काठमाडौं- राष्ट्र बैंकले यसपालिको दसैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको विवरण सार्वजनिक गरेको छ।
यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका ५ सय र हजार दरका नोट साटिएको हो।
राष्ट्र बैंकले गत २९ भदौदेखि नयाँ नोट साट्न थालेको थियो। बैंक तथा वित्तीय संस्थाले भने २ असोजदेखि नयाँ नोट साट्न थालेका थिए। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २३ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो।
दसैं बिदा हुनुअघिसम्म ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए। यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका सय रुपैयाँभन्दा साना दरका (५, १०, २०, ५० र रु १००) र ३९ अर्ब रुपैयाँ बराबर ठूला दरका (५०० र १०००) नोट सटही भएको उनले जानकारी दिए।
राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयबाट नयाँ नोट सटही गरेको थियो। काठमाडौँको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको थियो।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गरेका थिए। काठमाडौँ उपत्यका बाहिरका कार्यालयबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गरेको विवरण राष्ट्र बैंकको छ। यसो गर्दा जिल्लाका ७ कार्यालयबाट दैनिक २८ सयदेखि ३ हजारले नयाँ नोट साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए।
राष्ट्र बैंकले दसैं बिदा सकिएर कार्यालय खुलेपछि फेरि नयाँ नोट साटिने बताएको छ। तिहारका लागि पनि नेपालीले नयाँ नोटको खोजी गर्ने भएकोले नयाँ नोट साटिने भएको हो।
‘सार्वजनिक बिदा सकिएर कार्यालय खुलेको दिनदेखि नै हामीले नयाँ नोट साट्ने व्यवस्था मिलाएका छौं। तिहारका लागि पनि नयाँ नोटको खोजी हुने भएकोले यसो गरिएको हो,’ कार्यकारी निर्देशक नेपालले भने।