बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको हो। 

National life

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालको सम्भावनाबारे प्रस्तुति दिएका थिए। 'नेपालसँग ९.२ अर्ब डलर बराबरको निर्यात क्षमता छ,' उनले भने।  यसलाई गत आर्थिक वर्षको निर्यातको तुलनामा यो ८ गुणा बढी हो। व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ। 

नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक कम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेकाले नेपालको सम्भावना रहेको बताए। 

एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा लगभग आधा कृषि उत्पादन, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए। सन् २०१९ कोभिडअघिसम्म आइपुग्दा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो। जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिलेको उनको भनाइ छ। 

उक्त समयमा नेपाल कपडा निर्यात पहिलो नम्बरमा थियो। तत्पश्चात कृषि र अन्य रसायनमा आधारित वस्तुहरु थिए। त्यसको २० वर्षपछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तुहरु विविधिकरण हुन नसकेको उनको भनाइ छ। 

Shivam cement

'न्यून परिणामको निर्यात, सिमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नेपालको मुख्य चुनौती देखिएका छन्,' उनले प्रस्तुतीमा भनेका थिए। 

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिए। हामीले हाम्रो अर्थतन्त्रको आधार मजबुत बनाउन सकेनौं भने जति बेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको औँल्याए। 

उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषणलाई हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए। 

योजना आयोगका सदस्य डा रामकुमार फुँयालले उत्पादनशील उद्योगहरुमै लाग्ने नीति अनुरुप पूर्वाधारहरु पनि तयार भैरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन भएको आफूले पाएको र योजना आयोगले पनि सरकारलाई सोही अनुसार सल्लाह दिएको स्पष्ट पारे। महासंघका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघई, महासंघको निर्यात समितिका सभापति मनिषलाल प्रधानलगायतले आफ्ना धारणा राखेका थिए।

प्रकाशित: Sep 30, 2022| 18:21 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्