काठमाडौं– सेप्टेम्बर २७ मा पर्ने ४३औं विश्व पर्यटन दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ। कोभिड महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
‘रिथिंक्क टुरिज्म’ नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन्। पर्यटन दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा ४३औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ।
काठमाडौं, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको निर्देशक लामिछानेले बताए। दिवस अवसरमा मंगलबार बिहान राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रभातफेरी आयोजना गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा विभिन्न पर्यटन क्षेत्रका संस्था प्रभातफेरीमा सहभागी भए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरिएको थियो। नेपाल पर्यटन बोर्ड र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकोको सहकार्यमा कागेश्वरीधाम वडा–१ स्थित गागलफेदीमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। त्यहाँ पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको बोर्डले बताएको छ।
बोर्डको सभाहलमा औपचारिक कार्यक्रम गरिएको छ। कार्यक्रममा सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनीलाई सम्मान गरिने कार्यक्रम छ। ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ।दिवस अवसरमा नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रक्तादान, फुटसल र बुङमतिमा सम्पदा यात्रा कार्यक्रम गरिएको छ।
कोभिडपछिको पर्यटन पुनरुत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारितालाई फराकिलो बनाएर पर्यटन विकास गर्न दिवसले प्रोत्साहन गर्ने नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले बताए। उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र सांस्कृतिको आधारमा नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गरे।
टानका अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटन क्षेत्रको चाँडो पुनरुत्थान गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने भन्दै पर्यटन चलायमान भएको सन्देश दिन दिवस सान्दर्भिक हुने धारणा राखे। कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य संख्यामा पर्यटक आउन सकेनन्। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन्। कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
पछिल्लो सन् २०२२ को ८ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा रहेको छ। पर्यटकीय गतिविधि बढेका छन्। विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ।
सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ। हालैको मन्त्रिपरिषद् बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो।
तथापि कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागन भएको थियो। कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रूपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ।–रासस