काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्डमा उल्लेख्य प्रगति गरेको बताएका छन्। सोही कारण नेपालको अकास सुरक्षित रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ४१औं त्रैवार्षिक महासभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरूप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए। आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेको उनको धारणा छ।
उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठले बताए। नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको भन्दै उनले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको सुनाए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको भन्दै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको जानकारी दिए।
यसअघि मन्त्री श्रेष्ठले आईकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजा र आईकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षामा उल्लेख्य सुधार गरेकाले ईयूले नेपाललाई उडान सुरक्षा सूचीमा राख्नु उचित नहुने बताएका थिए।