काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्। उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे। उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे। मिश्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा नभएको बताए।
उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुर्याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको बताए। उनले नेपालमा रेमिट्यान्स तथा विदेशी पर्यटनको आगमन बढेकाले अर्थतन्त्रमा थप सुधार आउने बताए। उनले आगामी मौद्रिक नीतिको समीक्षामा खुशी प्राप्त हुनसक्ने संकेत देखिएको बताए।
डेपुटी गभर्नर मिश्रले भने, ‘समय सधैं एकै किसिमको बस्दैन। कोरोनाको अढाई वर्षे काल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखा पर्न आएको छ। अमेरिकाको फेडरल रिजर्भ बैंक, भारतीय रिजर्भ बैंक, बैंक अफ इंग्ल्याण्ड र बैंक अफ अष्टे«लियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तराष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेण्ड हो, तलमाथि भइरहन्छ। हामी आत्तिनुपर्ने अवस्था रहँदैन।’
उनले कृषि र पर्यटनबाट क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताए। उनले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएकोमा जोड दिए।