काठमाडौं- सभामुख कृष्णबहादुर महरा शुक्रबार एक साताको चीन भ्रमणमा जाँदैछन्।
संवैधानिक प्रावधानअनुसार ३ असोजसम्ममा मौलिक हकसम्बन्धी विधेयकहरू पारित गरिसक्नुपर्छ। हालसम्म मौलिक हकसम्बन्धी एउटा मात्र विधेयक पारित भएको छ। सभामुख एक साताको विदेश भ्रमणमा निस्किँदा विधेयक पारित गर्ने प्रकृया अवरुद्ध हुनेछ।
चीनमा रहँदा सभामुख महरा ‘टुरिजम एन्ड कल्चर इभेन्ट एक्स्पो’मा सहभागी हुनेछन्। एक्स्पोमा नेपालका ६० वटा स्टलहरू रहनेछन्, जसमा नेपाल चेम्बर अफ कमर्सको पनि सहकार्य छ।
चीन भ्रमण क्रममा सभामुख महराले तिब्बतको ल्हासास्थित महावाणिज्य दूत कार्यालयको भवन शिलान्यास गर्नेछन्। ल्हासामा रहँदा केरुङ र तातोपानी जोड्ने सडकको पनि शिलान्यास गर्ने तय भएको छ। त्यसबाहेक, ‘ट्रान्स हिमालयन बेल्ट एन्ड रोड’ सम्बन्धी छलफल कार्यक्रममा पनि महरा सहभागी हुनेछन् ।
१० जनाको टोलीमा नेकपाबाट शान्तिमाया तामाङ, कांग्रेसबाट रंगमति शाही, संघीय समाजवादी फोरमबाट उमाशंकर अडगरिया र राजपाबाट इकवाल मोहम्मद सहभागी हुनेछन्। सभामुख महरा २६ भदौमा स्वदेश फर्किनेछन्।
सिंहदरबारस्थित कार्यकक्षमा बिहीबार सभामुख महराले आयोजना गरेको पत्रकार भेटघाटमा आफू चीन भ्रमणमा रहँदा पनि विधेयकहरू नरोकिने दाबी गरे । सबै विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइने उनले बताए। समितिहरूबाट पारित भएर सदनमा आएका विधेयकहरू पारित गर्न समय नलाग्ने उनको भनाइ थियो। २८ भदौभित्र सबै विधेयक समितिबाट सदनमा आए भने असोज २-३ गतेभित्र पारित भइसक्ने उनले बताए।
हालसम्म मौलिक हकसम्बन्धी ११ वटा विधेयकहरू प्रतिनिधिसभामा सामान्य र दफावार छलफलमा छन्। वातावरण संरक्षण विधेयक मात्र प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ । अरू तीन वटा मौलिक हकसम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४