शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • सर्लाही १ मा कांग्रेसका दु:ख– स्थानीय तहमा क्लिनस्विप, अहिले उम्मेदवारविहीन

सर्लाही १ मा कांग्रेसका दु:ख– स्थानीय तहमा क्लिनस्विप, अहिले उम्मेदवारविहीन

'बर्खामा धान रोप्यौं, दु:ख गर्‍यौं, मंसिरमा बाली अर्कैले थन्क्यायो,' सर्लाहीका कांग्रेस नेता प्रशान्त आचार्य भन्छन्। कांग्रेस लालबन्दी नगरका सभापतिसमेत रहेका आचार्यले सर्लाही-१ को चुनावी समीकरणलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
 |  बुधबार, असोज २६, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, असोज २६, २०७९

काठमाडौं- 'बर्खामा धान रोप्यौं, दु:ख गर्‍यौं, मंसिरमा बाली अर्कैले थन्क्यायो।' सर्लाहीका कांग्रेस नेता प्रशान्त आचार्यको भनाइ हो यो। कांग्रेस लालबन्दी नगरकासभापति समेत रहेका आचार्यले सर्लाही-१ को चुनावी समीकरणलाई लिएर माथिको टिप्पणी गरेका हुन्। यसपटकको निर्वाचनमा सर्लाही-१ प्रतिनिधिसभा र दुवै प्रदेशसभामा रुख चिह्न हुने छैन। कारण- सत्ता गठबन्धनले चुनावी तालमेल गर्दा प्रतिनिधिसभा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), प्रदेश (क) पनि लोसपा र प्रदेश (ख) नेकपा एकीकृत समाजवादीको भागमा पर्‍यो। जसका कारण सर्लाही-१ को प्रत्यक्षतर्फको निर्वाचन रुख चिन्हविहीन बनेको छ। जसका कारण कांग्रेसका मतदाता निराश देखिन्छन्।   

triton college

स्थानीय तहको निर्वाचनमा भने यो निर्वाचन क्षेत्रमा कांग्रेसले 'क्लिनस्वीप' गरेको थियो। सर्लाही-१ मा चन्द्रनगर नगरपालिका, ईश्वरपुर नगरपालिकाका १ देखि १४ नम्बर वडा, लालबन्दी नगरपालिका, कविलासी नगरपालिकाका १, २ र ७ नम्बर वडा र हरिपुर नगरपालिका २ देखि ८ नम्बर वडा समेटिएका छन्। चारवटै पालिकाका प्रमुख कांग्रेसले जितेको छ। बहुमत वडामा पनि कांग्रेस विजयी भएको छ। तर स्थानीय तहको निर्वाचनको परिणामलाई बेवास्ता गर्दै प्रतिनिधसभा र प्रदेशसभा लोसपा र नेकपा एसलाई छाडेपछि कांग्रेस कार्यकर्ता निराश बनेका हुन्।  

'स्थानीय तहको परिणामलाई अवमूल्यन गरियो। यसपटक हामीले सहज जित निकाल्थ्यौं। यो क्षेत्र कांग्रेसको किल्ला बन्थ्यो। तर पार्टीले अन्याय गर्‍यो। प्रत्यक्षमा रुख चिन्ह देख्‍न पाइएन। अब कहाँ हाल्ने भोट?,' सर्लाही-१ का एक कार्यकर्ताले गुनासो गरे। 

कार्यकर्ता मात्रै होइन, नेताहरु पनि निराश र हतास देखिन्छन्। गठबन्धनका नाममा पार्टीले गरेको निर्णयमा उनीहरुको चित्त बुझ्‍न सकिरहेको छैन। तर पनि गठबन्धनलाई जिताउनुपर्ने बाध्यतामा आफूहरु रहेको उनीहरुको कथन छ। सर्लाही-१ मा थोपरिएको गठबन्धनको भारीलाई उनीहरुले अन्यायको पराकाष्ठाका रुपमा अर्थ्याइरहेका छन्।  

'यसपटक हामीमाथि अन्याय भयो। यो त अन्यायको पराकाष्ठा नै हो,' सर्लाही-१ का क्षेत्रीय सभापति हरि लुङ्गेलीले भने, 'हामी निराश छौं। कार्यकर्तामा निराशासँगै कन्फ्युजन छ।' प्रतिनिधिसभा नभए कम्तिमा प्रदेशमा कांग्रेसले भाग पाउने अपेक्षा रहे पनि अन्तिममा कांग्रेस शून्य बन्‍न पुगेको उनी बताउँछन्। प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेस शून्य हुँदा संगठन गर्ने अवसर पनि गुमेको उनको तर्क छ। 'हाम्रासामु यसपटक संगठनलाई बलियो बनाउने अवसर थियो। त्यसबाट हामी बञ्चित भएका छौं। संघमै हाम्रो बलियो दाबी थियो। यदि संघ नभए प्रदेशमा त छुटाउँदैनौं भनेर नेताहरुले भन्नुहुन्थ्यो। तर अन्तिममा निर्वाचन चिह्नविहीन हुनुपर्ने अवस्था आइलाग्यो,' उनले भने। 

corrent noodles
Metro Mart

कांग्रेस एकल प्रतिस्पर्धा गर्दा पनि जित्‍ने अवस्था रहे पनि पार्टी नेतृत्वले क्षेत्र छाडेर कार्यकर्तामाथि अन्याय गरेको दाबी उनको छ। 'हामी एकल प्रतिस्पर्धा गर्दा पनि जित्‍ने थियौं। स्थानीय तहमा प्राप्त नतिजाले प्रष्ट देखाउँछ। अहिले त रुखमा भोट हाल्ने अवसरबाटै बञ्चित हुन पुग्यौं,' उनले भने, 'यसो हुनुमा जिल्ला नेतृत्वदेखि केन्द्रीय नेतृत्वसम्मको दोष छ। स्वार्थपूर्ति गर्ने खेल पनि खेलिएकै थिए। अब मतदातालाई के जवाफ दिने? कार्यकर्तालाई कसरी सम्झाउने? संगठन कसरी गर्ने?'

