काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिइसकेका छन्। त्यसमा पनि शीर्ष नेताहरूको निर्वाचन क्षेत्रलाई विशेष चासोको साथ हेरिएको छ।
स्वतन्त्र उम्मेदवार र शीर्ष नेताहरूकै दबदबा रहेको काठमाडौंको हरेक क्षेत्रलाई उत्तिकै महत्त्वका साथ हेरिने गरिन्छ। यसैमध्येमा पर्छ– काठमाडौं–१।
काठमाडौंको अन्य क्षेत्रको तुलनामा १ नम्बरमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ। आइतबार भएको मनोनयनका क्रममा यो क्षेत्रमा ३२ जनाको उम्मेदवारी परेको हो। यीमध्ये पुरुष २२ र महिला १० जना छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै महिला उम्मेदवार रहेको क्षेत्र पनि यही हो।
यो क्षेत्रमा निरन्तर चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि उम्मेदवार छन्। उनीसँगै काठमाडौं–१ मा राप्रपाका रवीन्द्र मिश्र, एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, सुशासन पार्टीबाट रमेश खरेललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।
२०७४ को चुनावमा प्रकाशमानको चुनौती बनेका थिए, मिश्र। त्यसबेला उनलाई तत्कालीन विवेकशील साझाबाट उठेका मिश्रले टक्कर दिएका थिए। सिंह ८१९ मतान्तरले मात्र विजयी भए। उनले १० हजार ९३७ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। तर अहिले उनको ‘क्रेज’ पहिलाजस्तो छैन। त्यसैले कांग्रेसले आफ्नो प्रतिस्पर्धी फेरिएको बुझेको देखिन्छ।
सोही क्षेत्रको प्रदेश ‘क’मा कांग्रेसबाट उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठ यस पटक मिश्रलाई प्रतिस्पर्धीको रूपमा नहेरिएको बताउँछन्। पहिला वैकल्पिक प्रजातान्त्रिक दल बनाउने भनेर आएकाले जनताको एकखाले क्रेज भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनले बताए।
‘उहाँ आफैं केहीमा अडिग रहन सक्नुभएन। पार्टी फेर्दै फन्डा गर्दैै हिँड्नुभयो। जनताले त्यत्रो मत दिँदा पनि प्रतिपक्षको राम्रो भूमिका खेल्न सक्नुभएन। त्यसैले यस पटक हाम्रो प्रतिस्पर्धी बरु एमाले नै हो,’ श्रेष्ठले नेपाल समयसँग भने, ‘हामीले राज्यले केही नगर्दा पनि कोभिड कालमा गरेका काम अनि अन्य विकासका काम देखाएर मैदानमा छौं। बरु पहिलाभन्दा यस पटक झन् सहज देखिन्छ।’
एकातिर सिंहले काम गरेको दाबी गरे पनि अर्कोतर्फ लगातार तीन पटक चुनाव जित्दा अपेक्षाअनुरुप काम गर्न नसकेको आरोप उनीमाथि छ। यही कुरालाई चुनावी एजेन्डा बनाउने अन्य उम्मेदवारको योजना छ।
रास्वपा उम्मेदवार पुकार बम भारी मतले आफूले जित्ने दाबी गर्छन्। गत स्थानीय तह चुनावको समयमा झैं लहर आउनेमा बम ढुक्क देखिन्छन्। उनले करिब ११ देखि १२ हजार मत आउने दाबी गरिरहेका छन्। राप्रपा उम्मेदवार मिश्र र एमालेका पौडेल पनि जित्नेमा ढुक्क रहेको दाबी गर्दै आएका छन्। यसलाई लिएर नेताहरूबीच भनाभनसमेत चल्न थालेको छ।
जस्तो, केही समयअघि सिंहले आफ्नो नेतृत्वमा स्थापना भएको दललाई एक–दुई वर्ष टिकाउन नसक्नेले काम गरेर देखाउन सक्लान् भन्दै मिश्रमाथि व्यंग्य गरेपछि उनले प्रतिप्रश्न गरेका थिए। सिंहले शनिबार एक कार्यक्रममा काठमाडौं–१ का सम्भावित प्रतिस्पर्धीमाथि प्रश्न उठाएका थिए। आइतबार मात्रै मिश्रले सिंहलाई १५ प्रतिप्रश्न गरे।
