काठमाडौं- नेपाली कांग्रेसको राजनीतिमा शेरबहादुर देउवा र डा. मीनेन्द्र रिजाल लामो यात्राका सहयात्री हुन्। देउवा अहिले कांग्रेसको सभापति तथा मुलुकको प्रधानमन्त्री छन्। तर सहयात्री मीनेन्द्रलाई भने देउवाले राजनीतिक किनारामा पारिदिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा मीनेन्द्रलाई पाखा पारेर देउवाले सुजाता कोइरालालाई टिकट दिएका छन्। मीनेन्द्र मोरङ-२ बाट २०७४ सालमा निर्वाचित भएका थिए। तत्कालिन बाम गठबन्धनले देशभर जित्दा कांग्रेसबाट निर्वाचित भएका २३ जनामध्येका एक थिए मीनेन्द्र। तर यसपटक भने मीनेन्द्र टिकटबाट बञ्चित भएका छन्।
कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले मोरङ-२ बाट चुनाव लड्दै आएका थिए। सोही क्षेत्रमा मीनेन्द्रले आफ्नो राजनीतिक करिअरमा लडेको पहिलो संसदीय चुनाव जितेका पनि थिए। तर यो निर्वाचन क्षेत्रमा देउवाले उनै गिरिजाप्रसादकी छोरी सुजातालाई टिकट दिलाएका छन्, जसले मीनेन्द्रको राजनीतिक यात्रामा धक्का दिएको छ। जसलाई मीनेन्द्रले देउवाले साँधेको प्रतिशोधको परिणामका रुपमा अर्थ्याएका छन्।
मीनेन्द्रले देउवासँगको लामो संगत स्मरण गर्दै भनेका छन्- 'शेरबहादुरले ममाथि प्रतिशोध साँधे।' देउवासँगको लामो संगतमा यो खालको प्रतिशोध भावको कल्पना नगरेको उनको भनाइ छ। 'मैले शेरबहादुरजीसँग लामो संगत गरेँ। तर उहाँमा प्रतिशोधको यो भाव छ भनेर कल्पना समेत गरेको थिइनँ,' मीनेन्द्रले नेपाल समयसँग भने, 'उहाँमा यो प्रतिशोधको भाव यो हदसम्म रहेछ भनेर चिन्ने मौका पाएँ।'
सुजाताको हकमा भने आफ्नो गुनासो नरहेको उनको भनाइ छ। 'उहाँले अघिल्लो पटक मलाई छाड्नु भएको हो। अर्को क्षेत्रको नेतालाई टिकट दिएको भए अर्कै कुरा हुन्थ्यो। उहाँप्रति मेरो गुनासो छैन।' सुजाता यसअघि समानुपातिक सांसद थिइन्।
शशांक फ्याक्टरले चिसिएको सम्बन्ध
देउवा र मीनेन्द्रको सम्बन्ध कांग्रेसको १४औं महाधिवेशनपछि चिसिएको हो। मीनेन्द्र डा शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार थिए, जुन बेला उनी देउवा नेतृत्वको सरकारका रक्षामन्त्री समेत थिए। महामन्त्रीको उम्मेदवार बन्दै गर्दा मीनेन्द्रले भनेका थिए, 'म कुनै नकारात्मक टिप्पणी गर्न चाहन्नँ। सभापतिमा शेरबहादुर देउवाको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा म छु। तर महाधिवेशन सकिएको भोलिपल्ट एकीकृत कांग्रेस बनाउनु पनि छ। महाधिवेशनपछि पनि देउवा प्रधानमन्त्री र निवर्तमान सभापति रहनुहुन्छ।'
तर मीनेन्द्रले भनेजस्तो देउवा कांग्रेसको निवर्तमान सभापति बनेनन्। देउवाले शेखर कोइरालालाई पराजित गर्दै दोस्रो पटक कांग्रेसको बागडोर सम्हाले। अर्कोतर्फ मीनेन्द्रले महामन्त्रीमा पराजय भोगे। महामन्त्रीको अन्तिम मतपरिणाम आइनसक्दै मीनेन्द्रले रक्षामन्त्रीबाट राजीनामा बुझाए। उनले २०७८ पुस १ गते रक्षामन्त्रीबाट राजीनामा दिएका थिए।
मीनेन्द्रले निकटहरुलाई सुनाएअनुसार राजीनामा बुझाउँदै गर्दा कारणबारे देउवाले सोधेका थिएनन्। न त सहानुभूति नै देखाएका थिए। बरु एमसीसी अनुमोदन गर्न सहयोगको याचना गरेका थिए। 'उहाँले न कारण सोध्नु भयो न सहानुभूति नै देखाउनुभयो। बरु एमसीसी पास गर्नु छ, एमसीसीमै लाग है मीनेन्द्र एमसीसीमा लाग भन्नुभयो,' रक्षामन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट आफू निकट केही नेताहरुलाई मीनेन्द्रले भनेका थिए। त्यसो त राजनीतिक समस्या निम्तिएका बेला देउवाले मीनेन्द्रको साथ खोज्ने गरेका पनि थिए। एमसीसी अनुमोदन गराउन मीनेन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ घटक दलका नेताहरुसँग संवाद समेत गरेका थिए।