'बर्खामा धान रोप्यौं, दु:ख गर्‍यौं, मंसिरमा बाली अर्कैले थन्क्यायो,' सर्लाहीका कांग्रेस नेता प्रशान्त आचार्य भन्छन्। कांग्रेस लालबन्दी नगरका सभापतिसमेत रहेका आचार्यले सर्लाही-१ को चुनावी समीकरणलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।

सर्लाही-१ प्रदेशसभा (ख) का कांग्रेस सभापति सीताराम दाहालले गठबन्धनको निर्णयले संगठन नै सखाप हुने स्थिति पैदा हुन सक्ने बताए। उनले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिट छाडेर पार्टीले गम्भीर गल्ती गरेको तर्क गरे। 'गठबन्धनमा जाँदा तीन वटै सिट छाड्न हुँदैनथ्यो। यसले त संगठन नै सखाप हुन सक्छ। यो पार्टीको गम्भीर गल्ती हो। लोसपाले क्षेत्रभर ईश्वरपुर नगरपालिकामा २ वटा वडा मात्रै जितेको छ। कांग्रेसले सबै भोट दिएर जिताउनुपर्ने अवस्था छ,' उनले भने, 'पार्टीले लिएको निर्णयविरुद्ध जान सक्ने अवस्था पनि रहेन। पार्टीमा जोडिएका युवाहरुको भविष्य मासेर स्वतन्त्र उठ्ने कुरा पनि भएन। बहुत दोधारमा छौं।'

तीन वटै सिट छाड्ने पार्टिको निर्णय खेदजनक हुँदाहुँदै पनि बाध्यात्मक अवस्थाका कारण गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने स्थिति रहेको लालबन्दीका नगर सभापति आचार्यको मत छ। संगठनमा छाएको निराशा र पीडाबोध मनमा गुम्साएर कार्यकर्तालाई सम्झाउनु परिरहेको आचार्यले   सुनाए। 'पार्टी गठबन्धनमा छ। त्यसकारण गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बाध्यात्मक अवस्था छ। तर बलियो संगठन र जनाधार हुँदाहुँदै पनि सबै सिटमा पार्टी शून्य हुनु भनेको खेदजनक कुरा हो,' उनी भन्छन्, 'जति जे-जे भए पनि बाध्यताले काम गर्नुपरेको छ। कि पार्टी छाड्नुपर्‍यो। होइन भने कार्यकर्तालाई कन्भिन्स गर्ने र गठबन्धन जिताउन लाग्ने कुराको विकल्प छैन।'

को-को छन् उम्मेदवार, कस्तो छ गणित?
सर्लाही-१ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका रामप्रकाश चौधरी चुनावी मैदानमा छन्। नेकपा एमाले र जसपाबीच गठबन्धनबाट जसपाका प्रमोद साह उम्मेदवार बनेका छन्। प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र एमाले-जसपा गठबन्धनबाट जसपाका अहमत मिया मुकेरी चुनावी मैदानमा छन्। प्रदेशसभा (ख) मा सत्ता गठबन्धनले नेकपा एसका वेची लुङ्गेलीलाई अघि सार्दा एमाले-जसपाबाट एमालेकी शान्तिकुमारी लामालाई अघि सारेका छन्। 

०७४ सालको निर्वाचनमा सर्लाही-१ मा जसपाका प्रमोद साह निर्वाचित भएका थिए। उनले २२ हजार ३६ मत ल्याउँदा एमालेका ध्रुवप्रसाद गौतमले २१ हजार ४६५ मत प्राप्त गरेका थिए। प्रदेशसभा (क) मा उपेन्द्र महतो विजयी भएका थिए। उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए। उनले १२ हजार ६०३ ल्याएका थिए। प्रदेशसभा (ख)मा वेची लुङ्गेली १५ हजार ३६३ मत ल्याएर विजयी भएका थिए। उनी नेकपा एमालेका तर्फबाट विजयी भएका थिए। 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले २५ हजार ८३२ मत प्राप्त गरेको छ। दोस्रोमा रहेको एमालेले १७ हजार ८१९ मत प्राप्त गरेको थियो। माओवादीले १५ हजार ९९५ मत ल्याएको थियो। रोचक त के छ भने स्थानीय निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो मत ल्याएका पार्टीबाट यो क्षेत्रमा प्रतिनिधिसभामा उम्मेदवार छैन। नेकपा एसले ६ हजार ४१ मत ल्याएको थियो भने जसपाले ४ हजार ९७१, राप्रपाले १ हजार ५३ र जनमत पार्टीले ६८१ मत प्राप्त गरेका थिए। 

प्रकाशित: Oct 12, 2022| 14:40 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...