काठमाडौं– नेपाल आयल निगमले दसैं चहलपलसँगै पेट्रोलियम पदार्थ खपत बढेको बताएको छ। १ असोजदेखि सुरु भएको खपत बढोत्तरी हालसम्म निरन्तर रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धन बिक्री केही दिनयता बढिरहेको उनको भनाइ छ। उनले भने, ‘१ असोजयता सार्वजनिक बिदाका दिनबाहेक हाल कम्तीमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ।’
डिजेल प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ। खाना पकाउने ग्यास पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले बताएको छ।
दसैं मान्न हवाईजहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ। यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई इन्धन बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको छ।
१ असोजदेखि ११ गतेसम्म २ करोड ८ लाख ३२ हजार लिटर, ३ करोड २८ लाख ६२ हजार लिटर डिजेल र ६३ लाख ९२ हजार लिटर हवाई इन्धन खपत भएको छ। यस्तै, १४ करोड ८२ लाख ७० हजार किलो खाना पकाउने ग्यास बिक्री भएको निगमको तथ्यांक छ।