धनगढी- कुनै पनि सरकारी कार्यालय प्रमुखको कार्यकक्ष र जनप्रतिनिधिको कार्यकक्षको भित्तामा प्राय देशको राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तस्विर झुण्ड्याईएको हुन्छ। तर जनप्रतिनिधि निर्वाचित भएर आएपछि भने उनीहरुको कार्यकक्षमा विचित्रको तस्विरहरु देखिन थालेका छन्।
यस्तै मध्येको एक हो डडेलधुराको अजयमेरु गाउँपालिका। जहाँ अध्यक्षको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्विर झुण्ड्याईएको छैन नेपालका कम्यूनिष्ट नेतादेखि अन्तर्राष्ट्रिय स्तरका कम्यूनिस्ट नेताहरुको पनि तस्विर झुण्ड्याईएको छ। गाउँपालिका अध्यक्ष उमेश भट्टको कार्यकक्षको भित्तामा बाँयातिर राष्ट्रपति बिद्यादेवि भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको सँगै अन्तर्राष्ट्रिय कम्यूनिस्टका संस्थापक कार्ल माक्स, एङगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर क्रमैसँग झुण्ड्याईएको छ।
कार्यकक्षको दाँयातिर एमालेका संस्थापक नेता मनमोहन अधिकारी, पुष्पकमल दाहालको पनि तस्बिर झुण्ड्याईएको छ। त्यससँगै विपी कोइरालाको पनि एउटा तस्बिर झुण्ड्याईएको छ। एउटा विपी कोइराला बाहेक अन्य सबै तस्बिरहरु हेर्दा गाउँपालिका अध्यक्षको कार्यकक्ष कम्यूनिष्ट पार्टीको कार्यालय जस्तो देखिने गरेको स्थानीयबासीको गुनासो छ।
प्रदेश ७ को मुख्यमन्त्री कार्यालयका कानुन सचिव यज्ञ भट्टराईले जनप्रतिनिधि राज्यको प्रतिनिधि र उसको कार्यकक्ष सार्वजनिक कार्यालय भएकाले त्यसमा कुनै पार्टीका नेताको तस्विर झुण्ड्याउनु राम्रो नभएको बताए।
‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधान्मन्त्रीको तस्बिर र राष्ट्रिय झण्डा कार्यालयमा राख्ने प्रचलन छ’ भट्टराईले भने,‘जनप्रतिनिधिको कार्यकक्षमा राजनीतिक नेताको तस्विर राख्नु गलत प्रचलन हो।’ सार्वजनिक कार्यालयमा आफु आबद्ध पार्टीका नेताको तस्बिर झण्ड्याउनु नैतिक रुपमा गलत कार्य भएको उनले सुनाए। जोसुकैले गरेको भए पनि यसले गलत संस्कारको विकास हुने उनले बताए।
व्यक्ति चुनाव लड्दा जुनसुकै पार्टीको उम्मेदवार भएर लडेपनि निर्वाचित भएर आइसकेपछि उ राज्यको प्रतिनिधि र सार्वजनिक व्यक्ति हुने भएकाले उसले गर्ने काममा पनि उक्त कुरा झल्किनु पर्ने बताउद्दछन्, प्रदेश ७ को कानुन मन्त्रालयका सचिव शंकर अर्याल। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाहेक सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको तस्बिरसम्म राख्दा राम्रो हुने भन्दै अर्यालले अन्य नेताहरुको राख्नु त्यति नसुहाउने बताए।
अध्यक्ष भट्टले भने आफू कम्यूनिष्ट बिचारधारा बोकेर अध्यक्ष भएकाले कम्यूनिष्ट पार्टीका नेताहरुको तस्बिर झुण्ड्याईएर कुनै अपराध नगरेको बताए। कसैको निर्देशनमा नभएर आफूले स्वविवेकमा तस्बिरहरु राखेको उनले सुनाए।
‘मनमोहन अधिकारी नेपालको पहिलो बामपन्थी प्रधानमन्त्री र पुष्पकमल दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएकाले उहाँहरुको तस्विर झुण्ड्याएको हुँ’ अध्यक्ष भट्टले भने,‘पहिलो जननिर्वाचित प्रधानमन्त्री भएकाले विपीको तस्विर पनि राखिएको हो।’ भट्ट तत्कालिन नेकपा माओवादीबाट अध्यक्षमा निर्वाचित हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४