काठमाडौं- नेप्से बजार लगातार उकालो लागेको छ। यस हप्ताको शुरुदेखि नै बजार उकालो लागेको हो।
मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३.९८ अंक बढेर एक हजार २१०.२४ विन्दुमा पुगेको छ। सोमबार १५.९८ अंकले बढेर एक हजार २०६.२६ विन्दुमा पुगेको थियो ।
आइतबार ८.५९ अंक बढेर एक हजार १९०.२८ पुगेको थियो।
गएको केही दिन यता नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएपछि नेप्से बजार बढेको हो। मंगलबार ‘क’ वर्ग कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९९ अंकले बढेर २५५.८६ विन्दुमा पुगेको छ।
१७२ कम्पनीको पाँच हजार ८०७ कारोबारबाट १७ लाख ७५ हजार २२ शेयर खरिद बिक्रीबाट ५२ करोड ७५ लाख ३३ हजार ८४७ रुपैयाँको कारोबार भएको छ।
नेप्से बजारमा आएका १० विभिन्न समूहमध्ये ६ समूहको परिसूचक बढेको छ। जसमा सबैभन्दा बढी होटेल समूहको परिसूचक १६.०९ अंक बढेको छ। त्यसपछि विकास बैंक समूहको परिसूचक ६.३६, बैंकीङ समूहको परिसूचक ६.०४, ननलाईफ इन्स्योरेन्सको परिसूचक २.३, अन्य समूहको परिसूचक ०.९५ र फाइनान्स समूहको परिसूचक ०.१९ अंक बढेको छ।
यद्यपि हाइड्रो पावर समूह, उत्पादनमुलक समूह, माइक्रोफाइनान्स र लाईफ इन्स्योरेन्स समूहको परिसूचक भने घटेको छ । जसमा सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ९.८ अंक घटेको हो।
काबेली विकास बैंकका लगानीकर्ताले कमाए सबैभन्दा बढी
सबैभन्दा बढी काबेली विकास बैंकका लगानीकर्ताले ९.२६ प्रतिशत कमाएका छन्। त्यसपछि एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताले ७.९३, एनआइसी एशिया बैंकका लगानीकर्ताले ४.६४, लक्ष्मी बैंकका लगानीकर्ताले ४.३३ प्रतिशत कमाएका छन्।
सिभिल बैंक, नडीप लघुविक्त वित्तिय संस्था, लुम्बिनी विकास बैंक, नयाँ नेपाल लघुवित्त विकास बैंक लगायतका लगानीकर्ताले बढी नफा कमाएको हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४