काठमाडौं- बेलका नगरपालीका उदयपुरका उप-मेयर राजकुमारी चौधरी र सोहि नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दंगालको 'अनैतिक सम्बन्ध' को विषयमा समाचार र सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै दुर्इ जना पत्रकार पक्राउ परेका छन्।
भदौ १ देखि लागू भएको मुलुकी फौजदारी तथा देवानी (संहिता) ऐन, २०७४ का कारण पत्रकारमाथि धरपकड हुन सक्ने र त्यसले जनताको सुसूचित हुन पाउने अधिकार हनन् हुने भनेर व्यापक विरोध भइरहेका बेला नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार दुर्इ जना पत्रकारलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले कुँवरलाई पक्राउ पुर्जी देखाएर पक्राउ गरेको हो। पक्राउ पर्नेमा न्युज कारोबार डट कमका समाचार सम्पादक नवराज कुँवर र अनलाइन खबर डटकमका संवाददाता रोयल आचार्य रहेका छन्।
अहिले अपराध महासाखाको टोलीले उनिहरुलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
बेलका नगरपालिकामा केही समय अघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भइरहेको थियो। साथै नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासो चुलिएको थियो।
बेलका नगरपालिकामा उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर न्युज कारोबार डटकममा समाचार प्रकाशित भएको थियो। नगरपालिकामा उक्त प्रकरणमा ९ नम्बर वडाका वडाध्यक्ष मोहन घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। उक्त छानविन समितिले दुवै जनालार्इ दोषी करार गरिसकेको छ।
उनीहरुलार्इ दोषी करार गरिएको प्रतिवेदन सार्वजनिक भएपछि दुवैजनालार्इ जोगाउन हुलदंगा गरिएको थियो।
उनीहरु उपमेयर र वडाध्यक्ष दुवै जनालार्इ स्थानीयले सार्वजनिक स्थलमै आपत्तिजनक अवस्थामा भेटेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४