काठमाडौं- सोमबारदेखि राजधानीमा शुरु भएको २४ राष्ट्रका सैनिक उच्च अधिकारीबीचको एसिया पेसिफिक इन्टिलिजेन्स चिफ कन्फरेन्स एपिआइसीसी सम्मेलन बुधबार सम्पन्न भएको छ।
नेपाली सेना र यूएस इन्डो पेसिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टिलिजन्सको संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रहरुका उच्च सैनिक रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरुको सहभागीतामा मिति २०७५ भाद्र १८ गतेबाट शुभारम्भ भएको ११ औँ एपिआइसीसी को आज बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायतमा एक समारोहका बीच समापन गरेका हुन्।
नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा अस्ट्रेलिया, अमेरिका, बंगलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानडा, फिजी, फ्रान्स, ईन्डोनेशिया, जापान, कोरिया, मलेशिया, मंगोलिया, नेपाल, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, टिमोर(लेस्ते, टोंगा, भियतनाम र नेपाल गरी जम्मा २४ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो।
कन्फरेन्समा सहभागी मित्रराष्ट्रहरुका रथीबृन्द तथा अधिकृतहरुलाई नेपालको पर्यटकीय स्थल स्याङबोचे, पाटन दरवार स्क्वायर र स्वयम्भूनाथको अवलोकन भ्रमण गराईएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सन् २००७ मा मलेशियाबाट सुरुवात भएको यस एपिआइसीसी को बाह्रौ संस्करण आगामी वर्ष २०१९ मा फिलिपिन्समा हुने तय भएको छ ।
यस बहु(राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक इन्टिलेजेन्स क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्ने विश्वास लिइएको छ।
मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको जनाइएको छ। समापन समारोहमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुकोसमेत उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४