काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले असोजका लागि आफूखुसी १० प्रतिशतसम्म ब्याजदर बढाएपछि त्यसलाई नियन्त्रण ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका छन्।
आइतबार अर्थ मन्त्रालयमा राष्ट्र बैंकका प्रतिनिधि, बैंकर्स संघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई बोलाएर मन्त्री शर्माले ब्याजदर वृद्धिबारे छलफल गरेका हुन्।
सोही छलफलमार्फत मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका हुन्। उक्त समितिलाई ब्याजदर वृद्धिसम्बन्धी अध्ययन गरी ५ दिनभित्रै अध्ययन प्रतिवेदन बुझाउन मन्त्री शर्माले निर्देशन दिएका छन्।
समितिमा राष्ट्र बैंकबाट १ जना, बैंकर्स संघबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना, तीन वटै व्यावसायिक संगठनबाट १÷१ जना गरी ७ जना रहनेछन्। सदस्य सचिवमा अर्थमन्त्रालयका उपसचिव रहेका छन्। समितिमार्फत प्राप्त अध्ययन प्रतिवेदनले औंल्याएको विषयमा थप छलफल गरी ब्याजदर संशोधनका लागि राष्ट्र बैंकमार्फत बैंकहरूलाई निर्देशन दिइने अर्थ मन्त्रालयले बताएको छ।
असोजका लागि बैंकहरूले यसअघिको भद्र सहमति तोड्दै आफूखुसी ब्याजदर वृद्धि गरेसँगै उद्योग व्यवसायी असन्तुष्ट बनेका छन्। ब्याजदर वृद्धिकै कारण लगानी वातावरण नबन्नुका साथै थप उत्पादनशिल क्षेत्रको लगानी समेत पलायन हुने अवस्था बनेको भन्दै व्यवसायीको चिन्ता व्यक्त गरिरहेका छन्।