तर मीनेन्द्रलाई पेल्ने देउवा नीतिमा कुनै परिवर्तन भने भएन। देउवाले पार्टी पदाधिकारीमा पराजित भएका नेताहरुलाई धमाधम केन्द्रीय सदस्यमा मनोनित गरे। आफ्नै प्रतिस्पर्धी प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, उपसभापतिमा पराजित सुजाता कोइराला, विजयकुमार गच्छदार महामन्त्रीमा पराजित डा प्रकाशशरण महत, प्रदीप पौडेल लगायतका नेताहरुलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरे। तर रिजाललाई अहिलेसम्म पनि देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छैनन्।देउवा मीनेन्द्रसँग किन यो हदसम्म रिसाए? यसको सटिक जवाफ उनैसँग छ। तर देउवा निकट नेताहरु भने मीनेन्द्रसँग देउवा रिसाउनुको प्रमुख कारण डा शशांक कोइराला फ्याक्टर भएको बताउँछन्। १४ औं महाधिवेशनमा देउवाले शशांकलाई आफ्नो समूहबाट उपसभापति लडाउन चाहन्थे। तत्कालिन संस्थापन इतर समूहलाई तितरवितर बनाउन देउवाले शशांक कार्ड खेलेका थिए। शशांकले आफ्नै दाजु शेखरलाई समेत सहयोग गरेका थिएनन्।
शेखर, सुजाता र शशांकलाई मिल्न नदिने देउवा रणनीति सफल पनि भयो। शेखर सभापति लडे, सुजाता प्रकाशमानको समूहबाट उपसभापति लडिन्। शशांक तटस्ठ बसे पनि देउवालाई नै सहयोग गरे। संस्थापन इतर समूहको फुटको फाइदा देउवाले उठाए। वरिष्ठ नेता रामचन्द्र पौडेलको सहयोग पनि देउवालाई नै रह्यो र दोस्रो चरणको निर्वाचनसम्म पुग्दा प्रकाशमानको पनि सहयोग लिन देउवा सफल भए। तर देउवालाई खट्किएको विषय शशांकको उम्मेदवारी थियो। शशांकलाई उपसभापति लडाउने आफ्नो योजनामा मीनेन्द्र बाधक बनेको बुझाइ देउवामा छ। जसका कारण देउवाले मीनेन्द्रलाई किनाराकृत गर्दै आएका छन्। 'दीपक खड्काहरु शशांकलाई हाम्रो समूहबाट उपसभापति लडाउन चाहनुहुन्थ्यो। तर मीनेन्द्र दाइ बाधक बनेको बुझाइ सभापतिज्यूमा परेको देखिन्छ। त्यसकै साइड इफेक्ट हो केन्द्रीय सदस्य र प्रतिनिधिसभाको टिकट,' देउवा निकट एक नेता भन्छन्।
यसरी जोडिएको थियो सम्बन्ध
२०५२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा देउवा यूएनको साधारणसभामा भाग लिन अमेरिका गएका थिए। त्यो बेला रिजाल अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट पीएचडी गरेर त्यहीँ अध्यापन गराउँदै थिए। त्यसबेला देउवाले मीनेन्द्रलाई नेपाल फर्कन आग्रह गरेका थिए। 'तिम्रो खाँचो नेपाललाई छ, तिमी फर्कन पर्यो,' देउवाले मीनेन्द्रलाई भनेका थिए। देउवाकै आग्रहमा मीनेन्द्र नेपाल फर्किएका थिए। २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा देउवाले मीनेन्द्रलाई राजनीतिक सल्लाहकार बनाएका थिए। २०५९ सालमा देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे। मीनेन्द्रलाई देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य बनाएका थिए।
त्यसयता मीनेन्द्र निरन्तर देउवासँगै थिए। तर कांग्रेसको १२औं महाधिवेशनपछि मीनेन्द्रले तत्कालीन सभापति सुशील कोइरालालाई सघाउन थालेका थिए। देउवासँगै रहेका प्रकाशमान सिंह महामन्त्रीको उम्मेदवार बने र कांग्रेसको पहिलो निर्वाचित महामन्त्री बनेका थिए। तर मीनेन्द्र भने १२औं महाधिवेशनपछि देउवाको समूह छाडेर कोइरालाको समूहमा आइपुगेका थिए। त्यसयता उनी निरन्तर देउवाको प्रतिस्पर्धी समूहमा क्रियाशील छन्।