भैरहवा- प्रदेश नम्बर ५ को पर्यटकीय केन्द्र लुम्बिनी र प्रदेश नम्बर ४ को पर्यटकीय केन्द्र पोखरालाई सिधा जोडेने गरी लुम्बिनी पोखरा पर्यटकीय बस सेवा शुरु भएको छ।
भिआईपि डिलक्स बस सेवाको शुरुवातसँगै लुम्बिनी आउने पर्यटकलाई पोखरा जान र पोखरा आएका पर्यटकलाई लुम्बिनी जान सहज हुने विश्वास लिईएको छ।
सिद्धार्थ बस ब्यवसायी समिति भैरहवा र जगदम्बा ट्राभल्स प्रा.लि. पोखराले लुम्बिनी पोखरा आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सिधा बस सेवा संचालन गरेको सिद्धार्थ बस व्यवसायी समितिका अध्यक्ष सँजिब रोक्काले बताए।
बस सेवाको शुभारम्भ गर्दै लुम्बिनी सास्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले आन्तरीक र बाह्य पर्यटन प्रबद्र्धनमा स्तरीय पर्यटक बस सेवाले महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिएका छन्।
पोखरा काठमाण्डौं, पोखरा सौराहा हुदै पोखरा लुम्बिनीलाई सडक यातायातमा जोड्नको लागि सुविधा सम्पन्न बस सेवा आवश्यक भएको देखेर स्तरीय बस सेवा सन्चालन गरेको जगदम्बा ट्राभल्सका अध्यक्ष केशब अधिकारीले जनाए। स्तरिय पर्यटकीय बस सेवामा रीमोट कन्ट्रोलबाट संचालन गर्न सकिने २० सिटे स्लिपर सिट रहेका छन् । बसमा पुर्ण रुपमा वातानुकुलित एयर कन्ट्रोलर सिस्टम रहेकोछ।
लामो दुरीको बसमा हिड्दा कतिबेला पुगीन्छ भन्ने ठेगान नभएको बेला सुविधा सम्पन्न बस सेवाको सञ्चालनले यात्रुहरुलाई सुविधा पुग्ने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) प्रदेश नम्बर ५ का महासचिव चन्द्र बहादुर थापामगरले जनाए। उनले भने ‘हामीले पर्यटकले राम्रो गाडी खोज्दा दिन सकिरहेका थिएनौं अब स्तरीय बस सेवा सन्चालनसंगै हामी पर्यटन व्यवसायीलाई पनि सेवा प्रवाह गर्न सहज हुने भयो। ’
हरियो प्लेटको उक्त गाडी आन्तरीक र बाह्य पर्यटककोलागी प्रयोग हुने समितीले जनाएको छ। उक्त बसको टिकट सिद्धार्थको काउन्टरबाट पाउने व्यवस्था गरिएको छ।
यात्रुको लागि उक्त बस भित्र विहान नास्ता, चिया, कफि, कोलड्रिङसको साथमा मध्यम गन्तव्यमा खानाको समेत व्यवस्था छ । हाल एक करोड ५० लाखको लगानीमा दुई वटा बस सेवा हाल संचालनमा आएको हो।
लुम्बिनी पोखरा बस सेवा विगतमा पनि नभएका होइनन् तर ती टिकाउ हुन सकेनन्। केही समय अघि पोखराका पर्यटन व्यवसायिहरुकै पहलमा पोखरा लुम्बिनीको लागि पर्यटक स्तरिय सिधा बस सेवा संचालनको प्रयास भए पनि विभिन्न याताताय समितिहरुको सिण्डिकेटका कारण सेवा संचालन हुन सकेको थिएन। त्यो भन्दा केही वर्ष अगाडी सिद्धार्थ यातयात व्यवसायी समितीलेनै लुम्बिनीबाट काठमाण्डौ पोखराका लागी स्तरिय एसी बस सेवा सुरु गरेका थियो।
हाल पश्चिम नेपाल बस ब्यवसायी समितिले पनि सलिना बस मार्फत स्तरिय सेवा दिदै आएको छ। उता सिद्धार्थ यातायात प्रालिले चाडै नै भैरहवा लुम्बिनी बुटवल एसी बस सँचालन गर्न लागेको प्रालीका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए। उनले लुम्बिनी काठमाण्डौ सुबिधायुक्त एसी बस सेवा सुरु भैसकेको र अन्य क्षेत्रमा पनि स्तरिय बस सेवा सँचालन गरिने बताए। पर्यटककोलागी भैरहवा पोखरा नियमित हवाई यातयातको पनि व्यवस्था रहेको छ।
बेलहिया नाका हुदैं नेपाल भित्रिने अधिकांश पर्यटकको गन्तब्य पोखरा रहदै आएको छ। भारतीय पर्यटकहरु पोखरामा अधिक संखयामा जाने गरेको देखिन्छ । यसैले पश्चिमान्चल होटल एशोसियसन पोखराले हरेक वर्ष भारतका विभिन्न शहरमा चलिय पोखरा भन्ने कार्यक्रम नै गर्ने गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४