बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्मार्ट लाइटले झिलिमिली बन्यो कोटेश्वर–सूर्यविनायक सडक

स्मार्ट लाइटले झिलिमिली बन्यो कोटेश्वर–सूर्यविनायक सडक

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुर सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुर सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।

National life

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो।  

आइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट वत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ। कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा वत्ती जडान गरिएको हो। यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ।

काठमाडौं महानगरपालिका, मध्यपुर थिमी र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक वत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए। ‘सडक वत्ती जडान भएपछि पैदल यात्रु र सवारी चालकलाई फाइदा पुगेको छ, उज्यालो भएपछि सडक सुरक्षित बनेको छ, साथै सडक सुन्दर बनेको छ। यसबाट सहरी सौन्दर्यता पनि बढेको छ।’

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ। सडक वत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ। स्मार्ट वत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा वत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। वत्ति बले-नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ।

Shivam cement

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ। यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ।

पालिकाहरुको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ।

प्रकाशित: Sep 27, 2022| 12:53 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्