काठमाडौं– चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ। विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्यांकअनुसार नेपालले कुल ३ खर्ब दुई अर्ब २८ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशत कम हो। गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड थियो।
विभागका अनुसार भदौसम्म आयात र निर्यात दुवै घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा आव २०७९/८० को सोही अवधिमा कुल आयात १३ प्रतिशत घटेर २ खर्ब ७३ अर्ब ५९ करोड पुगेको छ। सोही अवधिमा निर्यात करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा सीमित भएको छ।
आयात र निर्यात दुवै घट्दा व्यापार घाटा भने सामान्य घटेको विभागको तथ्यांकले देखाउँछ। अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ९.४५ प्रतिशतले घटेर २ खर्ब ४४ अर्ब ९१ करोड भएको छ।
नेपालले भदौसम्म धेरै आयात गरेका वस्तुमध्ये पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । साउन–भदौमा नेपालले १८ अर्ब ४२ करोडको डिजेल आयात गरेको छ भने १२ अर्ब १८ करोडको पेट्रोल र १० अर्ब ४२ करोड रुपैयाँको एलपी ग्यास आयात गरेको छ।
यसैगरी सोही अवधिमा ९ अर्ब ८ करोड रुर्पयाँको कच्चा भटमास तेल र ७ अर्ब २७ करोडको फलामजन्य उत्पादनको आयात भएको छ।निर्यात भएका प्रमुख वस्तुको सूचीमा पाम तेल, गलैंचा, भटमास तेल, फेल्ट र कालो चिया छन्।
यसै अवधिमा नेपालले भारतबाट १ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने १९ अर्ब ८३ करोडको वस्तु निर्यात गरेको छ। दोस्रो स्थानमा रहेको चीनबाट ३७ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात गर्दा १२ करोड ३९ लाखको मात्र निर्यात भएको छ।