बुटवल- बुटवलमा सोमबारदेखि दसैँ सस्तो बजार सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल वालमन्दिरमा दसैँ सस्तो बजार सुरु भएको हो।
पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। नगरप्रमुख पाण्डेयले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्ने बताए।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लागि दसैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको बिक्रीवितरण गरिने जानकारी दिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपभोक्ताको हित प्रशासनको प्राथमिक चासोको विषय रहेको बताउँदै उपभोक्ताको समेत हितमा हुने गरी व्यवस्था मिलाउन आग्रह गरे।
असोजको १४ गतेसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डीडीसी), साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्ध उत्पादन, नुन, चामल, तेल, चामलको तेल चिया, कफी, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामान सहित, अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका सामग्रीमा सहुलियतको व्यवस्था छ।