काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले प्रशासन र कर्मचारीतन्त्रलाई नियन्त्रणमा राख्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।
नेपाल निजामति कर्मचारी युनियन (संघ) को स्थापना दिवसमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा देउवाले कम्युनिस्ट सरकारले आफूप्रति प्रतिबद्ध कर्मचारी र न्यायालय खोजेको बताएका हुन्। उनले कर्मचारीलाई उनीहरुकै व्यवसायिक भूमिकामा काम गर्न दिन सरकारसँग माग पनि गरे। उनले भने, 'सरकारले किन कर्मचारीलार्इ नियन्त्रण गरिरहेको छ। सरकारको नियतप्रति नै खोट छ।'
उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा आफ्नै साथिहरुमा बढी झगडा हुने गर्दा लोकतन्त्रवादी र योग्य कर्मचारीलाई अवसर दिन नसकेको स्वीकारे। देउवाले कांग्रेसले निकट भविष्यमा गठन गर्ने विभिन्न समिति र विभागमा निजामति सेवामा अनुभव भएका पूर्वकर्मचारीलाई राख्ने बिषयमा सरसल्लाह भइरहेको समेत खुलासा गरे।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको सरकारले न्यायलयमा हस्तक्षेप गरेको, संचार, उद्योग व्यवसाय र कर्मचारीतन्त्रमा थिचोमिचो गर्न थालेको आरोप लगाए।
‘अनावश्यक रुपमा थोपरिएको करले श्रमिक र किशान वर्ग जीवन यापन गर्न नसक्ने अवस्थामा पुगेको छ’, सिटौलाले भने ‘जनतामा निरासा छाउनु खतरनाक हो।’ उनले वर्तमान सत्ता अन्धो भएको, मात्तिएको र दम्भ देखाउँदै जनताका अधिकारलाई नियन्त्रण गर्दै अघि बढेको आरोप लगाए।
संविधानको मौलिक हकले दिएको ट्रेड युनियन अधिकार सरकारले संकुचन गर्न नमिल्ने भन्दै सिटौलाले जनतालाई निरासामा पर्न नदिन सरकारमाथि दबाब दिन कर्मचारीहरुलाई आग्रह गरे।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्त, शंकर भण्डारीलगायतले दुई तिहाई बहुमतप्राप्त सरकारले जनतामा अनावश्यक कर बृद्धि गरेको, कर्मचारीतन्त्र, न्यायलयमा हस्तक्षेप गरेको भन्दै हस्तक्षेपको सीमा नाघेमा लोकतन्त्रवादी कर्मचारी आन्दोलनमा उत्रने चेतावनी दिए।
उनीहरुले सरकारले हस्तक्षेप र पूर्वाग्रही व्यवहार नसच्याएमा कर्मचारी आन्दोलित भए सरकारले आफ्ना कुनै पनि योजनालाई पुरा गर्न नसक्ने ठोकुवा गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४