काठमाडौं- नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) अवधिसम्बन्धी व्यवस्था संशोधन गरेको छ। हाल एसएलएफ सुविधा उपभोग गर्न सक्ने अवधि ७ दिन भएपनि त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले दसैं बिदापछिको कार्यालय खुल्ने दिनसम्मका लागि कायम हुने गरी व्यवस्था गरेको हो।
७ दिनभन्दा बढी बिदा परेको अवस्थामा बिदा पछि कार्यालय खुल्ने दिनसम्मका एसएलएफ अवधि कायम गर्नका लागि बाधा पुगेको नमानिने व्यवस्था थप गरिएको छ।
राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद-१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) लाई परिमार्जन गर्दै एसएलएफ अवधि लम्ब्याएको हो।
'स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी अवधि हाल ७ कार्यदिन रहेको छ। तर कथंक दाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात् कार्लाय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिनेछैन,' संशोधित व्यवस्थामा उल्लेख छ।
चालु आवको मौद्रिक नीतिमा ५ दिनसम्मका लागि मात्र एसएलएफ सुविधा प्रवाह हुने व्यवस्था गरिएको थियो। तर यही संशोधनमा बैंकले एसएलएफ सुविधा अविधलाई पनि दुई दिन थप गरी ७ दिनसम्मको बनाइएको छ।
नयाँ व्यवस्था लगत्तै कार्यान्वयनमा आइसकेकाले दसैंबिदाको समयमा पनि बैंकहरुलाई तरलता व्यवस्थापनमा सहज हुने विश्वास राष्ट्र बैंकको छ। यसअघि बैंकहरूले दसैंलाई लक्षित गर्दै एसएलएफ सुविधासम्बन्धी व्यवस्था संशोधन गर्न माग गर्दै आएका थिए। बैंकहरूको मागअनुसार राष्ट्र बैंकले एसएलएफ सुविधालाई परिमार्जन गरेको हो।