काठमाडौं- सरकारले केही महिनाभित्र वैदेशिक लगानी (एफडीआई) भित्र्याउन एकद्वार प्रणाली लागू गर्ने भएको छ। उद्योग दर्ता गर्न फाइल लिएर हिड्ने परम्परागत प्रणालीलाई समेत हटाउने बताइएको छ।
राजधानीमा बिहीबार भएको बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्ट सम्बन्धी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री मातृकाप्रसाद यादवले केही वैदेशिक लगानी भित्र्याउने तथा उद्योग दर्तादेखि सम्पूर्ण काम एकद्वार प्रणालीमार्फत गरिने भन्दै केही महिनाभित्रै शुरु गर्ने बताए।
त्यस्तै उनले अब विगतको जस्तो उद्योग दर्तालगायतको लागि फाइल बोकेर हिड्ने चलन पनि हल हुने भन्दै त्यसलाई अनलाइन प्रणालीमा लगिएको कार्यक्रममा जानकारी गराए।
उनले विदेशी लगानी भित्र्याउन जोड दिदै नयाँ समिति गठन गरको समेत बताए। ‘उक्त समितिले कहाँ-कसरी लगानी भित्र्याउने भन्ने सम्बन्धमा अध्ययन गरिरहेको छ,’ उनले भने ‘जसरी लगानी भित्र्याउन जोड दिइरहेका छौं। त्यसमा उद्योगी व्यवसयीहरुले साथ दिनु पर्छ।’
कतिपय व्यवसायीहरुले नेपालमा लगानी भित्र्याएर उद्योग सञ्चालन गर्नुभन्दा व्यपारलाई जोड दिंदै आयात बढाइरहेको र लगानी गर्ने विदेशी लगानीकर्तालाई समेत मुलुकमा लगानी गर्न आकर्षण गर्नको सट्टा भड्काइरहेको आरोप लगाए। ‘त्यस्ता व्यवसायीहरुले मुलुकमा वास्तविक मूल्यभन्दा दोब्बरमा वस्तु तथा सामग्रीहरु बिक्री गरिरहेको छ र नेपाललाई डम्पीङ साइड बनाएका छन्।’
उनले त्यस्ता गतिविधि त्याग्न सम्बन्धित उद्योग व्यवसयीहरुलाई चेतावनी दिएका छन्। ‘हामी गल्ति गर्ने उद्योगी व्यवसायी कसैलाई छोड्दैनौं। कारबाहीको दायरामा ल्याउछौं,’ उनले भने ‘गल्ति नगर्नेले डराउनु पर्दैन।’
उनले कार्यक्रममा पछिल्लो समय कतिपय शेयरधनीहरुको शेयरनै गायब पारेको प्रशंग ल्याउँदै केही आरोपित कर्मचारी गायतका व्यक्तीहरुलाई पक्राउ गरिसकेको बताए। ‘तिनीहरुको सनाखत गर्ने तयारी भइरहेको छ’ उनले भने।
उनकाअनुसार उद्योगधन्दाको लागि जग्गा सम्बन्धमा समेत छलफल भइरहेका छ। उनले सेवामुलक उद्योगहरुले नाफा गरिरहेको भन्दै नाफाको केही प्रतिशत औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४