तस्बिर सौजन्य: विवेक सु्वेदी
ढाका- बंगलादेशको ढाकामा जारी साफ सुजुकी कपको उद्घाटन खेलमा नेपाल पराजित भएको छ। आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको हो।
यससँगै नेपालले साफमा आफ्नो खराब सुरुवात गरेको छ। पहिलो हाफमा नेपाल १-० ले पछि परेको थियो। पाकिस्तानविरुद्ध खेलमा तुलानात्मक रुपमा हावी देखिएपनि आफ्नै गल्तिमा नेपाल पराजित हुन पुग्यो। ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो।
विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो। विराजले पहेलो कार्डको दर्शन गरेका थिए । नेपालका लागि खेलको ८२ औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। तर, इनजुरी समयमा पाकिस्तानका खेलाडी मोहमद अलीले थप एक गोल गर्दै खेल २-१ जित हात पारेको हो।
सन् २०१३ मा साफ च्याम्पियनसिपमा एकै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेल १-१ को बराबरीमा टुंगिएको थियो । त्यो खेलमा विमल घर्ती मगरले बराबरी गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलको त्यो पहिलो गोल थियो।
खेलमा नेपालले केहि सुनौला अवसरहरु गुमाउन पुगेको थियो। कर्नरमा आएको बलमा डेब्यू गरिरहेका सुमन अर्यालले हेड प्रहार गरे पनि पाकिस्तानका गोलकिपर युसफ इजाज बटले रोकेका थिए। बिहीबार आफ्नो दोस्रो खेल भुटानसँग खेल्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४