काठमाडौं- नेकपाका सांसद गजेन्द्रबहादुर महतले नेपाल प्रहरीको भूमिका शंकास्पद र जनतालाई दुख दिने किसिमको भएको गुनासो गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतले प्रहरीका आधा दर्जन बढी कमजोरीको विवरण नै प्रस्तुत गरे। भारतीय बजार रुपैडिहामा लागूऔषधको केन्द्र रहेको र त्यहाँबाट सुर्खेत हुँदै जुम्लासम्म ढुवानी हुँदा बाटोमा १६ वटा प्रहरी चेकपोष्टले नरोकेको दाबी गरे।
‘जुम्लाबाट स्याउ र जडिबुटी लिएर नेपालगञ्ज आउँदा कृषकले प्रत्येक प्रहरी चौकीलाई पाँच सयदेखि एक हजार तिर्ने गरेका छन्’, महतले भने ‘त्यति पैशा प्रहरीलाई नबुझाए स्याउ र जडिबुटीको कार्टुन र बोरा खोलेर सबै चेक गर्छु भन्दै दुख दिन्छन।’
महतले बिस्तारैभन्दा नसुन्ने र सारोभन्दा दुख मान्ने सरकारको बानी भएको टिप्पणी गरे। ‘जुम्लाको सिंजामा २०४४-०४५ तिर सुन भेटिन्थ्यो, त्यसको छानबिन गर्न केन्द्रबाट प्रहरी आयो’ महतले भने ‘तर सबै सुनको सिक्री र हार गायब भए। मान्छे पक्राउ परे तर प्रतिवेदन आएन।’
महतले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको आगलागीको घटनामा सिआईवी (प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो) ले अध्ययन गरेको तर प्रतिवेदन दिन नसकेको, जुम्लाकै मालाबिडमा लक्ष्मी चौलागाईं भन्ने व्यक्तिलाई आगोलागीमा मारेको र गोडेसिंहको एक महिला मारिएको सबै घटना प्रहरीले गुपचुप बनाएको आरोप लगाए।
‘चन्दननाथको मन्दिरबाट हराएका मुर्तीमध्ये पित्तलको मुर्ती भेटियो तर सुन र चाँदीका मुर्ती किन भेटिएनन?’, महतले प्रश्न गरे ‘राधाकृष्ण बुढथापाको हत्या भएको छ। सीआईबी त्यहाँ पुगेर अनुसन्धान गर्छ तर दोषी किन पत्ता लाग्दैन?’
बाँदर आतंक नियन्त्रण होस्
नेकपाका सांसद नवराज सिलवालले मुलुकभर बाँदर आतंकका कारण सर्वसाधरण नागरिक पीडित भएको भन्दै ललितपुरको दक्षिण क्षेत्रमा राति-राति पशुपति र स्वयंभूबाट बाँदर छोडेर राखिदिएको आरोप लगाए।
उनले बाँदरको समस्या स्याङजा, दोलखाको लामाबगर, रामेछापको पाखरबास, नुवाकोटको ओखरपौवा, ओसो तपोबन, बिदुर नगरपालि काठमाडौंको ओम अस्पताल र बुढालिनकण्ठ स्कुलले समेत बाँदर आतंकबाट सर्वसाधरण जनता, विद्यार्थी र बिरामी समेत पीडित भएको बताए।
उनले बाँदर आतंक नियन्त्रण गर्न बन बिभाग र स्थानीय तहले ठोस कदम चाल्नु पर्ने बताए। बाँदर आतंकबाट हेटौंडाको भुटनदेवी मन्दिर क्षेत्रमा एक सय २० घर परिवार बिस्थापित भएको जनाए।
पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको माग
नेकपामा सांसद यज्ञ सुनुवारले पप्पु कन्स्ट्रक्सनले निर्माण गरेका धेरै पूर्वाधार कमजोर भएको घटना बाहिर सार्वजनिक भएको र पप्पुका संचालक पनि सांसद भएकोले संसद र सांसदको गरिमामाथि नै प्रश्न उठ्ने गरेको बताए।
‘मध्यपहाडी लोकमार्गको सिन्धुलीस्थित थाङसाङ र सोल्पा सडकखण्डको सोखु खोलामा पुल निर्माण शुरु भएपनि निर्धारित समयमा भएको छैन’, सुनुवारले शिेषस समयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा भने ‘प्रत्येक ६÷६ महिनामा बालुवा र रड मात्र थपेर झारा टार्न खोजिएको छ।’
सुनुवारले ठूलालाई चैन र सानालाई ऐन भनेर वाहिर टिप्पणी भइरहँदा पप्पुका मालिक यहि संसदमा रहेकोले संसदको ध्यानाकर्षण गराए। तर पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियारले भने बीरगंज भन्सार कार्यालय ड्राईपोर्ट समेत रहेको तर सिर्सिया पुलमा सडक मर्मत नहुँदा सामान ढुवानी गर्न समस्या भएको गुनासो गरे।
उनले गौर र भैरहवाको भन्सार प्रयोग गरी राजनीतिक संरक्षणमा रहेका केही नेताले सूर्ती, वर्तन र कपडाको तस्करी गरिरहेको आरोप लगाए। उनले कम भन्सार मुल्याङ्कन गर्ने कर्मचारीलाई कारबाही नगर्ने तर सामान बोक्ने ट्रकलाई पक्राउ गरेर समस्या समाधान नहुने बताए।
उनले प्रधानमन्त्री कृषी आधुनिकीकरणको कार्यक्रम लागू भएको चार गाविसमा भ्रष्टाचार भएको दाबी गरे। कांग्रेस सांसद दिलेनद्रप्रसाद बढुले पोखरा विश्वविद्यालयको योजनावद्ध षडयन्त्रबाट इन्जिनियरिङ शाखामा अनधिकृत प्रवेश गरी ५ भदौमा साँझ ६ देखि ८ बजेसम्म ल्याव अधिकृत अमृत थापाले परिक्षासँग सम्पन्धी चार कम्प्युटर ह्याक गरी फरार भएको बताए। उनले दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्न सरकारसँग माग गरे।
प्रधानमन्त्रीको राजिनामा र प्रतिरक्षा
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेसकुमार सिंहले बर्तमान सरकार लोकतान्त्रिक नभएको दाबी गर्दै सरकारले संविधान उलंघन गरेकोले प्रधानमत्रीको राजिनामा दिनुपर्ने माग गरे।
सत्तारुढ सांसद महेश बस्नेत र अमनलाल मोदीले गृहमन्त्री र प्रधानमन्त्रीलाई बढी लक्षित गरेर आरोप लगाइएर प्रमुख प्रतिपक्षी दलले सदनको गरिमामाथि प्रश्न उठाएको दाबी गरे। उनीहरुले संविधानको कार्यान्वयनको लागि सरकार अघि बढीरहँदा पनि सरकारलाई प्रतिपक्षले बिरोध गर्नु उचित नभएको बताए।
उनीहरुले राम्रो काम गरिरहेको वर्तमान सरकारको बिरोध गरियो भने भोलीका दिनमा कुनै पनि सरकार नटिक्ने ठोकुवा गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४