शनिबार, जेठ ३०, २०८३

बैंकले ल्याए दसैंतिहारका अफरै-अफर, के छन् फाइदा?

हिन्दू नेपालीको चाड विजयादशमी, तिहार र छठ पर्वलाई लक्षित गरी बैंकहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्। ग्राहकलाई फाइदा हुने गरी विभिन्न अफर ल्याइएको बैंकहरुको दाबी छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- हिन्दू नेपालीको चाड विजयादशमी, तिहार र छठ पर्वलाई लक्षित गरी बैंकहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्। ग्राहकलाई फाइदा हुने गरी विभिन्न अफर ल्याइएको बैंकहरुको दाबी छ। 

National life

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको उपहार 
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि निजी क्षेत्रको बैंकजस्तै सशक्त र प्रतिस्पर्धी बनाएको छ। बैंकले दसैंको अवसर पारेर खल्तीसँग सहकार्य गरी नयाँ अफर ल्याएको छ। 

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिङ्क गरी भुक्तानी गर्ने प्रयोगकर्तालाई १०० रुपैयाँ बोनस दिने अफर छ। सो अफर असोज ३१ गतेसम्मको लागि मात्र लागू हुनेछ। यो अवधिमा एक भाग्यशाली पहिलो प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन्। खल्तीमा बैंक लिङ्क गर्न प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ। 

Shivam cement
कृषि विकास बैंकको डिजिटल क्रान्ति
सरकारी स्वामित्वको अर्को बैंक कृषि विकास बैंकले चाडवाडको उपलक्ष्यमा विभिन्न बचत खाता सञ्चालनमा ल्याएकोछ । सो बैंकले लखपति/करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत जस्ता विभिन्न प्रकारका बचत खाता खोल्नेलाई विशेष छुट सहितको सेवा दिने जनाएको छ। 

बैंकका अनुसार दसैंका अवसरमा बैंकमा गएर जुनसुकै प्रकारको खाता खोलेपनि भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सेवामा विशेष छुट प्रदान गरेको बैंकले जनाएको छ। बैंकले अनलाइनबाटै खाता खोल्न सक्ने सुविधा पनि ल्याएको छ। परम्परावादी बैकिङ प्रणाली अपनाउँदै आएको कृषिले दसैंको अवसरमा यस्तो अफर ल्याउनु आफैँमा क्रान्तिकारी कदम भएको बैंकका कर्मचारी नै बताउँछन्। 

नबिल बैंकको घर धमाका
नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरुको लागि ‘दशैं तिहार घरकर्जा धमाका’ ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले घर किन्न, घर निर्माण गर्न, तल्ला थप गर्न, रंगरोगन गर्न कर्जा दिनेछ। कुनैपनि ग्राहकले घर खरिद गर्दैछन् भने घरको मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन पाउने बैंकले जानकारी दिएको छ। तर घरको अन्य कामको लागि भने मूल्यांकनको ६० प्रतिशतसम्म मात्र कर्जा लिन पाउने व्यवस्था छ। बैंकले कर्जाको भुक्तानी अवधि ३५ वर्षको बनाएको छ। घर कर्जा योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा निशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ। बैंकले यो योजना सीमित अवधिका लागि मात्र हो।

बैंकले दराजसँगको सहकार्यमा ‘दराज दशैं धमाका’ महोत्सव योजना पनि सार्वजनिक गरेको छ। गत भदौ २९ गतेदेखि लागू भएको सो योजना दराजबाट किनमेल गर्दा नबिल कार्डबाहकलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ। दराज दसैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्सको लागि अनिवार्य सक्रिय गर्नुपर्नेछ।

क्यासब्याकमा ग्लोबल आइएमई आक्रामक
ग्लोबल आइएमई बैंकले दसैंलाई लक्षित गरी हालसम्मकै ठूलो क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकले एसटीसी डेबिट कार्ड प्रयोगकर्ताले दसैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको छ। बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको सहकार्यमा क्यासव्याकको व्यवस्था गरेको हो। योजना असोज महिनाभर संचालन हुने भएको छ। 

यो योजनामा कम्तीमा ३ वटा कारोबार गर्ने कार्डहोल्डरलाई ५०० तथा कम्तीमा ६ वटा कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ। क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० को हुनुपर्ने व्यवस्था पनि बैंकले गरेको छ। बैंकका अनुसार सो योजना अन्तर्गत दिनको एक कारोबारलाई मात्र गणना गरिने छ। 

बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’बाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्तालाई आईफोन १३ प्रदान गर्ने योजना पनि बैंकले ल्याएको छ। यो योजना पनि असोज महिनाभर लागु हुनेछ। यस योजनामा सहभागी हुनका लागि ५०० वा सो भन्दा बढीको कारोबार क्युआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्ने व्यवस्था गरिएको छ। 

एनआईसी एसियाको प्राथमिकतामा रेमिट्यान्स
यस बैंकले पनि चाडपर्व लक्षित गर्दै ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ। बैंकले विदेशमा काम गरेर नेपालमा रकम पठाउनेहरुलाई लक्षित गरी सो योजना सार्वजनिक गरेको हो।

बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स लिने ग्राहकलाई थप ३०० रुपैयाँ दक्षिणा स्वरुप प्रदान गर्नेछ। यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ। 

एनएमबीको छुट
बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङमा छुट र क्यासब्याक सुविधा प्रदान गरेको छ। ग्राहकहरुलाई विभिन्न सुविधा प्रदानको लागि बैंकले विभिन्न कम्पनीहरुसँग सहकार्य समेत गरेको छ। बैंकले असोज १० गतेदेखि लागु हुनेगरी दसैंभरीका लागि ‘बडा दशैंमा बडा डिजिटल’ अफर सुरु गरेको छ। अफरअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन्। 

त्यस्तै बैंकको डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा १०% वा ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। त्यस्तै क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० रुपैयाँ सम्मको क्यासब्याक पाउने छन्। बैंकको ग्राहकहरुले इ–एनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउने छन् भने इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

एनसीसीको सहकार्य फोन पेसँग
बैंकले फोन पेसँगको सहकार्यमा आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म वा १०० रुपैयाँसम्म क्यासब्याक अफर ल्याएको छ। सो योजनामा सहभागिताको लागि विभिन्न किसिमको भुक्तानीको लागि स्मार्ट मोबाइल एप मार्फत नै भुक्तानी गरेको हुनुपर्नेछ। 

दसैं र तिहार गरी २ पटक यो योजना सञ्चालन हुने बैंकले जनाएको छ। दसैं लक्षित यस योजना असोज ७ देखि शुरु भएर १४ गतेसम्म हुनेछ भने तिहारलाई लक्षित गरी कात्तिक २ देखि ६ गतेसम्म संचालन हुने बैंकले जनाएको छ।

ईएमआईमा सानिमा
बैंकले दसैं र तिहारलाई लक्षित गर्दै ५०० रुपैयाँसम्म क्यासब्याक अफर ल्याएको छ। बैंकको क्रेडिट कार्डको भुक्तानी मासिक किस्ताबन्दी (इएमआई) बाट गर्दा ५ सय रुपैयाँसम्म क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ। सो योजना असोज १ देखि सुरु भएर कात्तिक ३० गतेसम्म लागु हुनेछ। 

बैंकले दराजबाट सामान खरिद गर्दा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरेमा अधिकतम २० प्रतिशत देखि २५ सय रुपैयाँसम्मको छुट पाउने व्यवस्था गरिएको छ। यदि ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँ सम्मको छुट पाउने व्यवस्था गरिएको छ। 

ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने पनि बैंकले जनाएको छ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ २९ देखि असोज ११ गतेसम्म लागू हुनेछ।

सिद्धार्थको क्यासब्याक
सिद्धार्थ बैंकले दसैंका लागि भन्दै क्यास ब्याक अफर ल्याएको छ। ‘दसैंको बहार क्यास ब्याक उपहार’योजना ल्याएको छ। दसैंमा पहिलो अनलाइन पेमेन्ट गर्दा वा पीओएस मार्फत भुक्तानी गर्दा तथा डेबिट कार्यबाट कारोबार गर्दा २० प्रतिशतसम्म छुट दिने योजना ल्याएको छ। यो योजना असोज ८ गतेदेखि लागू भएको छ भने १४ गतेसम्म कायम रहने भएको छ।

सिभिलको सहकार्य फोन पेसँग 
सिभिलले ‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ, फोन पे गरौँ' योजना ल्याएको छ। सिभिल स्मार्ट मोबाइल बैंकिङबाट फोन पे क्यूआर गरी अतिरिक्त १० प्रतिशत वा २ सय सम्म छुट पाउने सकिने भएको छ। यो योजना असोज ९ गतेबाट सुरु भएको छ। कात्तिक १४ गतेसम्म कायम हुने बैंकले जनाएको छ। यस्तै फोन पेमा कारोबार गर्दा भाटभटेनीमा अललिमिटेड सपिङ उपहार योजना पनि ल्याएको छ। 

यो योजना असोज ८ गतेदेखि सुरु भएको छ भने कात्तिक १३ गतेसम्म कायम रहने छ। यसमा दैनिक १ हजार देखि २० हजारसम्म उपहार पाउन सकिने छ । यस्तो उपहार भने सातामा ७० जना ग्राहकले पाउनेछन्।

भाटभटेनीमा सपिङ गरे प्रभुको उपहार
प्रभु बैंकले पनि भाटभटेनीमा फोन पेमार्फत भुक्तानी गरेर किनमेल गर्नेलाई उपहार दिने योजना ल्याएको छ। बैंकले असोज ८ गतेदेखि सुरु गरेको यो योजना कात्तिक १३ गतेसम्म कायम रहने छ।

यसमा हरेक साता ७० जना ग्राहकलाई फोन पे क्यूआरबाट भुक्तानी गर्दा २० हजार ग्राहकलाई १ हजार बराबरको उपहार भौचर दिने जनाएको छ। यस्तै हरेक दिन ५७५ उपहार भौचर सार्वजनिक गर्ने र यो १ हजार बराबरको हुने बैंकको भनाइ छ।

प्रकाशित: Sep 30, 2022| 14:51 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्