काठमाडौं– ४ कात्तिकमा रिलिज हुन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ।
चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले नालापानीलाई कर छुट दिन पहल सुरु गरेको बताएका हुन्।
‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट दिने व्यवस्था मिलाउन अनुरोध गरेको छु। सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको र बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटका लागि योग्य देखिएकाले पहल सुरु गरेको हुँ। यति मात्रै नभई हलमा देखाइने विज्ञापनलगायतमा पनि सहजीकरणका लागि पहल गरिरहेको छु।’
केसीले राष्ट्रिय गौरवका चलचित्र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्य बोर्डले राखेको बताए। केसीले बोर्डले ‘नालापानी’लाई उपलब्ध सबै सुविधा दिइने उल्लेख गरे।
नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन लागेकामा खुसी व्यक्त गरे। उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र बोर्ड अध्यक्षसहितको बैठकमा यो चलचित्रलाई सुविधा दिने विषयमा छलफल भयो। सचिवले विज्ञापनका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले स्थानीयसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ। यस विषयमा बोर्ड अध्यक्ष केसीले देखाउनुभएको अग्रसरताबाट खुसी छु।’
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो।
यसमा वीरयोद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने विषयलाई उजागर गरिएको छ।