काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगारपालिका,धादिङबीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफनो पशुपंक्षी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरपालिकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीको दुर्घटना बीमा गराई नेपालमा एक नमूना नगरपालिकाको रुपमा आफूलाई स्थापित गरेको छ।
सोही अवसरमा नगरपालिकाका मेयर भिम प्रसाद ढूंगानाले आफूले आफना नगरावासी कृषकहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले अफनो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपंक्षी पालनलगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरेका छन्।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नगरपालिकाले आफना नगरबासीलगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४