भरतपुर- आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ।
हाल भरतपुर अस्पतालका अध्यक्ष रहेका डा. अधिकारीलाई आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएको हो। २०७४ को चुनावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा आफूलाई टिकट दिने निर्णय पार्टीले गरेको डा. अधिकारीले बताए।
यसै क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा गरिए पनि अन्तिम समयमा अध्यक्ष दाहाल गोरखा–२ सरेका छन्। सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ।
पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि त्यहीँ विशेषज्ञ चिकित्सकका रुपमा कार्यरत थिए।