुने देखिँदैन।

स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्दा यो क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार ३३ मत पाएका छन् भने कांग्रेसका वडाध्यक्षहरूले २७ हजार ६ सय ८२ मत ल्याएका छन्। त्यस्तै, माओवादीले १३ हजार ३ सय ६९ मत पाएको छ। कांग्रेस र माओवादीका वडाध्यक्षहरूले पाएको मत मात्र जोड्दा ४१ हजार ५१ मत हुन आउँछ, जुन एमाले एक्लैका लागि भारी हो। आगामी संसदीय निर्वाचनमा पनि यही आधारमा मत खस्ने हो भने एमाले करिब ११ हजार हाराहारी मतले पछि पर्ने देखिन्छ।

२०७४ को चुनावमा एमाले र माओवादीले यसैगरी तालमेल गर्दा एमालेले करिब १० हजार मतको अग्रतासहित नतिजा आफ्नो पोल्टामा पारेको थियो। त्यसबेला एमालेका गणेश पहाडी ३२ हजार ५ सय २९ मत ल्याएर विजयी बनेका थिए। पहाडीले कांग्रेसका प्रेमचन्द्र दाहाललाई करिब १० हजार बढी मतले हराएका थिए। तर यस पटक तालमेल एमालेको विपक्षमा रहेकाले कटुवालका लागि घिमिरेसँगको प्रतिस्पर्धा त्यति सहज देखिँदैन।

‘टेस्टेड’ प्रदीपको चुनौती घिमिरेलाई अवसर
एकातिर सिन्धुली–२ का जनताका लागि आफू ‘टेस्टेड’ भइसकेको र अर्कोतर्फ सत्ता गठबन्धन रहेकाले प्रदीप कटुवालका लागि प्रतिनिधिसभाको चुनाव चुनौतीपूर्ण छ। तर एमाले भने कांग्रेसभित्रको घरझगडाको कारण हुन सक्ने सम्भावित अन्तरघातले आफूलाई सहज हुने आकलन गरिरहेको छ। अर्कोतर्फ प्रदेशको सभासद् र स्वास्थ्यमन्त्री हुँदा प्रदीप कटुवालले क्षेत्रका लागि ‘व्यापक’ काम गरेको दाबी गर्दै एमाले चुनावमा होमिएको छ। 

सिन्धुलीका हरेक ठाउँमा बाटो बनाउन एमालेले पहल गरेको, स्कुल र अस्पतालजस्ता भौतिक पूर्वाधारका काम आफ्नो पहलमा भएको दाबी कटुवालको छ। सिन्धुली–भीमस्थान–चकमके जाने बाटो स्तरोन्नतिका लागि तीन चरणको टेन्डर त्यहाँ भइसकेको दाबी उनको छ। तर जति पटक टेन्डर भए पनि सो बाटोको स्तरोन्नति नभएको गुनासो जनताको छ। किनकि, पानी पर्नासाथ गाडीले जोखिम मोलेरै हिँड्नुपर्ने अवस्था सो सडक खण्डको यथार्थ हो।

त्यस्तै, कटुवालले वडा कार्यालयदेखि हरेक वडामा बनेका स्वास्थ्य चौकी र अन्य भौतिक संरचना आफ्नै पहलमा बनेको दाबी गर्छन्। ‘म स्वास्थ्यमन्त्री हुँदा विशेषगरी क्षेत्र–१ का अस्पतालमा विभिन्न सुधारको काम गर्न मिहिनेत गरेको र प्रत्येक वडामा १५ शय्याको अस्पताल निर्माण गरेको, प्रविधिक शिक्षालय सुधारका लागि काम गरेको छु,’ कटुवालले भनेका छन्। 

तर कांग्रेस भने यी कुरालाई ठाडै नकार्छ। कटुवालले स्वतः भइरहेको विकासलाई आफूले गरेको भनेर दाबी गरेको र प्रदेश सभासद् रहँदा गर्नुपर्ने/गर्न सकिने काम नगरेको भन्दै कांग्रेस चुनावी मैदानमा छ।

कटुवालले शिक्षा/स्वास्थ्य क्षेत्रमा सुधारको काम गरेको दाबी गरे पनि यथार्थमा त्यस्तो भएको देखिँदैन। राम्रो शिक्षा दिन अहिले पनि पहिलेझैं जोखिम बाटो पार गरेर सदरमुकाममा केटाकेटी पठाउनुपर्ने बाध्यता रहेको स्थानीय भोजराज श्रेष्ठले बताए। त्यस्तै, अवस्था स्वास्थ्य क्षेत्रमा पनि रहेको उनको भनाइ छ।

अर्कोतर्फ कटुवालले प्रदेश सभासद् रहँदा प्रदेशसभामा एक पटक पनि सिन्धुलीको आवाज नबोलेको गुनासो जनतामा छ। यसअघि प्रतिनिधिसभाका प्रतिनिधि बनेका गणेश पहाडीले पनि जोडतोडले सिन्धुलीको आवाज उठाएको पाइँदैन। संघीय र प्रदेशसभामा एमालेका दुवै प्रतिनिधिको फितलो प्रस्तुति रहेको थियो। यिनै विषयलाई चुनावी प्रचारको क्रममा घरघरमा लैजाने रणनीति कांग्रेसको छ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेता मुकेश घिमिरे पहिलाको तुलानमा कटुवालको आकर्षण घटेकाले पनि आफूहरूलाई थप फाइदा हुने बताउँछन्। उनी भन्छन्, ‘यसअघि सभासद् निर्वाचित हुँदा प्रदीपजीले प्रदेशसभामा सिन्धुलीको आवाज नउठाएको गुनासो जनतामा छ। विकासमा भन्दा पनि प्रचारबाजीमा रमाउने, माथिका राजनीतिक नेतृत्वसँग पनि पहुँच कम भएको, विकासका एजेन्डा ल्याउन नसकेको, जनताका बीचमा असफल सांसद भएर पाँच वर्ष झेलिसकेकाले जनतामा पहिलाभन्दा उहाँको आकर्षण घटेको छ। त्यसमाथि हामीले पनि एउटा संसद् भएर गर्न सक्ने सबैखाले कामलाई आफ्नो एजेन्डा बनाएर घरघर गइरहेका छौं। अर्कोतर्फ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा एक भएकाले कांग्रेसलाई सहज छ।’

प्रकाशित: Oct 14, 2022| 07:38 शुक्रबार, असोज २८, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...