‘संसद् चलेको कुल कति दिन उपस्थित हुनुभयो? अनुपस्थित भएका दिनको भत्ता लिनुभयो कि भएन? पूर्वाधार विकास, सम्पदा संरक्षणलगायतका विषयमा के बोल्नुभयो, के गर्नुभयो?’ भन्दै प्रश्न मिश्रले गरे। यी र यस्तै प्रश्न लिएर उनी मैदानमा जाने देखिन्छ। तर मिश्रले पहिलाजस्तो मत नपाउने स्थानीय राजनीतिक जानकारले बताइरहेका छन्। बरु राम्रो प्रतिस्पर्धी नहुँदा र गठबन्धनको सहयोगको कारण पनि सिंहले सहजै चुनाव जित्ने विश्लेषण भइरहेको हो।
यस्तो छ अंकगणित
यो क्षेत्र काठमाडौं महानगरको चार वडा (१०, ११, २९ र ३१) मिलेर बनेको छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षतर्फको दलहरूको मत हेर्दा कांग्रेस नै अगाडि देखिन्छ।
जस्तो, वडा–१० मा कांग्रेसले ३ हजार ४२८ मत ल्याउँदा एमालेको १ हजार ९५३ र राप्रपाको ३२९ मत खसेको थियो भने माओवादीले २४३ र विवेकशील साझाले ५३ मत पाएका थिए।
त्यस्तै, वडा–११ मा कांग्रेसले १ हजार ५५५ मत पाउँदा एमालेले ९५०, राप्रपाले २५२, माओवादीले ११६ र विवेकशील साझाले १४१ मत पाएका थिए। वडा–२९ मा पनि कांग्रेसले नै जितेको थियो। कांग्रेसले १ हजार ९२१ मत ल्याउँदा एमालेले १ हजार ८७१, राप्रपाले २१० र माओवादीले १०४ मत पाएको थियो।
वडा–३१ मा भने एमाले अघि देखिन्छ। यो वडामा एमालेले ४ हजार ७६७ मत पाउँदा कांग्रेसले २ हजार ९९१, राप्रपाको ५८५, माओवादीको ६४६ र विवेकशील साझाको ७९ मत खसेको थियो।
यसरी स्थानीय तह चुनावमा वडाध्यक्षतर्फको कुल मत हेर्दा कांग्रेसको ९ हजार ८९५ देखिन्छ भने एमालेको ९ हजार ५४१ देखिन्छ। त्यस्तै, राप्रपाले १ हजार ३७६ मत पाएको थियो।
अर्कोतर्फ प्रकाशमानलाई सधैं फापिरहेको क्षेत्र हो, यो। यो क्षेत्रमा चुनाव लड्न थालेदेखिं उनी निरन्तर विजयी हुँदै आएका छन्। यो क्षेत्रमा आउनुअघि सिंह काठमाडौं–४, काठमाडौं–३ बाट चुनाव लडे पनि पराजित बन्न पुगेका थिए।
२०४८ मा सिंह काठमाडौं–४ मा चुनाव लडे पनि एमाले उम्मेदवार सहाना प्रधानसँग पराजित भएका थिए। त्यस्तै, २०५१ को चुनावमा काठमाडौं–३ मा एमालकै मनमोहन अधिकारीसँग पराजित भए। त्यसपछि २०५६ को चुनावमा सिंह चुनावै लडेनन्।
२०६४ बाट भने काठमाडौं–१ लाई सिंहले आफ्नो चुनाव क्षेत्र बनाए। त्यसयता उनी निरन्तर विजयी भएका छन्। पहिलो संविधानसभा निर्वाचनमा माओवादीको लहर चल्दासमेत सिंह १४ हजार ३१८ मतका साथ निर्वाचित भए। त्यसबेला एमालेका प्रदीप नेपालले ६ हजार ७८९ मत पाएका थिए भने माओवादीका राममान श्रेष्ठले ४ हजार ८३६ मत पाएका थिए।
२०७० मा पनि सिंह सोही क्षेत्रबाट विजयी बने। उनले माओवादीकी रेनु दाहाललाई १५ हजार १३८ मत ल्याई पराजित गरे। प्रचण्डकी छोरीसमेत रहेकी रेनुले त्यसबेला ४ हजार ६४ मत पाएकी थिइन्। २०७४ मा एमाले र माओवादीले वाम गठबन्धन गर्दा पनि सिंह रोकिएनन्। यसरी हरेक पटक निर्वाचित बनेका सिंहले यस पटक पनि काठमाडौं–१ मा बाजी मार्ने बताइरहेका छन्।
तर अन्य प्रतिस्पर्धीहरूले शान्तिनगर, शंखमूल र थापाथलीको बागमती किनारमा सुकुम्बासी बस्तीको मत काटिने भएकाले सिंहलाई गाह्रो हुने विश्लेषण गर्दै आफ्नो तयारी बढाइरहेका छन्। उक्त भूभागमा करिब ३ हजार देखि ५ हजार मतदाता छन्। तीन पटकसम्म जित्दा पनि सुकुम्बासी बस्तीका समस्या समाधान नभएका कारण यो मत आपूmहरूले पाउने आकलन उनीहरूको छ।